बढी भाडा फिर्ता गराउन सोलुखुम्बुका सीडीओ र प्रहरी प्रमुख नै सडकमा



सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफैँ सडकमा आएर सवारी जाँचको अनुगमन गरेका छन् । चाडपर्वमा विभिन्न बहाना पारी यात्रुलाई ठगेको सूचनाका आधारमा ट्राफिक प्रहरीले चेकिङलाई समेत कडाइ गर्दै आएको छ ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरिया आफैँ सडकमा आएर नागरिकको गुनासो सुनेको यो पहिलोपटक हो । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त टोलीले बढी भाडा लिने सवारीलाई कारबाही गर्दै यात्रुको रकम फिर्ता गराइरहेको छ । बारम्बार सचेत गराउँदासमेत विभिन्न बहाना पार्दै यात्रुलाई बढी भाडा लिए पनि कतिपय यात्रु स्वयंले ढाँटेर दोषीलाई उन्मुक्ति दिने काम गरेको पाइएको प्रमुख जिल्ला अधिकारी खनालले बताए । उनले भने, ‘ट्राफिक प्रहरीको सक्रियता सन्तोषजनक छ, तैपनि स्थलगत गुनासो सुन्ने र आगामी योजना निर्माण गर्ने गरी राति नै सडकमा गयौँ, हेऱ्यौं धेरै कुरा बुझ्यौँ ।’

४४ जना यात्रुको भाडा फिर्ता

आइतबार ओखलढुंगाबाट सोलुखुम्बु भित्रिएको सवारीसाधानमा जाँच गर्दा सात यात्रुबाट रु. ५० का दरले बढी लिएको पाएपछि रकम फिर्ता गराइएको प्रहरी नायब उपरीक्षक चिमोरियाले जानकारी दिए । ओखलढुंगा सल्लेरीका लागि रु. ४५० भाडा कायम गरिएको छ ।

सोमबार पनि थुलुङ दूधकोसीको दिप्लीघाटबाट सल्लेरी आउने जिपले निर्धारण गरिएको भन्दा रु. ३०० बढी भाडा लएपछि फिर्ता गराइएको प्रहरीले जनाएको छ । २९ यात्रुको जनही रु. ३०० भाडा फिर्ता गरिएको ट्राफिक प्रहरी नारयणबहादुर बस्नेतले जानकारी दिए । दिप्लीघाटदेखि सल्लेरीसम्मको रु. ७०० भाडा निर्धारण गरिएको भए पनि यातायात व्यवसायीले रु. एक हजार लिँदै आएका छन् । यस्तै सोमबारै काठमाडौं जाने आठ यात्रुबाट बढी लिएको भाडा फिर्ता गराएको प्रहरीले जनाएको छ । सल्लेरी–काठमाडौं रु. एक हजार ६०० भाडा निर्धारण गरिएको भए पनि दुई जनाबाट रु. दुई हजार र अन्य ६ जनाबाट रु. एक हजार ८०० भाडा लिएको पाइएको ट्राफिक प्रहरी बस्नेतले जानकारी दिए ।

भाडा फिर्ता पाएपछि यात्रु हर्षित

बढी तिरिएको रकम फिर्ता पाएपछि यात्रु भने निकै खुसी भएका छन् । ‘प्रमुख जिल्ला अधिकारीसहितको टोलीले चेकिङ गर्दै थियो,’ पत्रकारसमेत रहेका जुबुका डाकमान राईले भने, ‘मलाई यो कार्य देखेर अत्यन्तै खुसी लाग्यो, यस्तो चेकिङ निरन्तर भयो भने अझै राम्रो हुन्छ ।’

कुनै सवारीसाधनले बढी भाडा लिएको खण्डमा १०० नम्बरमा फोन गरेर जानकारी दिन पनि प्रहरीले अनुरोध गरेको छ । अहिले पनि टिकट काउन्टरका कर्मचारीले गाडी अभाव तथा सिट नभएको भन्दै सल्लेरीदेखि काठमाडौंका लागि रु. दुई हजारसम्म लिँदै आएका छन् । पछिल्लोपटक जिल्ला प्रशासनमा यातायात व्यवसायीसहितको बैठकले सल्लेरी–काठमाडौं रु एक हजार ६ सय भाडा निर्धारण गरेको छ ।

व्यवसायीको मनोपोलीमा

सञ्चारकर्मीसमेत रहेका थुलुङ दूधकोसी गाउँपालिका जुबुका धनबल राईले मंगलबार काठमाडौं जानका लागि काउन्टरमा बुझ्दा एक हजार ८ सय भाडा भनेपछि केही विवादसम्म भएको बताए । ‘हामीलाई त ठग्न खोज्नेले झनै अरूलाई त के गर्लान् ?’ उनले भने, ‘तर, यहाँको प्रहरी प्रशासनको सक्रियता राम्रो रहेछ, प्रहरीलाई हाम्रो वास्तविकता भन्यौँ भने त न्याय पाइने रहेछ ।’

‘मंगलबार बिहान काठमाडौं जाने गरी गेटवे यातायात प्रालिमा टिकट लियौँ,’ यात्रु डाकमान राईले भने, ‘टिकटमा रु. एक हजार ६ सय लेखे, हामीले पनि निर्धारित भाडा त्यति नै दियौँ, तर साँझ फोन गरेर लु नसकिने भयो त्यतिमा भन्दै थियो, हामीले हेरौँला नि भनेको त बिहान त छाडेर पो गएछ ।’

यातायात व्यवसायीको लापरबाही थाहा पाएपछि ट्राफिक प्रहरीले जिल्लाको नाका पत्तालेमा उक्त यातायातको सम्पूर्ण जिपलाई रोकेको थियो । काउन्टरका कर्मचारीलाई दुईजना टिकट लिएका यात्रु काठमाडौं पठाउने व्यवस्था नभएसम्म जिप नछाड्ने प्रहरीको निर्देशनपछि तत्काल अर्को गाडीको व्यवस्था भएको ट्राफिक प्रहरी प्रमुख सञ्जीव चौधरीले जानकारी दिए ।

प्रहरीकै अगाडि भाडा बुझाउनुपर्ने

टिकट नदिने र प्रहरीको चेकिङ सकिएपछि मात्रै भाडा लिन थालेपछि प्रहरीकै रोहवरमा भाडा तिर्न लगाउने र गाडी छुटाउनेसम्मको काम प्रहरीले गर्दै आएको छ । योे अवधिमा १०० भन्दा बढी सवारी कारबाहीमा परेको प्रहरीले जनाएको छ ।

अहिले अस्थायी जिल्ला ट्राफिक प्रहरी पोस्ट र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको संयुक्त टोलीले बिहान ४ बजेदेखि राति १०ः३० बजेसम्म नियमित ड्युटी गर्ने गरेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए । ‘बेला–बेलामा रातको कुनै पर्वाह नगरी हामी पनि बाहिर निस्केर हिँडिरहेका हुन्छौँ,’ उनले भने, ‘कसैले ठगिएको महसुस भए प्रहरीलाई खबर गर्न सकिन्छ ।’

रासस

प्रतिक्रिया