दक्षिण एसियाली नेटबलको अध्यक्षमा मोहन बस्नेत

दक्षिण एसियाली नेटबलको अध्यक्षमा मोहन बस्नेत


दक्षिण एसियाली नेटबल फेडरेसनको अध्यक्षमा मोहनबहादुर बस्नेत चयन भएका छन् । कार्तिक ४ गते सोमबार काठमाडौंमा बसेको फेडरेसनको कंग्रेसले बस्नेतको अध्यक्षतामा नौ सदस्यीय कमिटी गठन गरेको हो । बस्नेत नेपाल नेटबल संघका अध्यक्ष हुन् ।

फेडरेसनको वरिष्ठ उपाध्यक्षमा भारतका हरिओम कौसिक, उपाध्यक्षमा माल्दिभ्सकी फजना जलिल, श्रीलंकाकी चम्पा वानामालिया गुणवद्र्धने, महासचिवमा पाकिस्तानका मुदासर रजक अराइन चयन भए । यसैगरी उपमहासचिवमा नेपालका दीपक लामा, कोषाध्यक्षमा पाकिस्तानकी साजिया युसुफ चयन भए । यस्तै सदस्यको जिम्मेवारी भारतका अमित अरोरा र बंगलादेशका कमरुल इस्लामले पाए ।

उक्त कंग्रेसबाट दक्षिण एसियाली नेटबल फेडरेसनको विधान र कार्यक्रम पनि पास गरेको छ । जसमा अर्को वर्ष नेपालमा दक्षिण एसियालीस्तरीय कोचिङ तथा अम्पायरिङ कोर्स सञ्चालन गर्ने निर्णय पनि गरेको छ । यस्तै सन् २०२१ मा दक्षिण एसियाली नेटबल च्याम्पियनसिप भारतले आयोजना गर्ने निर्णय गरेको छ ।