बौद्धिक क्षेत्रको आग्रह र कुण्ठा

बौद्धिक क्षेत्रको आग्रह र कुण्ठा


■ केशवप्रसाद भट्टराई

– डिसेम्बर २०१८ मा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली अमेरिकाको विदेशमन्त्री माइक पम्पियोको निमन्त्रणामा अमेरिकामा थिए ।

डिसेम्बर १८ मा जारी प्रेस विज्ञप्ति र सोही दिन परराष्ट्रमन्त्री ज्ञवालीको सम्मानमा आयोजित भोजमा दक्षिण एसिया र मध्य एसिया हेर्ने अमेरिकाकी उपसहायक विदेशमन्त्री एलिस जी. वेल्सले राखेको मन्तव्यमा दुई देशका परराष्ट्रमन्त्री स्तरमा भएको भेटवार्तामा नेपाल र अमेरिकाबीच दुवै पक्षले परस्पर सम्बन्ध विकासमा बलियो प्रतिबद्धता व्यक्त गरेको उल्लेख थियो ।

– सात दशक लामो नेपाल-अमेरिका सम्बन्धमा उक्त ऐतिहासिक भेटवार्ताले दुई मुलुकबीचको सम्बन्धमा नयाँ अध्याय निर्माण गरेको, नेपालको सफलतामा अमेरिकी सरकारको गहिरो सरोकार रहेको, प्रजातन्त्र र आर्थिक विकासतर्फको नेपालको यात्रामा अमेरिकाको बलियो समर्थन र सहयोग रहेको समेत उनको भनाई थियो ।

उनको मन्तव्यको सबैभन्दा महत्वपूर्ण अंशचाहिँ इन्डो-प्यासिफिक क्षेत्रमा नेपालको विशिष्ट स्थान रहेको र सबैलाई लाभ पुग्ने गरी उक्त क्षेत्रको समृद्धि, स्थिरता सुनिश्चित गर्न दुवै मुलुकबीच निकट सहकार्य आवश्यक रहेको र सोको माध्यमबाट खुला र स्वतन्त्र समुद्री आवागमनको क्षेत्रमा विद्यमान चुनौतीहरूलाई सामना गर्न सकिने भन्ने थियो ।

– मन्त्री ज्ञवालीको भ्रमणको अवसरमा अमेरिकी विदेश मन्त्रालयका उप प्रवक्ता रोबर्ट पल्लाडिनोले ‘स्वतन्त्र, खुला र समृद्ध बन्दै आइरहेको इन्डो प्यासिफिक क्षेत्रमा र उत्तर कोरिया लगायतका विश्वका जल्दाबल्दा सवालहरूमा नेपालको महत्वपूर्ण भूमिका रहेको र आजको ऐतिहासिक वार्ताले नेपाल(अमेरिकाबीचको बलियो साझेदारीकाप्रति अमेरिकाको प्रतिबद्धतालाई प्रदर्शन गरेको बताएर दुई मुलुकबीचको सम्बन्धमा विद्यमान ठूला सम्भावनाहरूले महत्व पाएको’ उनले उल्लेख गरेका थिए ।

– कुरो यत्तिकै थियो ।

एउटा महाशाक्तिले नेपाल उपस्थित भौगोलिक क्षेत्रमा नेपालको महत्वलाई स्वीकारेको थियो र त्यो हाम्रोलागि खुशीकै कुरा थियो ।

पहिला एसिया प्यासिफिक भनेर चिनिने भूगोलमा हिन्द महासागर र भारतले महत्व नपाएको विचारले त्यो एसिया प्यासिफिकलाई राष्ट्रपति ट्रम्पको सरकारले औपचारिक रुपमा इन्डो प्यासिफिक भन्न थाल्यो, जबकि इन्डो प्यासिफिक पदावली भने दोस्रो विश्व युद्धलगत्तै प्रयोग हुँदै आइरहेको थियो ।

विश्व राजनीतिमा चीन र भारतको बढ्दो प्रभाव र महत्वलाई समेत समेट्ने गरी ट्रम्पभन्दाअघि राष्ट्रपति ओबामाले प्यासिफिक स्ट्रेटेजी, रिब्यालेन्स टु एसिया पलिसी घोषणा गरेका थिए ।

त्यही सन्दर्भलाई ट्रम्पले इन्डो प्यासिफिक बताए ।

नेपाली राजनीति, र वौद्धिक समूहले त्यसैलाई लिएर अनावश्यक रूपमा कोकोहोलो मच्चायो ।

– अमेरिकाका आलोचना गर्ने थुप्रै आधार छन् ।

उसका अनगिन्ती अभाव र कमजोरीहरू छन् ।

मुक्त कण्ठले प्रशंसा गर्नुपर्ने पनि अनेकौँ आधार छन्- ती सन्दर्भ यहाँ जोडिन आवश्यक छैन ।

भन्न खोजेको कुरोचाहिँ जुन कुरोलाई लिएर नेपालमा कोकोहोलो माच्चाइयो त्यसको कुनै कारण थिएन ।

– लामो समयपछि शक्तिशाली छिमेकका सर्वोच्च नेता नेपाल आए- त्यो स्वागतयोग्य कुरा हो ।

भ्रमणका राजनीतिक, रणनीतिक र आर्थिक पक्षबारे चर्चा र अध्ययन हुँदै जाला ।

मैले उठाउन चाहेको कुरोचाहिँ प्रदिप ज्ञवालीको अमेरिका भ्रमणको अवशरमा जारी विज्ञप्तिमा रणनीति शब्द कतै परेको छैन,

तर नेपालले अमेरिकाको इन्डो प्यासिफिक रणनीतिमा प्रवेश गर्यो भनेर बखेडा झिकेर सरकार र परराष्ट्रमन्त्रीको दोहोलो काढियो,

तर चीनियाँ राष्ट्रपतिको भ्रमणको अन्त्यमा प्रकाशित संयुक्त विज्ञप्तिको पहिलो बुँदामा नै नेपाल-चीन बीचको व्यापक र स्थायी सहयोग साझेदारीलाई रणनीतिक साझेदारीमा रूपान्तरण गर्ने कुरा उल्लेख गरिएको छ ।

– नीति, रणनीति र कार्यनीति जस्ता पदावलीले बुझाउने अर्थ पछि उल्लेख गर्दै जाउँला तर जे जसरी उल्लेख भएको छ त्यसलाई सामान्य अर्थमा बुझिन्न ।

नेपाल चीन सम्बन्धमा उक्त विज्ञप्ति, दुई मुलुकबीच भएका २०बुँदे सम्झौता र समझदारीमा उल्लेख गरिएका केही व्यवस्थाहरूले पनि रणनीतिक साझेदारी भएको बुझाउँछ त्यसले नेपालको भारत र चीनसँगको सम्बन्धमा गम्भीर अर्थ राख्दछ ।

– तर यति महत्वपूर्ण कुराबारे नेपालको राजनीतिक क्षेत्र र वौद्धिक समुदाय मौन छ ।

ठिक-बेठिक अर्को कुरा हो तर यति महत्वपूर्ण विषयमा कुनै बहस र छलफल नहुनु एकोहोरो भ्रमणको प्रशंसा मात्र हुनु मुलुकको राजनीतिक र बौद्धिक क्षेत्रको अनुत्तरदायी व्यवहार हो, उनीहरूको आग्रह र कुण्ठाको परिचय हो ।

(लेखकको फेसबुकबाट)