पर्यटक-सुरक्षामा यसरी खटिएको छ मनाङ प्रहरी

पर्यटक-सुरक्षामा यसरी खटिएको छ मनाङ प्रहरी


मुलुकभर पर्यटन वर्षको स्वागतका लागि तयारी तीव्र पारिएको छ । यही क्रममा नेपालमा आउने पर्यटकहरुलाई सुरक्षा दिन नेपाल प्रहरी सशक्त रुपमा अघिसरेको छ ।

पर्यटकीय क्षेत्र भएका जिल्लाहरुमा कार्यरत सुरक्षा प्रमुखहरुले विशेष रणनीति अहिलेदेखि नै सुरु गरिसकेका छन् ।

यसैक्रममा मनाङ प्रहरीले पनि पर्यटक सुरक्षालाई मुख्य प्रथामिकतामा राखेर विभिन्न रणनितिहरु तय गर्दै विशेष सुरक्षा योजना लागु गरिसकेको मनाङ जिल्ला प्रहरी प्रमुख डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।

यतिबेला जिल्लामा आउने पर्यटकको लागि सिजन सुरु भएको छ । आफ्नो महत्वपूर्ण समयको ब्यवस्थापन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरु जिल्ला भित्रिनेको संख्या बढ्दै छ । जिल्ला आउने पर्यटकको रोजाई तिलिचो ताल अग्रस्थानमा छ । उच्च स्थानमा रहेको मनोरम तिलिचो तालमा पुग्ने पर्यटकको संख्या वढ्दै गर्दा त्यहाँ पुग्ने पर्यटकको सुरक्षा मनाङ प्रहरीले कडा रुपमा गर्दै आएको छ ।

पर्यटकको सुरक्षाका लागि मनाङ प्रहरीले तिलिचो तालमा नै प्रहरी गस्ती सुरु गरेको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने महत्वपूर्ण गन्तब्य तिलिचो तालमा पुग्ने पर्यटकको सुरक्षाका लागि प्रहरी गस्ती सुरु गरिएको प्रहरी प्रमुख कार्कीले बताए । अन्नपूर्ण पदमार्गमा आउने प्रर्यटकको चाप बढेसँगै उनीहरुको सुरक्षाका लागि प्रहरी तिलिचोसम्म पुगेको हो । यो हाम्रो दायित्व र जिम्मेवारी दुवै हो, डिएसपी कार्कीले भने, प्रहरी सहायक निरीक्षक मोहदत्त शर्माको कमाण्डमा प्रहरी टोली त्यहाँ पुगेको छ । यसले पर्यटकलाई पनि आफु सुरक्षित छु भन्ने महशुस हुनेछ ।

गस्तीसंगै डिएसपी टिका वहादुर कार्कीको कमाण्डमा ५१०६ मिटर उचाईमा रहेको लार्केपासमा गस्ती तथा ४१७५ मि. उचाईमा रहेको नार्पाभूमी गाउँपालिका १ मा पर्ने नार गाउँमा पुगी गाउपालिका अध्यक्ष लगायत जनप्रतिनिधिसंग सुरक्षा समबन्धी अन्तरक्रिया गरेको थियो ।

त्यसैगरी प्रहरी निरीक्षक सविन भण्डारीको कमाण्डमा ५४१६ मिटर उचाईमा रहेको थ्रोङलापासमा, प्रहरी नायव निरिक्षक रामवहादुर बानियाँ र राजेश मल्ल ठकुरीको कमाण्डमा ५००२ मिटर उचाईमा रहेको काजिन सारा तालसम्म मनाङ प्रहरीले गस्ती गर्दै सुरक्षा प्रदान गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ग्रामिण पर्यटकीय सामुदायिक गस्ती सञ्चालन गरिएको हो ।

यो कार्यक्रमलाई जिल्लामा प्रभावकारी रुपमा अगाडि बढाईएको डिएसपी कार्कीले बताए । जिल्लामा रहेका र जिल्ला भित्रिने सबै नागरिकको जीउधनको सुरक्षाको लागि प्रहरी दत्तचित्त भएर लागिपरेको छ । सुरक्षाको कुनै पनि चिन्ता नगरी मनाङमा आउन डिएसपी कार्कीकोे आग्रह छ ।

गण्डकी प्रदेशमा आउने पर्यटकहरु सबैतिरबाट मनाङ भित्रिने भएकाले पनि यहाँ सूचना संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्नेछ । मुस्ताङ, गोरखा र तनहुँ तिनतिरैबाट यहाँ आन्तरिक र वाह्य पर्यटक आउने गर्दछन् ।

त्यसैले उनीहरुको सुरक्षा र सूचना दिने दुवै महत्वपूर्ण काम मनाङ प्रहरीले गर्नुपरेको छ । यसलाई थप प्रभावकारी बनाउने काम पनि सुरक्षा गस्तीले गर्ने डिएसपी कार्कीले बताए । अहिलेको सिजनमा मनाङमा दैनिक १ हजार भन्दा बढि पर्यटक भित्रिने गरेका छन् ।

विगत वर्षदेखि विदेशी र स्वदेशी पर्यटक लगभग बराबरीको संख्यामा मनाङ आउने गरेका छन् । गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्ष मनाइरहँदा यहाँ आउने पर्यटकको सुरक्षा र सुचना प्रणालीलाई ब्यवस्थित गर्न थप ध्यान दिनुपर्ने त्यहाँ घुमेर आएका व्यवसायी दिनेशकुमार चुकेले बताए ।