द्वन्द्वग्रस्त साउथ सुडानमा बाढीको प्रकोप

द्वन्द्वग्रस्त साउथ सुडानमा बाढीको प्रकोप


दक्षिणी सुुडानमा आएको भीषण बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित हुनुपरेको छ । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा अकस्मात रुपमा आएकोे बाढीमा परेर ती नागरिक विस्थापित हुनुपरेको हो ।

नाइल नदीको किनारातिर रहेको बस्तीका नागरिक बढी प्रभावित भएको त्यहााका सुरक्षाअधिकारीहरुलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । बताइएअनुसार उनीहरुमध्ये कतिपयलाई सुरक्षित स्थान खोजेर सारिएको छ भने अधिकांश आफै भागेर सो क्षेत्रमा पुगेका छन् ।

त्यसैगरी सुरक्षित स्थानतर्फ भाग्नेमा अधिकांश सुडानबाट आएका शरणार्थीहरु रहेका छन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोगले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सुडानी शरणार्थीहरुको शिविर नै बाढीको चपेटामा परेकोले उनीहरु त्यहाँबाट भाग्न बाध्य भएका बताइएको छ ।

उक्त विज्ञप्तिमा नदीको पानी बस्तीमा पसेको छ । बाटो घाटो विग्रिएको छ भने शरणार्थीहरुका छोराछोरी पढ्ने विद्यालय पनि पानीले भरिएको छ ।

बाढीले अन्य भौतिक संरचनाहरुका साथै खानेपानी, बिजुली, अस्पतालजस्ता आधारभूत सुविधाहरुको संरचनाहरु पनि भत्काइदिएको छ । अस्पतालमा नै पानी पसेपछि नागरिकको स्वास्थ्य सुविधा अवरुद्ध भएको छ । जसका कारण घाइतेको उपचारको काम पनि हुन नसकेको बताइएको छ ।

इथियोपियाको सीमा क्षेत्रबाट आएको बाढीले त्यहाँका नदीहरुको सतह बढ्न पुगेको छ । मौसम विज्ञासम्बन्धी अधिकारीहरुले अकस्मातको पानीले धेरै क्षति पु¥याएको र अझै केही समय वर्षात नरोकिने बताएका छन् ।

द. सुडान सन् २०१३ देखि द्वन्द्वको चपेटामा परिरहेको छ । युद्धका कारण विस्थापित भएका सुडानका करिब ३ लाख शरणार्थी दक्षिणी सुडानमा बस्दै आएका छन् ।

त्यसैगरी यस देशमा जारी द्वन्द्वका कारण पनि करिब १५ लाख नागरिक आन्तरिक रुपमा विस्थापित भएर शरणार्थीको रुपमा जीवन व्यतित गरी आएका पनि राष्ट्रसंघीय शरणार्थी आयोगले जानकारी दिएको छ ।