अमेरिकामाथि इरानी राष्ट्रपतिको आरोप

अमेरिकामाथि इरानी राष्ट्रपतिको आरोप


इरानमाथि प्रतिबन्ध लगाएर अमेरिकाले इरानी नागरिकमाथि ‘अपराध’ गरेको त्यहाँका राष्ट्रपति हसन रौहानीले बताएका छन् ।

इरानको राज्य सञ्चालित समाचार संस्था आइआरएनएले राष्ट्रपति रौहानीलाई उद्धृत गरी जानकारी गराएको छ- ‘इरानी जनतालाई खाद्यान्न र औषधिसमेतमा पहुँचमा सङ्कट आउने गरी नाकाबन्दी गर्नु अमेरिकाका लागि ‘लज्जा’ को विषय बन्नुपर्छ ।’

इरानविरोधी प्रतिबन्ध ‘आर्थिक आतङ्कवाद’ हो भन्दै उनले अमेरिकी दबाबले इरानी जनता र राष्ट्रलाई घुँडा टेकाउने कल्पना असम्भव रहेको दाबी गरे । ‘अन्यायपूर्ण तथा अनौठो प्रतिबन्धको दबाबका बाबजुद इरानी वैज्ञानिक, अनुसन्धानकर्ता, उद्योगी तथा उत्पादकहरूले पूर्ण आत्मनिर्भरताको बाटोमा अघि बढाउन अत्यधिक मेहनत गरेका र अहिले उक्त उद्देश्य प्राप्तितिर इरान रहेको छ’- रौहानीको भनाई छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ अमेरिकासहितका विश्व शक्तिराष्ट्रहरूले इरानसँग गरेको आणविक सम्झौता अमेरिकाको पक्षमा नरहेको भनी गत वर्षको जुलाईदेखि सम्झौताबाट फिर्ता भएको घोषणा गरी इरानविरूद्ध पहिलेभन्दा अझ कडा प्रतिबन्धको घोषणा गरेका थिए ।

सम्झौता तत्कालीन अमेरिकी राष्ट्रपतिको पहलमा भएको थियो भने यसै विषयलाई ट्रम्पले आफ्नो सशक्त चुनावी एजेण्डा बनाएका थिए । अमेरिकाको निर्णयलाई अन्य हस्ताक्षरकर्ताले भने गलत भन्दै सम्झौताबाट कुनै हालतमा पनि फिर्ता हुन नहुने मत प्रकट गर्दै आएका सिन्ह्वाले जनाएको छ । अमेरिकाले नयाँ सम्झौता गर्न इरानलाई गरेको आग्रहलाई इरानले अस्वीकार गरेपछि तेहरानको अर्थतन्त्र धाराशायी हुनेगरी इरानको प्रमुख आम्दानीको स्रोत तेल तथा अन्य सामानहरूको निर्यात तथा कारोवारमा प्रतिबन्ध लगाएको छ ।