प्रहरीमा ३६ सय दरबन्दी थप

प्रहरीमा ३६ सय दरबन्दी थप


सरकारले नेपाल प्रहरीको दरबन्दी थप गर्ने निर्णय गरेको छ । सरकारले ३ हजार ५ सय ९६ प्रहरीको दरबन्दी थप गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै प्रहरीमा दरबन्दी थपिएको हो ।

थप गरिएको दरबन्दीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ३, प्रहरी उपरीक्षक (एसपी) ४, प्रहरी नायब उपरीक्षक (डीएसपी) २१, प्रहरी निरीक्षक (इन्स्पेक्टर) ४७, प्रहरी नायब निरीक्षक (सई) ८६, प्रहरी सहायक निरीक्षक (असई) २९७, प्रहरी हवल्दार ६८३, प्रहरी जवान २२१६ र प्रहरी कार्यालय सहायक २३९ जना रहेको छ ।

थप गरिएको दरबन्दी जनपद र प्राविधिक दुवैतर्फ गरेर हो । जसमा प्राविधिकतर्फ १ सय २९ जनाको दरबन्दी थपिएको छ । एसएसपी १, एसपी २, डीएसपी १२, इन्स्पेक्टर २० लगायत गरी १२९ जनाको दरबन्दी थपिएको हो ।

थप गरिएको दरबन्दी भर्ना र बढुवा प्रक्रियाबाट पदपूर्ति गरिने प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलको भनाइ छ । अहिले प्रहरीमा जनपद र प्राविधिक गरी ७५ हजार ९ सय २७ को दरबन्दी रहेकोमा करिब ४ हजारको अझै पदपूर्ति भएको छैन ।