‘नचल्ने’ भइसकेको मुद्दा चलाइएकोमा आफ्ताव आश्चर्यमा !

‘नचल्ने’ भइसकेको मुद्दा चलाइएकोमा आफ्ताव आश्चर्यमा !


रौतहटको राजपुर बमकाण्डका आरोपी निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको म्याद अदालतले सात दिन थप गरेको छ ।

अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत रौतहटका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धानका लागि प्रहरीलाई म्याद प्रदान गरेको हो ।

२०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा यही असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो । निकै कडा सुरक्षा व्यवस्थाबीच अदालत पुऱ्याइएका आलमले न्यायाधीशसामु सो घटनाको मुद्दा ०६५ मै नचल्ने निर्णय भएको र अहिले आफूलाई सोही मुद्दाका कारण पक्राउ गरिएकोमा आचर्य लागेको प्रतिक्रिया दिएका छन् ।

अदालत परिसरबाट बाहिरिँदै गर्दा आलमले घटनाको ‘दूधको दूध र पानीको पानी’ चाँडै छुट्टिने समेत बताए । उनले आफूले अदालतको सम्मान गर्ने र मुद्दाका विषयमा पछि कुरा गर्ने अभिव्यक्ति दिए । म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट पुऱ्याइएको छ ।

यता आलम पक्राउ परेपछि पीडित परिवारलाई न्याय पाउने आश पलाएको छ । जाहेरीकर्ता तथा मृतक त्रिलोकप्रताप सिंहका बाबु ७९ वर्षका श्रीनारायण सिंहले घटनाको १२ वर्षपछि न्याय पाउने आश पलाएको बताएका राससले जनाएको छ । ठूलो मान्छेले अपराध गर्दा सजाय हुन्छ कि हुँदैन भन्ने कुरा अब अदालतको निर्णयपछि थाहा हुने उनको भनाइ छ । भोलिका दिनमा कसैले यस्तो जघन्य अपराध नगरुन् भन्नका लागि पनि न्यायालयले दोषीलाई कारवाही गर्नुपर्ने माग उनले गरेका छन् ।