प्रचण्डकै क्षेत्रमा प्रचण्ड प्रतिकार-निरन्तर अधिकारी

प्रचण्डकै क्षेत्रमा प्रचण्ड प्रतिकार-निरन्तर अधिकारी


(जनता माओवादीविरुद्ध जुरुक्कै)
जनताको बलमा राज्यसत्ता कब्जा गर्ने घोषणा गर्दै आएको माओवादीविरुद्ध जनता स्वस्फुर्तरूपले सडकमा उत्रिएका छन् । उनीहरूले माओवादीले पिउने पानी प्रयोग गरेको आशङ्कामा पानीका ट्याङ्करहरूको आवागमनमा समेत रोक लगाएका छन् । ‘प्रचण्ड चोर देश छोड, माओवादी मुर्दावाद, सम्पूर्ण जनता एक हौँ’ जस्ता नारा लगाउँदै सडकमा हजारौँ मानिस उत्रिँदा वरिपरि रहेका माओवादीहरू ज्यान जोगाउन भागेका थिए । यसरी माओवादीविरुद्ध चर्का नारा लगाउँदै प्रदर्शनमा उत्रनेहरूमध्ये सबैभन्दा प्रभावकारी थालनी माओवादी अध्यक्ष प्रचण्डकै निर्वाचन क्षेत्र (काठमाडौं-१०) को सतुङ्गल मातातीर्थबाट भएको छ ।
मंगलबार माओवादी ज्यादतिका विरुद्ध त्यहाँका जनताले साहसिक प्रदर्शन गरे । प्रदर्शनकारीहरूलाई आक्रमण गर्न कलङ्कीबाट सतुङ्गलतर्फ गएका माओवादी लडाकुहरूलाई पनि जनताले खेतैखेत भगाएका थिए । मातातीर्थ पानीको राम्रो स्रोत मानिन्छ र त्यहाँबाट प्रतिदिन सयौँ ट्याङ्कर पानी राजधानीमा आपूर्ति हुने गर्छ । आमहडतालको यो समयमा ट्याङ्करमा ल्याइएको पानी माओवादी कार्यकर्ताहरूले उपयोग गरेको ठानी स्थानीय बासिन्दाले पानीको आपूर्तिमा रोक लगाएका छन् । उनीहरूले आफ्नो क्षेत्रलाई माओवादीनिषेध क्षेत्र घोषणा पनि गरेका छन् । अब सतुङ्गल-मातातीर्थ क्षेत्रमा माओवादीले कुनै गतिविधि गर्न पाउनेछैन ।
माओवादीले सडकबाट सत्ता कब्जाका लागि भन्दै विभिन्न आश्वासन र प्रलोभनमा काठमाडौं उपत्यका ल्याएका कार्यकर्ता र जनसमूह धमाधम सरुवा रोगबाट पीडित हुन थालेपछि तथा बसोबास र खानपिनको प्रबन्ध कमजोर भएपछि आन्दोलनकारीहरूबीच नै निराशा बढ्न थालेको छ ।
मजदुर दिवसका दिन १८ वैशाखमा उत्साहका साथ काठमाडौं छिरेका माओवादी कार्यकर्ताहरू आन्दोलनको भविष्य अन्योलग्रस्त देखिएपछि र सरकारले राजीनामा नदिने स्पष्ट भएपछि नेतृत्वको तीव्र आलोचना गर्दै लुकिछिपी बाहिरिन थालेका छन् । प्रहरी स्रोतका अनुसार बाहिरिने माओवादीहरूको सङ्ख्या क्रमश: बढिरहेको छ । काठमाडौं उपत्यकालगायत मुलुकभरका सहरहरूमा आन्दोलनकारीहरूको सङ्ख्या क्रमश: दैनिक रूपमा घटिरहेको छ भने नेताहरूले कार्यकर्ताको आलोचना खेप्नुपरेको छ ।
कार्यकर्ता बिरामी पर्न र उपत्यका छाडेर घर जान थालेपछि माओवादी नेतृत्वले हडताललाई आक्रामक र आफ्नो अनुकूलता हुनेगरी हिंस्रक बनाउनुपर्ने निष्कर्ष निकालेको छ । आन्दोलन हिंस्रक बन्दै गएमा हालै किर्गिस्तानमा भएको विद्रोहजस्तै नेपालमा पनि सडकबाट विद्रोहमार्फत सत्ता कब्जा गर्न सकिने निष्कर्ष माओवादीले निकालेको छ । आन्दोलनमा भिडन्त भएमा आक्रोशित कार्यकर्ताको भीड बढ्ने र त्यसले माओवादीप्रति सहानुभूति जनाउने सोच माओवादीले राखे पनि उसलाई सत्ताको कुर्सीमा पुर्‍याउने उद्देश्यकै लागि कति दिन भोकप्यास सहेर बस्ने भन्नेमा माओवादीभित्र अन्योल छाएको छ ।
क्रमश: हडताललाई हिंस्रक बनाउने योजनाअनुसार माओवादी कार्यकर्ताले हिजो मंगलबार राजधानी उपत्यकामा साङ्ले जुलुस निकालेर रातो चक्रपथ घेराउ अभियान सञ्चालन गरे । एक घन्टा अवधिमा चक्रपथ घेराउका लागि माओवादीका शीर्षस्थ नेताहरू सहभागी भएका थिए । हडतालको तेस्रो दिन मंगलबार पहिलो र दोस्रो दिनका तुलनामा काठमाडौं तनावपूर्ण बन्न पुग्यो भने काठमाडौं र बाहिरबाट जनस्तरमा प्रतिकारसमेत हुन थालेका छन् ।
यसपटकको सङ्घर्षमा गत पुसको पहिलो साता तीन दिन सिंहदरबार घेराउ गर्दाको जत्ति पनि उत्साह नभएको कार्यकर्ताहरूले गुनासो गर्न थालेका छन् । कार्यकर्ताहरू चिउरा र तरकारीको भरमा दिनभर टन्टलापुर घाममा खटिनुपर्ने तर नेताहरू गाडीमा चढेर भाषण गर्ने र राजसी शैलीमा जाने स्थिति देखेका कार्यकर्ताहरू निराश बन्न थालेका छन् ।
माओवादीका एक स्थायी समिति सदस्यले हालसम्म आन्दोलन थाइल्यान्डमा भएको प्रदर्शनको मोडलमा गएको तर उपलब्धि हुने सम्भावना नभएको प्रतिक्रिया दिए । उनले भने, ‘अब पनि प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा नदिएमा आन्दोलन किर्गिस्तानको जस्तै गरी सत्ता कब्जाको बाटोमा लैजानुपर्ने छ, नत्रभने नाचगान मात्रै कति दिन हेरिरहन्छन् बाहिरबाट आएका जनता ?’
धादिङ, रसुवा, नुवाकोट, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, रामेछापबाट ल्याइएका कार्यकर्ता र शुभेच्छुकहरू पैदल हिँडेर धमाधम र्फकन थालेको प्रहरी स्रोतले जनाएको छ । अधिकांश कार्यकर्ता नेतृत्वप्रति आक्रोश पोख्दै बाहिरिएको बुझिएको छ ।
आमहडताल लम्बिँदै गएका बेला माओवादीले उपत्यकामा मुलुकभरबाट जबर्जस्ती ल्याइएको खुलासा हुन थालेको छ । वैशाख १८ गतेपछि अनिश्चितकालीन हडताल गर्ने विषयमा गाउँमा जानकारी नै नदिई ल्याइएकाहरूले राजनीति नै नबुझेको र आफूहरूलाई फसाइएको बताएका छन् । दोलखाका केही युवाले नयाँ बानेश्वरस्थित प्रहरी कार्यालयमा गएर घर फर्काइदिनका लागि सहयोग गरिदिन अनुरोध गरेका छन् । सर्वसाधारण पैदल हिँडेर र खानपानबिना नै घर फर्किन थालेका छन् । माओवादी स्रोतका अनुसार सहरमा अहिले माओवादीका सक्रिय र समर्पित या पैसावाल कार्यकर्ता मात्रै बाँकी छन् । विगतमा माओवादीले जे मागे पनि पुर्‍याइदिएका सत्तारुढ काङ्ग्रेस र एमाले माओवादीसँग यसपटक नझुक्ने अडानमा रहेपछि आमहडताल असफल जस्तै बन्न पुगेको छ । आमहडताल राजनीतिक सङ्घर्षको सबैभन्दा कडा स्वरूप मानिन्छ, तर माओवादीले आमहडताल नै विफल भइसकेपछि के गर्ने ? माओवादी नेतृत्व यो यक्ष प्रश्नको उत्तर दिन सक्ने अवस्थामा छैन ।
राजधानीमा कार्यकर्ताहरूको सङ्ख्या घट्दै गएका बेला तोडफोडका घटनाहरूमा वृद्धि भएका छन् । नेतृत्वको प्रतिबद्धताविपरीत कार्यकर्ताले दूध बोक्ने गाडी, डेरी तथा सर्वसाधारणमाथि जबर्जस्ती आक्रमण गर्न थालेका छन् । नेताहरू नाचगानमा व्यस्त भए पनि कार्यकर्ताहरूले जबर्जस्ती गर्न थालेपछि जनआक्रोश बढ्दै गएको छ ।
हिजो मंगलबार काठमाडौंको नैकाप र पोखरामा स्थानीय बासिन्दाहरूले माओवादीको सशक्त प्रतिकार गरेका छन् । अस्ति सोमबार धनकुटा, बारा, मुस्ताङमा माओवादीविरुद्ध प्रतिकार गरी बजार तथा विद्यालय खुलाइएको छ । माओवादी कार्यकर्ताले नेपाली सेना र नेपाल प्रहरीमा कार्यरत व्यक्तिहरूलाई समातेर प्रहरीलाई बुझाउँदै बेइज्जति गरेका छन् । त्यसबारे नेपाली सेनाले पनि कडा प्रतिक्रिया जनाउँदै आइन्दा त्यस्तो नगर्न चेतावनी दिएको छ । सेनाको चेतावनीपछि माओवादी कार्यकर्ताले सैनिकहरूलाई हात हाल्न सकेका छैनन् ।
माओवादीले सरकारमा रहेका बेला आमहडताल र बन्दको निधेष गर्ने निर्णय गरेको र पर्यटन वर्ष २०११ का लागि बन्द नगर्ने सहमतिमा प्रचण्ड स्वयम्ले हस्ताक्षर गरेको भए पनि त्यसको माओवादीले उल्लङ्घन गर्दै आएको छ । आफैंलो हस्ताक्षर गरेको विस्तृत शान्ति-सम्झौताको समेत उल्लङ्घन गर्दै आएका माओवादीले पटक-पटकका सहमति पालना नगरेपछि जनतामाझ अलोकप्रिय हुँदै गएका छन् । जनप्रतिरोध यसैगरी बढ्यो भने माओवादीहरू सहर तथा गाउँ-गाउँबाट खेदिएर पुन: रोल्पा-रुकुममै पुग्नुपर्ने स्थिति बनेमा आर्श्चर्य नमाने हुने भएको छ ।’विगतमा युद्ध लडेका र ‘जनमुक्ति’ सेनामा रहेका लडाकु साथीहरू सोमबार र मंगलबार काठमाडौं भित्रिनुभएको छ, अरू साथीहरू आउने क्रम जारी छ,’ आन्दोलनको तयारीमा रहेका माओवादीका एक केन्द्रीयस्तरका नेताले मंगलबार घटना र विचारसँग कुराकानी गर्दै भनेका छन् ।
मे १ का दिनको जनप्रदर्शनलाई नै लक्षित गरी देशभरका राज्य समितिस्तरका वाईसीएलका सक्रिय कार्यकर्तालाई देशभरका लडाकु शिविरहरूमा फौजी तालिम दिइएको थियो । तालिम लिन जानेहरूमा विगतमा युद्ध लड्न नगएका तर हाल वाईसीएलमा रहेकाहरू रहेका छन् । तालिम लिएर फर्केकाहरूले काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका वाईसीएलका ब्यारेक र आसपासमा तालिम दिएको बुझिएको छ । स्रोतले भन्यो, ‘शिविरहरूमा हतियार चलाउनबाहेक अरू सबै सिकाइएको छ ।’
माओवादी स्रोतहरूका अनुसार मे १ को प्रदर्शनमा रबरको गोली चलेमा माओवादीका पूर्वलडाकु र वाईसीएलका लडाकुहरूले तुरुन्तै नियन्त्रणमा लिने भएका छन् । ‘नेपाल प्रहरी र जनपद प्रहरीसम्मले कसरी गोली हान्छन्, त्यसविरुद्ध कसरी प्रतिकार गर्ने र उनीहरूलाई गिरफ्तार गर्ने भन्ने सबै उपाय सिकाइएको छ,’ वाईसीएलका उपत्यकास्थित एक लडाकुले घटना र विचारलाई भने ।
माओवादीले देशभरबाट उपत्यकामा कार्यकर्ता भित्र्याइरहेको छ । नेवा: राज्य समितिका एक सदस्यले दिएको जानकारीअनुसार करिब दुई लाख कार्यकर्ता र समर्थित जनतालाई बसोबासको व्यवस्थासहित काठमाडौंमा भित्र्याइएको छ । भोलि बिहीबारसम्म माओवादीले उपत्यकाबाहिरबाट कार्यकर्तालाई भित्र्याइसक्नेछ । कार्यकर्ताहरूका लागि माओवादीले खाद्य गोदाम नै बनाइसकेको छ । त्यसको केन्द्र बागबजार रहेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार आन्दोलनमा कार्यकर्ता परिचालनकै लागि माओवादीले उपत्यकाबाट मात्रै कम्तीमा दस करोड रकम चन्दा सङ्कलन गरेको छ । बिहीबार उपत्यकाका सक्रिय कार्यकर्तालाई माओवादीका वरिष्ठ नेताहरूले आन्दोलनमा जानुअघिको अन्तिम प्रशिक्षण दिने कार्यक्रम रहेको छ । समय बिहान मिलाइएको भए पनि स्थान सोही दिन बिहान तोकिने बुझिएको छ ।
गत वर्ष पनि मजदुर दिवसको दिन उपत्यकास्तरीय कार्यक्रम खुल्ला मञ्चमा आयोजना गरिएको थियो, जहाँ प्रचण्ड सहभागी हुनुभएको थिएन । यसपालि त्यस दिन उपत्यकामा लामो जुलुस र प्रदर्शनहरू गरिने कार्यक्रम तय भएको छ । अध्यक्ष प्रचण्ड पनि कुनै एक समय सहभागी हुने जनप्रदर्शनपछि भृकुटीमण्डप वा खुल्लामञ्चमध्ये एक स्थानमा उहाँले सम्बोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
जनप्रदर्शन र आमहड्ताल हुने बेला बिहान ‘ड्राइ फुड’ र बेलुका भात खुवाएर बाहिरबाट ल्याइएका कार्यकर्ता र जनसमूहलाई सडकमा उतार्ने तयारी भइरहेको छ ।