‘विमोचनमा नजानू’ भनिएको पुस्तकबारे…

‘विमोचनमा नजानू’ भनिएको पुस्तकबारे…


■ सरिता अर्याल

एक पुस्तकको विमोचनमा आएका प्रमुख अतिथिले भने, ‘मलाई यो पुस्तकको विमोचनमा नजानू भनिएको थियो ।’ प्रकाशकसमेत रहेका अर्का वक्ताले भने, ‘मलाई यो पुस्तक प्रकाशन नगर्नू भनेर दबाब आएको थियो ।’

संस्मरण विधामा लेखिएको पुस्तक प्रकाशन गर्न नहुने, प्रमुख अतिथिले कार्यक्रममा जानै नहुने के रहेछ त्यस्तो भनेर मनमा कुतूहल उत्पन्न भएको थियो । पुस्तक बजारमा आइनपुग्दै आफू देशबाहिर जानु परेकोले पढ्न पाएको थिइनँ । फर्केर आएपछि पुस्तक पनि हात लाग्यो, नाम त सुनेकै थिएँ – ‘उज्यालोको खोजीमा’ ।

दसवर्षे द्वन्द्वकालमा माओवादी बनेर भूमिगत भएकी खिमा रिजालले लेखेको यो पुस्तक एकै बसाइमा पढेर सकेँ । बाइस उपशीर्षकमा लेखिएको यो संस्मरणमा युद्धकालीन दिनचर्या र पार्टी शान्ति प्रकृयामा आएपछिको अवस्थालाई समेटेर पाठकका सामु पस्किएकी छन् खिमाले ।

पहिलो ‘कालिकाटार चौकी आक्रमण’ नामक संस्मरणमा जनमुक्ति सेनाकी बुन्दि मगरले चौकीका प्रहरीलाई नै आफ्नो झुटो प्रेमजालमा पारेर चौकीभित्रै रात बिताउन पुगेको र जुत्ता गनेर पुलिस संख्या पत्ता लगाउने कुरा पढ्दा अचम्म लाग्छ । सुन्दरताको आडमा प्रहरीलाई मायाजालमा फसाएर पछि उनैसहितको लडाकु समुहले चौकी लुटेको संस्मरण यसमा उल्लेख छ । प्रेमको नाटक गरेर दुश्मनको दिमागमा पड्किन पुग्ने योद्धा र नाटकका रचयिताका बारेमा पढ्दै जाँदा आफ्नो अस्मितासहित सुरक्षित नराखी युद्धमा होमिएका बुन्दीहरुले अहिले के पाए त भन्ने प्रश्न जो कोहीको मनमा उठ्न सक्छ ।

हुन त त्योबेलाका भुमिगत माओवादीहरुको एउटै आवाज पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सुनिन्थ्यो । हामी नेपालआमाको जुनी फेरेर मात्र विश्राम लिनेछौँ । त्यसपछि सबैले समान अवस्थामा बाँच्न पाउने छन् । समाजमा देखिएका कुरिती, कुसंस्कार निर्मुल पार्ने छौँ । तारा कुमाल यी नै सोच बोकेर उभिएकी माओवादी नेता थिइन् उनले पहिलोपल्ट महिला भएर जेलबाट भाग्न सफल भएकी थिइन् । दोस्रोपल्ट भैरहवामा माइती नेपालले पकडिएको बेलामा गुडिरहेको ट्रकमा चढेर त्यसबाट पनि हामफालेर चर्पीमा लुकेर भाग्न सफल भएकी थिइन् । खिमाले त जेलबाट भाग्ने पहिलो महिला बन्दिको रुपमा तारा कुमालको कथा लेखिन् तर त्यस्ता घटनाहरू माओवादीमा धेरै भएका छन् ।

पुस्तक पढदै जाँदा फेरि पनि समयलाई दाँज्न पुग्दछ मेरो मन । तारा जस्ता योध्दाहरूको समर्पणलाई अहिलेका टाउकेहरुले सम्बोधन सम्म पनि गर्न चाहेको देखिंदैन । धेरै ताराहरुको खोजी गर्ने मेरो मनमा उत्सुकता जागेको छ, अनि सोध्न मन छ- के पायौ तिमीले ज्यान हातमा लिएर द्वन्दमा लागेकोमा ?

खिमाको संस्मरणमा सबै नारी पात्रहरुलाई नै समेटेकी छन् । उनको यो संस्मरण आफू माओवादी भुमिगत भएको बेलाको भएकोले पुरै पुस्तकमा माओवादी पक्षबाट आफ्नो संस्मरणको बिस्कुन फिँजाउन सफल भएकी छन् खिमा । उनका भनाइहरुमा कतिपय ठाँउमा हो त भन्न सक्ने पाठकलाई बनाउन पनि उनी सफल भएकी छन् । ‘महिलालाई सेनामा ल्याएर महिलाले जे पनि गर्न सक्छन् भन्ने प्रमाणित गर्ने त माओवादी नै हो ।’ खिमाको यो भनाइमा असहमत हुनै सकिँदैन ।

मर्छु कि मार्छु भनेर लागेको लडाइँमा जे पनि हुन सक्दथ्यो । पुरुषहरुले सुरुङ खनेर जेलबाट बाहिरिएका कथा त बीपीका कथामा पनि पाएकै हो तर महिलाले गोरखा जेलबाट सुरुङ खनेर निस्किएको कथाले पाठकलाई ओहो भन्न बाध्य बनाउँछ । सुरुङको माटो फ्याक्न फूलबारी बनाएको, जेलको बारीमा तरकारी रोपेको कुरा पढ्दा महिलाको साहसलाई सलाम गर्न मन लाग्दछ । माओवादी जनयुद्वले धेरै नकारात्मक कुरा बाहिर ल्याएपनि आम महिलामा आत्मबल भने बढाएकै हो ।

लेखककी साथी, आन्दोलनकी दिदी सुमित्रा प्रचण्डपथमा हिँडेकी पुर्णकालिन माओवादी कार्यकर्ता हुन्, उनले दाजु गुमाइन्, भाइ पनि पछि मारिए, उनलाई पनि हिरासतमै राखेको बेला विभत्स हत्या गरिएको कुरा पुस्तकमा उल्लेख छ । दुईवर्षे छोरी बाबुको जिम्मामा थिइन् पछि सुमित्राका श्रीमानलाई पनि मारेपछि ती बच्ची कोसित होलिन् ? उनको शिक्षादीक्षा के हुँदैछ । एउटै परिवारका चार जना प्रचण्डपथलाई अँगालो मार्दै युद्वमा होमिएपछि प्रचण्डलगायत नेताहरुले त्यो परिवारतिर फर्केर पनि नहेरेकोमा दुखेसो पोखेकी छन् स्वयं लेखकले पनि ।

देशमा द्वन्द्व चर्किएको बेला थियो । मिडियाहरुमा आएका समाचार मात्र सर्वसाधारण जनताको कानसम्म पुग्दथे । घटना कति बाहिर आउँथे कति हराउँथे । तर त्यो बेला माओवादी बनेर जंगल पसेकाहरूको दिनचर्या कस्तो थियो त भनेर एक माओवादी योद्धाले नै लेखेको कितावले पाठक जो राजनीतिमा अलि सचेत हुन चाहन्छ उसलाई भने तान्न सफल भएको छ पुस्तक । आफ्नै जीवन पनि कसरि तोडियो मोडियो भनेर लेख्न सक्नु खिमाको कलम र उनको हातलाई चुम्न मन लाग्दछ ।

तीनपल्ट राम्ररी मन खोलेर कुरा समेत गर्न नपाएको केटासित विवाह त्यो पनि पार्टिले चाहे अनुसारबाट । जिन्दगीको एउटा सपना हुन्छ सुहागरातको तर सानो गाउँमा पाल टाँगेर गरिएको विवाहमा
हावाहुन्डरीले पाल उडायो । बेहुला कता बेहुली दिदीको सारीमा गुटमुटिन पुगेर दिदीबहिनी त्यै सारीमा बेरिएर रात काटेको घटना उफ… कस्तो विडम्बना भन्न मन लाग्दछ । विवाह गरेको दस महिनामा एक्काइस दिन मात्र श्रीमानसित बस्न पाएकी खिमाले श्रीमानलाई टुक्रा-टुक्रा पारेर काटी मारिएको कथा कसरी लेख्न सकिन् होला ? त्यही २१ दिनमा छोरीको चाहना राखेका श्रीमानले अरुको छोरीलाई छोरी भनेको भरमा आफू त्यही छोरी खोज्न पुगेको कथाले मर्माहत बनाउँछ पाठकलाई । श्रीमानको सालिकअगाडि पुगेर फोटो खिच्नु त्यो चाहना र त्यो आत्मबललाई सलाम । त्यति हुँदाहुँदै पनि उनलाई श्रीमानको परिवारले नस्विकार्नाले कानुनको ढोका ढकढकाउन पुग्नु कस्तो बिडम्बना ! एकातिर यो पारिवारिक समस्या झेलिरहेकी खिमालाई अर्कोतिर पुरुषका गिद्धेआँखाले दिएको दुःखलाई पढदा उनले ती पुरुषको नामै लिएर समाजमा उभ्याइदिएको देख्दा ‘स्याबास खीमा’ भन्न मन लागेर आयो ।

‘युद्वका अविष्मरणीय पात्रहरू’ नामक संस्मरणमा खिमाले सिन्धुपाल्चोकको कुभिन्डेमा महिलाले गरेको प्रतिकार, रुकुमकी धनमाया श्रेष्ठ जो जनयुद्वकी माओवादी पक्षकी पहिलो महिला शहिद, रोल्पाकी कुमारी बुढाराना, दोलखा जुकुकी देवी खड्काका भुमिका प्रस्तुत गरेकी छन् ।

‘युद्वमा भेटिएकी आमा’ – मेजर्नी आमा जो क्यान्सर पीडित हुन्, किमो लिइरहेकी छन् उनी पनि युद्वमा माओवादी कार्यकर्ता भएर उभिएकी छन् । उनमा त्यो समर्पण भर्न सक्ने नेताहरु जसलाई उनले डोकोमा खाना ओसारेर खुवाइन् के उनीहरुले मेजर्नी आमालाई अहिले सम्झिएका होलान् त ? खिमा र उनको साथी शहीद परिवारलाई भेट्न जाँदा बाबुआमा गुमाएका दुइ छोरी र छोरा बुहारी गुमाएकी बुढी आमाको कथाले मन कुँडिन्छ ।

जनयुद्वको प्रमाणपत्र दिउँला भनेर आश्वासन दिएकाले नै सेना समायोजन गर्दा अयोग्य भनेर शुरुमा १५ हजार दिएर बिदा दिए । खिमा यसैमा आफ्नो र साथीहरुको अनुभव थप्दै भन्छिन्– ‘महिलाका निम्ति घरबाट निस्कन जति कठिन थियो, त्यो भन्दा सयौ गुणा जटिल सामाजिक रुपमा पुनर्स्थापित हुनमा थियो । तर नेताहरुले यो बुझेनन् । यसले गर्दा पीडित लडाकुहरू कति खाडीमा पुगे भने कति डिप्रेसनको शिकार हुन पुगेका छन् । तर यस्तै अयोग्य भनेर छानिएकी भोजपुर दुम्माकी मीरा राईले खेलकुदमा लागेर विश्वमा पहिचान बनाइन् र देखाइदिइन् मानिस असक्षम कोही पनि हुँदैन ।’

राजनीतिक रुपमा विद्रोही नेताहरु सधैं केन्द्रमा रहे पनि रगत बगाएका हजारौँ परिवारको समस्या जहाँको त्यहीँ रहेको तितो अनुभूति लेखककी साथी भगवतीसँग छ ।

जनयुद्धका अन्तिम चरणका दिनहरुमा पार्टीमा पनि निरासा छाइसकेको स्वयं खिमाकै लेखाइले दर्साएको छ । खिमा स्वयं आफ्नो अनुभवमा लेख्दछिन् – संचारमाध्यमबाट प्रसारण गरिने दिनदिनै हत्याहिंसाको खबरले कानको जाली फुटेजस्तो महशुस हुने गर्दथ्यो । डरत्रास पनि त्यतिकै थियो । जीवन र मृत्युको कुनै ठेगान थिएन । संगै खाएर छुट्टिएको साथी सधैंका निम्ति छुट्टिन्थ्यो ।

‘२०६१ सालको अन्त्यतिर आइपुग्दा पार्टीभित्र अनौठो खालको अराजकता मौलाएको थियो । एउटाको मृत्युमा अर्कोले जीवन देख्ने अचम्मको प्रवृत्ति बन्दै थियो ।’ खिमाको यो एउटा सानो वाक्यले त्यो बेलाको यथार्थ वास्तविकता झल्काएको छ । उनी अगाडि लेख्दछिन्- प्रचण्ड र बाबुरामको दुई धारमा पार्टी विभाजित थियो । संस्थापन पक्षसित कमजोर भट्टराई पक्ष निकै त्रसित बनेको थियो । एकातिर सेनाले गरेका अपरेशन र फौजी गतिविधीले तिब्रता पाइरहेको थियो भने अर्को तिर भुमिगत पार्टी आन्तरिक कलहमा राम्रोसित फसेको कुरा लेखकले नै उल्लेख गरेकी छन् । केही गर्छु या मर्छु भनेर पुर्णकालिन लडाकु बनेर भुमिगत बनेकी लेखक नै यो समयमा राजनीतिबाट नै विश्राम लिन खोजेको मनस्थितिमा पुग्नुले भूमिगत माओवादीको त्यो बेलाको अवस्था कति फितलो भै सकेको थियो भन्ने झल्काउछ । २०६५ सालमा राजनैतिक जीवनलाई बिट मारेर शिक्षार्जन गर्न लागेकी लेखक नै भन्छिन्, ‘पहिले बुजुर्वा शिक्षा होइन जनवादी शिक्षा लिनुपर्छ भन्ने भुत चढेको थियो मेरो दिमागमा । तर पछि पार्टी शान्ति प्रकृयामा आउनासाथ पढेलेखेका मान्छेहरु खोजेर राजनैतिक नियुक्ति दिने गरेको घटनाले नेताहरुले हामीलाई भन्ने गरेको जनवादी शिक्षा त आन्दोलनमा होम्ने एउटा नारा रहेछ भनेर बुझ्न हामीलाई कुनै कठिनाई भएन ।’ उनी भन्छिन् – ‘पार्टी वर्ग पक्षधरताबाट पछाडि हट्दै थियो । नेताहरुको जीवन शैलीमा परिवर्तन आउंदै थियो भने पार्टी उद्योगी, व्यापारी र हुनेखानेको पोल्टामा पर्दै थियो ।’ किताब बोकेर क्याम्पस छिर्दा आत्मग्लानी भएको महसुस गरेकी छन् लेखकले ।

समग्रमा पुस्तक माओवादी योद्धाको कलम मात्र भए पनि त्यो पक्षको महिलाको धेरै कुरा बताउन लेखक सफल भएकी छन् । पुस्तक संस्मरण विधामा लेखिएको भएता पनि यो साहित्यिक पुस्तकभन्दा पत्रकारको टिपोट हो कि जस्तो देखिन्छ । साहित्यिक शब्द चयनमा खिमा पछाडि परेकी छन् । खिमाको लेखाई उनले उजागर गरेका शब्दशब्दहरु हेर्दा एक पाठकको हैसियतले अन्त्यमा भन्नै मन लाग्यो – क्याबात् खिमा !!!