इरान र साउदी अरेबियाको मध्यस्थताको लागि इमरान साउदी अरेबिया भ्रमणमा

इरान र साउदी अरेबियाको मध्यस्थताको लागि इमरान साउदी अरेबिया भ्रमणमा


इरानको भ्रमण सम्पन्न गरी पाकिस्तानी प्रधानमन्त्री इमरान खान मंगलबार साउदी अरेबिया जानेछन् । अरब खाडी क्षेत्रमा उत्पन्न संकटबारे छलफल गर्न प्रधानमन्त्री खान इरान र साउदी अरेबियाको भ्रमणमा रहेका छन् ।

प्रधानमन्त्री खानले इरानी राष्ट्रपति हसन रौहानीसँग सोमबार राष्ट्रपति कार्यालयमा भेटवार्ता गरेका थिए । साउदी अरेबिया र इरानबीच उत्पन्न गतिरोधले क्षेत्रमै असर पार्न थालेको भन्दै प्रधानमन्त्री खानले सम्भावित मध्यस्थताका लागि दुवै देशको भ्रमण गरेको बताइएको छ ।

इरानी राष्ट्रपति रौहानीसँगको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री खानले इरान र साउदी अरेबियाबीच कुनै किसिमको द्वन्द्व नहोस् भन्ने पक्षमा पाकिस्तान रहेको बताउँदै द्वन्द्व समाधानका पक्षमा इरानी राष्ट्रपतिसँग रचनात्मक वार्ता भएकोमा आफू निकै आशावादी रहेको बताए ।

प्रधानमन्त्री खानले इरानी सर्वोच्च नेता आयातोल्लाह खामेनीसँग पनि भेटवार्ता गरेका थिए । प्रधानमन्त्री खानका साथ विदेशमन्त्री शाह महमुद कुरेसी र प्रधानमन्त्रीका सल्लाहकार सइद जुल्फिकार अब्बास बुखारी पनि रहेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री खानले साउदी राजकुमार मोहम्मद बिन सल्मानसँग खाडी क्षेत्रमा उत्पन्न गतिरोधबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।

गत महिना राष्ट्रसंघको ७४औँ महासभामा भाग लिन जाने क्रममा पनि प्रधानमन्त्री खानले साउदी अरेबियाको भ्रमण गरी राजकुमार सल्मानसँग भेटवार्ता गरेका थिए ।

साउदी अरेबियाका दुईवटा ठूला तेल प्रशोधन केन्द्रमा गत सेप्टेम्बर १४ मा ड्रोन आक्रमण भएपछि इरान र साउदी अरेबियाबीचको तनाव चुलिएको छ । उक्त आक्रमणको जिम्मेवारी यमनका हुथी विद्रोहीले लिए पनि अमेरिका र साउदी अरेबियाले ड्रोन हमला इरानबाट भएको दाबी गरिरहेका छन् ।

तर, इरानले भने उक्त आक्रमण आफूले नगरेको भन्दै अमेरिका र साउदी अरेबियाको दाबीको खण्डन गरिरहेको छ । तेल प्रशोधन केन्द्रमा भएका आक्रमणहरूले विश्वबजारमा तेलको मूल्य वृद्धि भएको थियो ।

rss