आँधीका कारण मृत्यु हुने र घाइतेको संख्या बढ्दै

आँधीका कारण मृत्यु हुने र घाइतेको संख्या बढ्दै


■ एस क्षेत्री, टोकियो (जापान)

जापानमा गत शनिबार र आइतबार आएको आँधीमा परि मर्नेहरुका साथै घाइतेको संख्या समेत बढ्दै गएको छ ।

सोमबार राती अबेरसम्ममा मृतकको संख्या ६० पुग्दा घाइते हुनेहरुको संख्या २०० नाघेको छ ।

फुकुसिमा केनमा मृतक संख्या क्रमिक रुपमा बढ्दै जान थालेपछि आँधीका कारण मर्नेहरुको संख्या उकालो लागेको हो ।

प्राप्त जानकारीअनुसार फुकुसिमा केनमा मात्रै अहिलेसम्म १६ जनाको मृत्‍यु भएको छ । मियाजाकी केनमा १०, खनागावा केनमा ५, तोचिकी र गुम्बा केनमा चार-चार जनाको मृत्‍यु भएको सम्बन्धित अधिकारीहरुले पुष्टि गरेका छन् ।

एनएचके टेलिभिजनले आफ्नो वेबसाइडमा उल्लेख गरेअनुसारबेपत्ताहरुको संख्या १५ रहेको छ । अहिलेसम्मको विवरणअनुसार साइतामा, सिजुओखा र इवातेकेनमा दुई-दुई जना र नगानो, इवाराकी, चिवाकेनमा एक-एक जनाको मृत्यु भएको छ ।

आँधीका कारण घाइते भएका २०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको क्योदो समाचार संस्थाले उल्लेख गरेको छ ।बेपत्ताहरुको खोजी कार्य पनि जारी रहेको समाचारमा उल्लेख छ ।

उद्दार कार्य जारी रहेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्न सक्ने अधीकारीहरुले बताएका छन् । प्रभावित क्षेत्रमा भइरहेको वर्षाका कारण उद्दार कार्यले गति लिन सकिरहेको छैन ।

यो वर्षको १९औं आँधीको रुपमा आएको ताईफुले मध्यजापानको राजधानी टोकियोसहित ११ वटा प्रिफेक्चरलाई नराम्ररी प्रभावित बनाएको छ ।

अहिलेसम्म जापानमा रहेका नेपालीहरु रहेको व्यापार, व्यवसाय, अध्ययन र दैनिकीमा असर पारेपनि मानवीय क्षतिको कुनै पनि विवरण प्राप्त नभएको जापानस्थित नेपाली राजदूतावासले जनाएको छ ।