आँधीबाट ज्यान गुमाउनेको संख्या चौहत्तर पुग्यो

आँधीबाट ज्यान गुमाउनेको संख्या चौहत्तर पुग्यो


■ एस क्षेत्री, टोकियो (जापान)

जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण ज्यान गुमाउनेहरुको संख्या बढेर ७४ पुगेको छ । जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले प्रकाशन गरेको पछिल्लो समाचारअनुसार खोजी तथा उद्धार जारी रहेको र कैयौँ व्यक्ति बेपत्ता तथा घाइते रहेकाले मृत्यु हुनेको सख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

आँधीबाट विद्युतीय लाइनमा आएको अवरोधका कारण धेरै क्षेत्रलाई असर गरेको छ । हाल १६ हजार घरधुरीहरुमा बिद्युत तथा पानीको आपूर्ति बन्द रहेको बताइएको छ । सबै घरहरु सुरक्षित रूपमा बिजुली फिर्ता हुन एक हप्तासम्म लाग्न सक्नेछ ।

विनासकारी आँधीपछि अझै पनि बेपत्ता रहेका व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन गरिएको छ । आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढ्दा नदीकिनाराका घर डुबानमा परेका छन् ।

हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो । प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा रहेको यो आँधीलाई जापानमा पछिल्लो समय आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ ।