खुट्टा भाँच्चिएकी खेलाडी ‘साग’मा, न्याय खोज्दै साधना राखेपमा

खुट्टा भाँच्चिएकी खेलाडी ‘साग’मा, न्याय खोज्दै साधना राखेपमा


ह्यान्डबलकी राष्ट्रिय खेलाडी साधना वमले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत भएको अन्तिम छनोटमा ‘राजनीति’ भएको भन्दै राष्ट्रिय खेलकुद परिषदमा निवेदन दर्ता गरेकी छिन् । साधनाले अन्तिम छनोटमा राजनीति घुसेको, शक्तिको आधारमा आफुभन्दा कमजोर, खुट्टा भाँचिएका खेलाडी देवकुमारीलाई छनोटकर्ताले चयन गरेको भन्दै त्यसविरुद्ध राखेपमा निवेदन दर्ता गरेकी हुन् । साधनाले गत आइतबार (३ कात्तिक) राखेपमा निवेदन दर्ता गराएकी हुन् ।

खुट्टा भाँच्चिएर विगत लामो समयदेखि बन्द प्रशिक्षण र अन्तिम छनोटमा नआएकी खेलाडी देवकुमारी छनोटकर्ताले छनोट गर्दै साधना वैकल्पिक खेलाडीको रुपमा छनोटकर्ताले चयन गरेपछि साधनाले आफुमाथि अन्याय भएको भन्दै आवश्यक छानविनका लागि राखेपमा निवेदन दर्ता गरेकी हुन् । यदि राखेपले निष्पक्ष रुपमा छानविन नगरे न्यायको लागि अदालतसमेत जाने साधनाले बताइन् ।

खेल्न असमर्थ र छनोट चरणमा समेत नआएकी खेलाडीलाई चयनकर्ताले छनोट गर्दै आफुलाई वैकल्पिक खेलाडीको बिल्ला भेराएपछि एकदमै चित्त दुःखेर सम्बन्धित निकाय (राखेप)मा निवेदन दिन आएको साधनाको भनाई छ ।

‘मभन्दा राम्रो खेलाडीको छनोट भएको भए म यहाँ आउने थिइनँ, यहाँ त खुट्टा भाँच्चिएर खेल्न असमर्थ र अन्तिम छनोटमा समेत उपस्थित नभएकी खेलाडीलाई कसरी छनोट गरियो, त्यसको छानविन गराउन आएकी हुँ’, उनको जिकीर छ ।

साथै अन्तिम छनोट गर्दा छनोटकर्ताले एकजना विदेशी प्रशिक्षक मात्र राखेको बताइन् । छनोटकर्ताले नेपाली प्रशिक्षक कृष्ण शाक्य र विन्दा थापालाई खेलाडी छनोट गर्दा सामेल नगरेको खुलासा समेत उनले गरिन् ।

‘साह्रै चित्त दुःख्यो सर, निकै नरमाइलो लाग्यो र अपमानित भएको महसुस भएर न्याय पाउनको लागि राखेपमा निवेदन दिएँ’– साधनाले घटना र विचारसँग दुःखेसो पोखिन् । उनी गत साउन २१ देखि असोज ३० गतेसम्म ह्यान्डबलको बन्द प्रशिक्षणमा रहेकी थिइन् । शुभारम्भमा २५ खेलाडीबाट शुरु भएको ह्यान्डबलको बन्द प्रशिक्षण त्यसपछि २१ र अन्तिम १६ खेलाडी छनोंट गरि टुङ्गीएको थियो । साधना अन्तिम २१ परे पनि अन्तिम १६ मा भने अटाउन सकिनन् । उनी ९ मिटर सुटरतर्फ उत्कृष्ट खेलाडी हुन् । भारतको गुवाहटी र सिलोनमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा साधना राष्ट्रिय ह्यान्डबल टोलीको सदस्य थिइन् ।

ह्यान्डबलको अन्तिम छनोटमा भएको धाँधली सम्बन्धमा नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङसँग सम्पर्क गर्दा उनले यो सबै प्राविधिक कुरा हो, संघले यसमा हस्तक्षेप गर्दैन भन्ने जवाफ दिए । साथैै अध्यक्ष गुरुङले अन्तिम छनोटमा कुनै किसिमको धाँधली नभएको प्रस्ट पार्दै ‘पोजिसन’का कारण साधना टिममा पर्न नसकेको खुलासा गरे । साधनाको पोजिसनमा साधनाभन्दा अन्य राम्रा खेलाडी भएका कारण उनी छनोटमा पर्न नसकेको गुरुङले बताए ।

तर, अध्यक्ष गुरुङको प्रतिक्रियाको प्रतिवाद गर्दै साधनाले भनिन्– ‘अध्यक्षज्यूले जुन पोजिसनको कुरा गर्नु भो त्यो अहिले भएको छनोट प्रक्रिया मिलेको छैन । साथै कुनैमा एक, कुनैमा दुई र कुनैमा तीन खेलाडी कसरी हुन्छ ? त्यसको जवाफ अध्यक्ष गुरुङले दिनुपर्छ ।’

‘यो सब आफ्ना खेलाडीलाई टिममा पार्न मिलेमतोमा गरिउको घृणित खेल हो, जसको पर्दाफास राखेपले गर्नुपर्छ । राम्रो खेलाडीले खेल्ने अवसर पाउनुपर्छ भने असक्षम खेलाडी टिमबाहिर पर्नुपर्छ, मेरो आवाज यही हो’, साधनाको प्रष्टोक्ति छ ।