महासंघका सदस्यले बिथोले करातेको बन्द प्रशिक्षण

महासंघका सदस्यले बिथोले करातेको बन्द प्रशिक्षण


■ श्रीविक्रम भण्डारी

नेपाल कराते महासंघका सदस्यद्वय ध्वजमान मोक्तान र रवि महर्जनले करातेको बन्द प्रशिक्षण बिथोलेका छन् । आज (२७ असोज, सोमबार) सातदोबाटोस्थित कराते हलमा प्रवेश गरेर मोक्तान र महर्जनले करातेको प्रशिक्षण बिथोलेका हुन् । उनीहरुले आफुलाई कराते महासंघको सदस्य भएको भन्दै प्रशिक्षण विथोलेको जानकारीमा आएको छ । अन्य महासंघका पदाधिकारीले मौनता साँधेको अवस्थामा मोक्तान र महर्जनले कसको इशारामा करातेको प्रशिक्षणमा व्यवधान उत्पन्न गरेका हुन्, त्यो चासो र चर्चाको विषय बनेको छ ।

यसरी प्रशिक्षण बिथोलेपछि करातेको प्रशिक्षण शुरु नहुँदै रोकिएको छ । प्रशिक्षण रोकिएपछि खेलाडीहरूमा निरासा छाएको छ भने करातेको विवाद पुनः चुलिएको छ । राष्ट्रिय खेलकुद परिषदले करातेको विवाद समाधान भएको घोषणा गर्दै महासंघको अध्यक्षमा शम्भु आचार्यको नियुक्ति गरे पनि करातेको विवाद ज्यूँ का त्यूँ रहेको यस घटनाले प्रष्ट पारेको छ ।

नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीको लागि असोज २७ गतेदेखि करातेको प्रशिक्षण सुरु भएको थियो । उक्त प्रशिक्षणको लागि राष्ट्रिय खेलकुद परिषदले सात जना करातेका प्रशिक्षकलाई योगता र अनुभवका आधारमा छनोट गरेको थियो ।

राखेपले छनोट गरेका ती सात जना प्रशिक्षकहरुमा गंगाराम महर्जन, वीरकृष्ण शाही, कुशल श्रेष्ठ, राजेश श्रेष्ठ, तारा गुरुङ दीपक श्रेष्ठ (सहायक मुख्य प्रशिक्षक), र मदन उपे्रति (मुख्य प्रशिक्षक) थिए । साथै राखेपले अर्को निर्णय नहुन्जेल व्यवस्थापन र प्रशिक्षक दुवैको जिम्मेवारी यि सातै प्रशिक्षकहरुलाई दिएको थियो ।

राखेपले असोज १३ गते कराते प्रशिक्षकको निर्णय गर्दै असोज १७ गते सबै प्रशिक्षकहरुलाई प्रशिक्षणको लागि पत्र दिएको थियो । करातेको प्रशिक्षण २४ गतेदेखि शुभारम्भ हुनुपर्नेमा बडादशैं र चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका कारण असोज २७ गते देखि मात्रै शुरु गरिएको थियो ।

२७ गते शुरु भएको प्रशिक्षण महासंघका सदस्य मोक्तान र महर्जनले बिथोलेपछि अब करातेको प्रशिक्षण कहिलेबाट शुरु हुन्छ त्यो अनिश्चित बनेको छ । यो घटनाको बारेमा कराते महासंघका पदाधिकारी पुरेन्द्रविक्रम लाखेसँग सम्पर्क गर्दा उनले यसको सम्पूर्ण दोष राखेपमाथि खन्याएका छन् ।

लाखेले महासंघले प्रशिक्षक छनोट गरेर राखेपमा पठाएको र राखेपले स्वीकृत समेत गरेर राष्ट्रिय टीम तयारी समितिमा समेत पठाएको जानकारी गराए । साथै महासंघको बोर्ड बैठक बसेर, म्याइन्युट लेखेर प्रशिक्षकहरुको नाम पठाएको दाबीसमेत लाखेले गरे ।

करातेमा प्रशिक्षक विवाद देखिएपछि राखेपले सहमति बनाएर प्रशिक्षकको छनोट गर्न महासंघलाई निर्देशन दिएको थियो । तर महासंघका पदाधिकारीलाई थाहै नदिई गोप्य तरिकाले प्रशिक्षकहरूको छनोट गरी स्वयं लाखेले राखेपका सदस्यसचिव रमेशकुमार सिलवाललाई हस्ताक्षर गराएको कराते महासंघका पदाधिकारीले जानकारी गराएका छन् ।

लाखेले गोप्य रुपमा प्रशिक्षकहरुको छनोट गरेर सदस्यसचिवको हस्ताक्षर गरेको महासंघका पदाधिकारीले चाल पाएपछि महासंघका महासचिव हरिशरण केसी र सहमहासचिव ओम प्रसाईलगायतका पदाधिकारीले सदस्यसचिव सिलवालसँग भेट गर्दै यो महासंघको निर्णय नभएको जानकारी गराएका थिए । त्यसपछि सदस्यसचिव सिलवालले आफुलाई लाखेले झुक्याएको भन्दै उक्त निर्णय फिर्ता लिदै दोश्रो निर्णय गरेका थिए । सो दोश्रो निर्णयअन्तर्गत सात जना प्रशिक्षकलाई योग्यता र अनुभवको आधारमा राखेपले प्रशिक्षणको जिम्मेवारी सुम्पेको थियो ।