अमेरिकी राजनीतिबाट सिक्ने कि ?

अमेरिकी राजनीतिबाट सिक्ने कि ?


■ भरतबहादुर विसुराल ‘हिमालयन टाइगर’

सन् १७८७ मा अमेरिकाको फिलाडाल्फिया शहरमा अमेरिकी संविधानसम्बन्धी गर्मागर्मी बहस छलफलका लागि भएको कन्भेन्सनले जनताबाट निर्वाचित शक्तिशाली राष्ट्रपतिलाई पनि यदि राज्य तथा देशद्रोही गतिविधिमा लागेको प्रमाण भेटिए, घुस लिने–दिने कार्यमा लागेको पाइए, उच्च अपराधमा संलग्न भएको प्रमाणित भएमा र नैतिक पतन हुने गरी सानातिना अपराध वा दुष्कर्म गरेको पाइएमा महाअभियोग लगाउन सकिने प्रावधानका लागि निर्णय लिएको पाइन्छ ।

यदि ४३५ सदस्य भएको पूर्ण सदनले मतदान गरी महाअभियोग प्रकरणमा छलफल गर्न पाइने अनुमति दिएमा तल्लो सदनको न्यायिक समितिमा बयान लिने छलफल बहसपश्चात प्रमाणित वस्तुहरूसहित महाअभियोगका लागि फुल हाउसमा सिफारिस गर्न सक्ने र तल्लो सदन काङ्ग्रेसले महाअभियोग लगाएपछि सय जना सिनेट रहेको सदनमा पेश गर्नुपर्ने हुन्छ । सिनेटले पनि राष्ट्रकै सर्वोच्च अदलतका प्रधानन्यायाधीशलाई आमन्त्रित गरी जेष्ठ सिनेटर सदस्यले सपथ गराई इजलास खडा गर्नुपर्ने हुन्छ । त्यसपछि गर्मागर्मी पक्ष–विपक्षको बहस छलफल बयानबाजी र गवाही सुन्ने प्रमाणहरू बुझ्ने काम भएपश्चात मतदान प्रक्रियामा जानुपर्ने हुन्छ । सय जना सिनेटरमध्ये जननिर्वाचित र शक्तिशाली राष्ट्रपतिलाई महाअभियोग लगाएर पदमुक्त गराउन ६७ भोटको आवश्यकता पर्दछ । यदि ६७ सिनेटरले मतदान गरे राष्ट्रपति पदमुक्त हुने छन् र उपराष्ट्रपतिले राष्ट्रपतिका रुपमा महाअभियोग लागेका राष्ट्रपतिको कार्यकाल पूरा गर्ने अवसर पाउने छन् ।

विगतको इतिहास हेर्दा सन् १८६८ मा १७औँ अमेरिकी राष्ट्रपति आन्द्रेयु जोन्सनले सिभिल वार कालखण्डमा आफ्ना वार सेक्रेटरी इड्विन स्टाण्टनलाई बर्खास्त गरेपछि हाउसले महाअभियोग लगाएको थियो तर सिनेटले महाअभियोग सदर गर्न नसकेपछि पदमै रहेर राष्ट्रपति जोन्सनले पदावधि पूरा गरे । त्यसैगरी, ३७औं राष्ट्रपति रिचर्ड निक्सनलाई सन् १९७२ देखि अनुसन्धान हुँदै आएको आफ्नो विपक्षी डेमोक्र्याट पार्टी हेडक्वाटर वाटरगेट काण्डमा १९७४ मा आइपुग्दा आफ्ना समर्थकहरू पनि महाअभियोगका पक्षमा मतदान गर्ने थाहा पाएपछि महाअभियोगबाट बच्न राजिनामा गरी उप–राष्ट्रपति जेराल्ड फोर्डलाई राष्ट्रपतिको भार सुम्पेर राष्ट्रपति भवन ह्वाइटहाउस छाडेको पाइन्छ । त्यसैगरी, सन् १९९८ मा ४२औँ अमेरिकी राष्ट्रपति बिल क्लिन्टनलाई मोनिका लिवन्स्कीसँग भएको अनैतिक सम्बन्ध र दुष्कर्म गरेको ठहर गरी डिसेम्बर १९, १९९८ मा तल्लो सदन कांग्रेसले महाअभियोग लगाएर सिनेटमा पेश गरेको र सिनेटमा राष्ट्रपति क्लिनटनको डेमोक्र्याट पार्टीका ४५ र विपक्षी पार्टी रिपब्लिकनको ५५ सिट भएको अवस्था थियो । तर मतदानमा रिपक्लिकन सिनेटर ५० जना र डेमोक्र्याटका पाँचजना गरी ५५ जना सिनेटरले महाअभियोगको पक्षमा मतदान गरे भने ४५ जना डेमोक्र्याटमा ४० र पाँच जना रिपब्लिकन सिनेटर गरी ४५ जनाले महाअभियोगको विपक्षीमा मतदान गरे । यसरी दुई तिहाई मत पुग्न ६७ मत नपुगेपछि राष्ट्रपति बिल क्लिन्टनको महाभियोग प्रकरण विफल भयो र पूरै कार्यकाल जिम्मेवारी निर्वाह गर्ने अवसर राष्ट्रपति क्लिन्टनले पाएका थिए ।

हालका ४४औँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि कहिले महिलासँगको सम्बन्ध (प्ले ब्वाई), कहिले रुससँगको गोप्य साँठगाँठ त कहिले कर मामिला र विदेशी भूमिको व्यवसायमा दोषी ठहर गराउन जति लागि परे पनि विरोधीपक्ष डेमोक्र्याट पार्टी असफल हुँदै आएको थियो । यसपटक युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलन्स्कीसँगको टेलिफोन वार्तामा डेमोक्र्याट पार्टीका पूर्वउपराष्ट्रपति जो विदेन र उनका छोरा हण्टर विदेन संलग्न रहेको युक्रेनको संस्थामा व्यापक भ्रष्टाचारको अनुसन्धान गरी बाहिर ल्याउन सुझाएको आरोप लगाई विदेशी राष्ट्रसँग सहकार्य गरी आफ्नो देशको विरुद्ध कदम चाल्नु राष्ट्रिय सुरक्षा नीतिविपरीत हुन्छ भनी त्यस मामिलाविरुद्ध महाअभियोग प्रकरण चलिरहेको छ ।

हाम्रो देशमा जस्तो चाकडी चाप्लुसी जी–हजुरी गर्ने दासहरूलाई टीका लगाएर उल्टो दक्षिणा चढाएकाहरूलाई पद मान सम्मान बाँड्नु राजनीतिक संस्कार हुँदै होइन । अमेरिकाको जस्तै त्यस्तो शक्तिशाली जननिर्वाचित राष्ट्रपति पनि दुष्कर्म (सानातिना गल्ती तथा अपराध) गरे महाअभियोग प्रकरणबाट पदमुक्त गर्ने प्रक्रिया सबै मुलुकले ग्रहण गर्नु उचित ठहर्नु पर्दछ ।

त्यसो त सन् २०१८ को मध्यावधी निर्वाचन अगाडी मतदान स्थलमा अनुपस्थित भई मतदान गरेका मतपत्र (अबसेन्टी ब्यालेट) र प्रोभिजनल ब्यालेट बक्स (पूर्ण अमेरिकी नागरिक नभएका मतदाताहरूले मतदान गरेका मतपत्र) निर्णायक परिस्थितिमा छानविन प्रक्रिया पुऱ्याएर मात्र गन्ने प्रचलन थियो । तर यसपटक डेमोक्र्याट पार्टीले यस्ता मतहरू आफ्नो भएको हुँदा अरु मतपत्र सँगसँगै गन्न पाउनुपर्ने अडान राख्दै आएको र डेमोक्र्याट क्षेत्रमा निर्वाचन इकाई कार्यालय र न्यायालयहरूले पनि साथ दिएकाले ती मतपत्रहरू पनि सदर गरी गनियो जसको परिणाम स्वरुप डेमोक्र्याट पार्टीले ४३५ सदस्य रहेको एयु.एस. कांग्रेसमा २३५ सिट जम्मा गर्न सफल भयो । रिपब्लिकन १९७ मा झऱ्यो । स्वतन्त्र १ सिट र अझै २ सिट खाली छ । यी सिट मध्येबाट डेलिगेट ६ जना सदस्यहरूले मतदानमा भाग लिन पाउँदैनन् (पोर्तेरिको, समुआ, उत्तर मारियाना, गुआम र युएस भर्जन आइल्याण्ड साथै डिसीका डेलिगेटहरूले भाग लिन पाउँदैनन्) । यसमा पनि डेमोक्रयाट्का तीनजना, रिपब्लिकनका २ जना र एक जना स्वतन्त्र छन् । अझै ११-१२ जना डेमोक्रयाट कांग्रेसम्यानहरू महाअभियोग लगाउनु हुँदैन भन्ने पक्षमा छन् ।

त्यसैगरी उपल्लो सदन सिनेटमा सय जनामध्ये ५३ जना राष्ट्रपति ट्रम्प पार्टीका सिनेटरहरू छन् । दुई जना स्वतन्त्र र ४५ जना डेमोक्रयाट सिनेटरहरू छन् । राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउन सिनेटर संख्या ६७ चाहिन्छ । स्वतन्त्र दुई जनासहित रिपब्लिकन सिनेटर अरु २० जना पैंचो ल्याउन सक्नु पर्दछ होइन भने निर्वाचनको मुखमा राष्ट्रपति ट्रम्पलाई निर्वाचनमा हराउन गाली बेइज्जती बदनामी गर्नेदेखि निर्वाचनमा भाग लिन नपाउने हतकण्डा र हल्लडबाजका रुपमा डेमोक्र्याट चित्रित हुने खतरा देखिँदैछ ।

गृहयुद्ध, क्षेत्रीय युद्ध, विश्वयुद्ध, कोरिया भियतनाम युद्ध, सितयुद्ध खाडी युद्ध, अफगानस्तिानको तालिवान, अलकाईदा, इस्लामिक स्टेट, लेवनानका हजबुल्लाहसम्मको युद्ध मात्रै होइन, व्यापार युद्धसमेत लडेर भुक्तमान खाएको अमेरिकी खारिएको नेतृत्व आ–आफ्नै पार्टीभित्रको प्राथमिक निर्वाचनहरूमा भएका बहसहरूमा भनाभन र सत्रुता समेत उत्पन्न हुने गरी मनमा कुनै कुरा नराखी आरोप प्रत्यारोप र बचाउ खण्डन–मण्डन गर्ने गर्दछन् । यसरी तिखारिएको राजनीतिक नेतृत्वले अमेरिका मात्र होइन विश्व हाँक्नुपर्ने हुन्छ ।

हामीले हेर्दा सुन्दा बुझ्दा आफ्नै राष्ट्रपतिको निन्दा अपमान मानमर्द्धन गरेर त्यसरी किन जगहसाइँ गरेका होलान् भन्ने लाग्छ, तर राजनीतिक शत्रुता र बदलावको भावना, पूर्वाग्रह, आग्रह र कुण्ठा पालेर होइन त्यसरी नै भण्डाफोर गरेर मात्र नेतृत्वको चयन हुनु असल प्रक्रिया हो । हाम्रो देशमा जस्तो चाकडी चाप्लुसी जी–हजुरी गर्ने दासहरूलाई टीका लगाएर उल्टो दक्षिणा चढाएकाहरूलाई पद मान सम्मान बाँड्नु राजनीतिक संस्कार हुँदै होइन । अमेरिकाको जस्तै त्यस्तो शक्तिशाली जननिर्वाचित राष्ट्रपति पनि दुष्कर्म (सानातिना गल्ती तथा अपराध) गरे महाअभियोग प्रकरणबाट पदमुक्त गर्ने प्रक्रिया सबै मुलुकले ग्रहण गर्नु उचित ठहर्नु पर्दछ ।