राजनीतिक हस्तक्षेप बढेको भन्दै उपेन्द्र महतोद्वारा एनआरएनए सम्मेलन बहिष्कार

राजनीतिक हस्तक्षेप बढेको भन्दै उपेन्द्र महतोद्वारा एनआरएनए सम्मेलन बहिष्कार


गैरआवासीय नेपाली संघ (एनआरएनए) को काठमाडौंमा मंगलबार शुरु भएको नवौँ विश्व सम्मेलन संघका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक उपेन्द्र महतोले बहिष्कार गरेका छन् । संघको स्थापनाको उद्देश्यविपरीत संघमा राजनीतिक ध्रुवीकरण बढेको भन्दै महतोले सम्मेलन बहिष्कार गरेको बताएका छन् ।

संघ स्थापना हुँदा विश्वभर छरिएर रहेका नेपालीलाई उनीहरूको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्य रहेको थियो । त्यसैले संघलाई राजनीतिक संगठनजस्तो बनाउन नहुने उनको भनाइ छ । ‘सबै क्षेत्रमा राजनीतिक हस्तक्षेप रहेको छ, एनआरएनए राजनीतिबाट पूर्ण रूपमा मुक्त हुनुपर्छ भन्ने मेरो मान्यता हो,’ उनी भन्छन्, ‘कम्तीमा एनआरएनएको गर्विलो इतिहासमा दाग लगाउने काम कसैबाट हुनुहुँदैन ।’

एनआरएनएको नवौँ विश्व सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले आज (मंगलबार) उदघाटन गरेकी हुन् ।