ललितपुरको जावलाखेल मैदानमा १३औँ पुष्प प्रदर्शनी

ललितपुरको जावलाखेल मैदानमा १३औँ पुष्प प्रदर्शनी


फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा ललितपुरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ शुक्रबारदेखि पुष्प प्रदर्शनी शुरु भएको हो ।

जावलाखेलको खेल मैदानमा आयोजित १३औँ पुष्प प्रदर्शनीमा व्यावसायिक ४४, सूचनामूलक चार र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी एकसहित कूल ४९ कक्ष रहेका छन् । मेला संयोजक तथा फ्यानका उपाध्यक्ष शिवबहादुर खड्काले मेलामा ३५ हजारले अवलोकन गर्ने र करीब रु ५० लाख बराबरको आर्थिक कारोवार हुने अपेक्षा रहेको जानकारी दिए ।

यसवर्षको मेलामा विभिन्न मुलुकबाट माउबोटका रूपमा आयात गरी उत्पादन विस्तार गरिएका करीब १६ नयाँ प्रजातिका गोदावरी फूलसमेत प्रदर्शनीमा राखिएको छ । मेला यही कात्तिक ४ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ ।

नेपालमा २०११ बाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरु भएको फूल व्यवसाय आव २०७५/७६ सम्म आइपुग्दा ४३ जिल्लामा विस्तार भएको छ । करीब ८०० फूल व्यवसायी अगाडि बढेका छन् । लगभग तीन हजार १४० रोपनीमा पुष्पखेती भएको छ भने ४३ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । फूलखेती व्यावसायिक ढङ्गले शुरुआत भएको चाहिँ २५ वर्ष पुगेको छ ।