एनआरएनलाई ढकालचन्द्रको आग्रह- ‘वातावरण छ, लगानी गर्नुस्, मुनाफा लिनुस्’

एनआरएनलाई ढकालचन्द्रको आग्रह- ‘वातावरण छ, लगानी गर्नुस्, मुनाफा लिनुस्’


नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल संघीय व्यवस्थामा प्रवेस गरेसँगै लगानीको वातावरण बन्दै गएको भन्दै यहाँ लगानी गरेर मुनाफा कमाउन गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।

नेपालका एकजना उद्यमी र नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षका रुपमा गैरआवासीय नेपाली संघको नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै भने– ‘सरकारले हाल लगानी गर्न उद्यमीहरूलाई उत्साहित गरेको छ, तीन तहको सरकार बनेपछि त लगानी भित्र्याउन एक किसिमले प्रतिष्पर्धा नै भएको छ भन्दा पनि हुन्छ ।’

‘मलाई प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूले व्यक्तिगत रुपमा भेटेर या फोन नै गरेर पनि आफ्नो प्रदेशमा पनि चन्द्रागिरिजस्तै केबलकार बनाउन आउन आग्रह गर्नुभएको छ, तपाईं आउनुहोस्, वातावरण हामी बनाइदिन्छौँ भन्ने गर्नुभएको छ’– ढकालको भनाई थियो । उनले नेपालमा गैरआवासीय नेपालीहरुसँग मिलेर २७ मेघावाटको दोर्दीखोला जलविद्युत र काठमाडौंमा रहेको चन्द्रागिरि केवलकार गरी दुइओटा प्रोजेक्ट गरेको र जुन नेपाली उद्यमशीलताको क्षेत्रमा राम्रा उदाहरणका रूपमा स्थापित भएको सबैमा विदितै रहेको उनले उल्लेख गरे ।

यो सफलताले नेपालमा गैरआवासीय नेपाली साथीहरुसँगको संयुक्त लगानीमा धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण नै बनेको भन्दै उनले थपे– ‘आउनुहोस् संयुक्त लगानी गरौँ या तपाईंहरू व्यक्तिगत रुपमै आएर लगानी गर्नुहोस् ।’

आफू विदेश जाँदा कतिपय नेपाली साथीहरूले नेपालमा लगानीको वातावरण नै छैन भन्नेजस्ता कुरा गर्ने गरेको स्मरण गर्दै उनले भने– ‘हेर्नुहोस्, सोचेजस्तो त कहीँ पनि हुँदैन, अमेरिकामा नै पनि व्यवसाय गरिरहेका साथीहरुका त्यहीँको सरकारसँग आ–आफ्नै गुनासा छन् ।’

हाल तीन तहको सरकार बनेपछि त एक किसीमले भन्ने हो भने आफ्नो प्रदेशमा लगानी भित्र्याउन प्रतिष्पर्धा नै भएको आफूले पाएको भन्दै त्यहाँ लगानीको वातावरण बनाउने सुनिश्चितता सरकारले नै गरिरहेका छन् भन्ने उनको तर्क थियो ।

आफूले संसारमा आर्जन गरेको सीप, ज्ञान र प्रविधिलाई नेपालमा लगाउन सकिएमा यसले राम्रै प्रतिफल दिने धारणा उनले राखे । विभिन्न पेशा, व्यवसाय, रोजगारी तथा अध्ययनका क्रममा संसारभर रहेका नेपालीहरूको विशिष्ट प्रकारको ज्ञान र क्षमता आर्जन गरेकोले त्यसलाई आफ्नो मातृभूमिमै प्रयोग गर्न र त्यसबाट लाभान्वित हुन पनि उनले सुझाव दिए ।