दश अर्ब लगानी भित्र्याउन एनआरएनएको समिति

दश अर्ब लगानी भित्र्याउन एनआरएनएको समिति


गैरआवासीय नेपाली संघ (एनआरएनए)ले श्रमिक कल्याणकारी कोषका लागि रु. एक करोड छ लाख सहयोग गर्ने भएको छ ।

एनआरएनको नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषदको पहिलो बैठकले वैदेशिक रोजगारीमा पीडितलाई सहयोग गर्ने हेतुले कोषका लागि प्रतिबद्धता जनाएको संस्थाले एक विज्ञप्तिमार्फत जनाएको हो ।

एनआरएनका नवनिर्वाचित अध्यक्ष कुमार पन्तको प्रस्तावमा नवनिर्वाचित पदाधिकारी एवं सदस्यले उक्त सहयोग रकम दिने घोषणा गरेका र निश्चित मापदण्डका आधारमा कोषको रकम खर्च गरिने जनाइएको छ ।

बैठकले यसअघि थालिएका कार्यक्रम र शुरु गरिएका पहललाई निरन्तरता दिँदै सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० अभियानमा सहकार्य गर्न निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति गठन गरेको छ । त्यस्तै पूर्वाधार विकासका लागि रु. १० अर्बको लगानी भित्र्याउने अभियान अगाडि बढाउन अध्यक्ष पन्तको संयोजकत्वमा एक समिति बनाई एक महिनाभित्र कार्य योजना प्रस्तुत गर्न बैठकले निर्णय गरेको छ ।

एनआरएनए निर्वाचन विद्युतीय पद्धतिबाट प्रत्यक्ष मतदानमार्फत गर्न र निःशुल्क सदस्यताबारे अध्ययन गर्न उपाध्यक्ष मन केसीको संयोजकत्वमा समिति गठन गरिएको छ । एनआरएनएको काठमाडौंस्थित सचिवालयलाई चुस्त बनाउन महासचिव डा. हेमराज शर्माको नेतृत्वमा एक समिति बनाइएको तथा संस्थाको आर्थिक प्रतिवेदन तयार गर्न कोषध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले पाँच उपाध्यक्षको नेतृत्वमा पाँच विभाग (वैदेशिक रोजगार, परोपकारी तथा मानवकल्याण, व्यापार तथा लगानी, पिस, ज्ञान र नवप्रवर्तन, नेपाल प्रवद्र्धन) निर्माण गर्ने र विभागमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य र सम्बन्धित क्षेत्रका विज्ञ रहने व्यवस्था गरेको छ । एनआरएन विज्ञ सम्मेलनलाई निरन्तरता दिँदै दोस्रो विज्ञ सम्मेलन सन् २०२० गर्ने तथा संस्थाको आगामी क्षेत्रीय सम्मेलन मध्यपूर्वमा आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकले एनआरएनको संरक्षणक परिषद्को सदस्यसमेत चयन गर्दै परिषद् प्रमुख संरक्षणमा डा. शेष घले र अन्य संरक्षकमा पूर्वअध्यक्षद्वय देवमान हिराचन र जीवा लामिछाने, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्वसंरक्षक रामप्रताप थापा रहने जनाएको छ । संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई संघको उच्च वरीयतामा राख्ने निर्णय गरेको छ । बैठकले ११ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।

rss