बालिकाको सामुहिक बलात्कार, सात आरोपी पक्राउ

बालिकाको सामुहिक बलात्कार, सात आरोपी पक्राउ


वीरेन्दन्द्रनगर (सुर्खेत)की एक १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का, वडा नं ४ का २३ वर्षीय धनबहादुर खत्री, बराहताल गाउँपालिका–२ का २३ वर्षीय रोशन वली र २१ वर्षीय नरेश बुढालाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएस्पी रवि रावलले दिएको जानकारीअनुसार पीडित बालिकाले गत आइतबार दिएको जाहेरीका आधारमा प्रहरीले आरोपी सबैलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ। आरोपीलाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट प्रहरीले १० दिनको लागि म्याद थप गरिसकेको छ ।

बताइएअनुसार ती बालिकाले प्रहरीलाई दिएको जाहेरीमा आफूलाई उनीहरुले असोज १५, १६ र २३ गते पालैपालो एक पटक चार जनाले र अर्को पटक दुई जनाले करणी गरेको उल्लेख छ । जाहेरी परेलगत्तै आवश्यक प्रमाण सङ्कलन र आरोपीलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।