राष्ट्रपति भण्डारी नेपितमा

राष्ट्रपति भण्डारी नेपितमा


■ श्याम रिमाल, म्यान्मा

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मा भ्रमणका क्रममा आज (२९ असोज) साँझ राजधानी नेपित आइपुग्नुभएको छ । उहाँलाई म्यान्मा सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री ऊ क्य तीन, धार्मिक मामिला तथा संस्कृतिमन्त्री थुरा ऊ आङ को र नेपित नगरका प्रमुख डा. म्यो आङले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीलाई नेपित शहरका बालबालिकाले पनि पुष्पहार चढाई स्वागत गरेका थिए । राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत हुनुहुन्छ । राष्ट्रपति भण्डारीले असोज २९ देखि कात्तिक ३ गतेसम्म म्यान्माको राजकीय भ्रमण गर्दै हुनुहुन्छ ।

राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपति मिन्तबीच बिहीबार बिहान प्रेसिडेन्सियल हाउसमा भेटवार्ता हुनेछ । राष्ट्रपतिसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले पनि सोही हाउसमा भेट गर्नुहुनेछ । सोही दिन म्यान्मा र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । राष्ट्रपति भण्डारीसँग बिहीबार नै म्यान्माका डिफेन्स सर्भिसका कमान्डर इन चिफले भेट गर्नुहुनेछ ।

त्यस्तै जेम्स म्युजियमको पनि नेपाली प्रतिनिधिमण्डलले अवलोकन गर्ने कार्यक्रम छ । यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नुहुनेछ ।


pict:rss