कुलेखानी तेस्रोबाट विद्युत उत्पादन शुरु

कुलेखानी तेस्रोबाट विद्युत उत्पादन शुरु


निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आज (२७ असोज) बाट विद्युत उत्पादन परीक्षण शुरु गरेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारस्थित सो आयोजनाबाट १४ मेगावाट विद्युत् उत्पादन गरी काठमाडौंस्थित विद्युतको केन्द्रीय ग्रिडमा जोडिएको सो आयोजनाले जनाएको छ ।

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणले संयुक्त रुपमा चार अर्ब ६३ करोडको अनुदानमा करिव १२ वर्षअघि सो आयोजना निर्माणका लागि लिखित सम्झौता भएको थियो । उक्त आयोजनाबाट उत्पादित विद्युत् अब नियमित रुपमा उत्पादन भइरहने आयोजनाको दाबी छ ।

कुलेखानी तेस्रो आयोजनाको विद्युतलाई नियमित उत्पादन गर्नेतर्फ कुलेखानी आयोजना प्रथम र दोस्रो अयोजनाबाट निस्केको पानीबाट मात्र नियमित क्षमतानुसार विद्युत् उत्पादन हुने कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुवासकुमार मिश्र बताउँछन् ।

मिश्रका अनुसार आयोजनाको निर्माण अवधि विभिन्न कारणले लम्बिएर करिव १२ वर्षपछि मात्रै विद्युत् उत्पादन गर्ने प्रयास सफल भएको हो । कुलेखानी पहिलोबाट दोस्रो सञ्चालन हुने र दोस्रो आयोजना सञ्चालन भएपछि मात्रै तेस्रो आयोजनामा विद्युत् उत्पादन गर्न पानीको आपूर्ति पूरा हुने आयोजना प्रमुख मिश्रले जानकारी दिए ।

भैँसेस्थित कुलेखानीको दोस्रो आयोजनाबाट निस्केको पानीलाई भीमफेदी गाउँपालिका–१ सानुटारस्थित विद्युतगृहसम्ममा करिव चार हजार २०० मिटर भूमिगत सुरुङमार्गबाट पानी ल्याउने गरिएको सो आयोजनाले जनाएको छ ।

केही हप्ताअघिदेखि सानुटारस्थित विद्युतगृहमा चिनियाँ प्राविधिकले आवश्यक उपकरण जडान गरेपछि विद्युत् उत्पादन गर्न सफल भएको आयोजनाका प्राविधिकलाई उद्धृत गर्दै राससले जनाएको छ ।