भारत यात्रा गर्दा एनटीसीको ‘डाटा रोमिङ प्याक’

भारत यात्रा गर्दा एनटीसीको ‘डाटा रोमिङ प्याक’


नेपाल टेलिकमले ०७६ कात्तिक ०१ देखि लागु हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई मित्रराष्ट्र भारत भ्रमणमा जाने नेपाल टेलिकम मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ । डाटा रोमिङ प्याक दैनिक, साप्ताहिक र मासिक गरी तीन प्रकारका रहेका कम्पनीले जनाएको छ ।

दैनिक प्याकअन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने गरी १ सय २५ रुपैयाँमा १०० एमबीको डाटा रोमिङ प्याक उपलब्ध गराइएको छ । यसैगरी साप्ताहिक प्याकमा ७ दिनसम्म प्रयोग गर्न सकिने गरी ५ सय ५५ रुपैयाँमा ५०० एमबी डाटा तथा मासिक प्याक अन्तर्गत २८ दिन प्रयोगमा ल्याउन सकिने गरी १ हजार १ सय २५ रुपैयाँमा १ जीबी डाटा उपलब्ध गराइएको छ ।

डाटा रोमिङ प्याक सुविधा उपभोग गर्नका लागि ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्दछ । प्रिपेड ग्राहकहरुले आफ्नो मोबाइलबाट *1415# डायल गरी वा Nepal Telecom मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सक्नेछन् । पोष्टपेड मोबाइल ग्राहकहरूले यो सेवा हालका लागि ग्राहक सेवा केन्द्रबाट सुचारु गर्नु पर्ने टेलिकमको भनाई छ । खरिद गरेकै समयदेखि उपरोक्त प्याकको मान्यता अवधि गणना हुने भएकाले ग्राहकहरूको सहजताका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएर भारत पुगी त्यहाँका स्थानीय नेटवर्कमा रजिष्टर्ड (Latch) भइसकेपछि मात्र रोजाइका प्याकहरु Nepal Telecom App मार्फत अथवा USSD Code *1415# डायल गरी खरिद गरेमा प्याकको पूर्ण सदुपयोग गर्न सकिने सिस्टम मिलाइएको छ ।

उक्त प्याकहरु Nepal Telecom मोबाइल एप मार्फत तथा *1415# डायल गरी International Service मेनुभित्र गई प्राप्त निर्देशन बमोजिम खरिद गरी प्रयोगमा ल्याउन सकिने र एसएमएस मार्फत पनि प्याकहरु खरिद गर्न सकिने उल्लेख गर्दै टेलिकमले दैनिक, साप्ताहिक र मासिक प्याकहरू खरिद गर्न क्रमशः INDRM1D, INDRM7D र INDRM28D लेखी १४१५ मा एसएमएस पठाउनुपर्ने जनाएको छ ।