१०बुँदे कार्ययोजनासहित कुल आचार्यले गरे उम्मेदवारी घोषणा

१०बुँदे कार्ययोजनासहित कुल आचार्यले गरे उम्मेदवारी घोषणा


गैरआवासीय नेपाली संघ (एनआरएनए)को यही अक्टोबरको १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन लागेको नवौं विश्व सम्मेलनको तयारी उत्कर्षमा छ । विश्वभरबाट गैरआवासीय नेपालीहरू काठमाडौंमा भेला भएका छन् । नयाँ नेतृत्वको लागि विभिन्न ओहदामा उम्मेदवारी घोषणाको लहर चलेको छ । यसै क्रममा अध्यक्षको प्रवल दाबेदार कुल आचार्यले दश बुँदे कार्ययोजनासहित औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी आचार्यले गैरआवासीय नेपाली संघमार्फत् गैरआवासीय नेपाली र नेपाललाई जोड्न र गैरआवासीय नेपालीको पूँजी तथा सीप नेपालको विकासमा लगाउन ‘समृद्ध नेपाल हाम्रै जीवनकालमा’ भन्ने नारा साकार गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तो छ आचार्यद्वारा जारी विज्ञप्तिको पूर्णपाठ –

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोबर महिनाको १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको नवौं विश्व सम्मेलनमा भाग लिन संसारका विभिन्न देशहरूबाट पाल्नुभएका सम्पूर्ण महानुभाव, शुभेच्छुक, शुभचिन्तक, पत्रकार, पर्यवेक्षक लगायत सम्पूर्ण नेपाली दाजुभाइ दिदी–बहिनीहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु ।

गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनअघि ८१ देशहरूमा सम्पन्न राष्ट्रिय समन्वय परिषदको नेतृत्वमा चुनिनुभएका सम्पूर्ण पदाधिकारी तथा प्रतिनिधि साथीहरूलाई हार्दिक बधाई एवम् सफलताको शुभकामना व्यक्त गर्दछु ।

गैरआवासीय नेपाली संघ बेलायत हुँदै गैरआवासीय नेपाली अभियानमा होमिएको १२ वर्षपछि म युरोप संयोजक हुँदै अहिले संघको केन्द्रीय उपाध्यक्षको रूपमा काम गरिहेको छु । गैरआवासीय नेपाली संघलाई सम्पूर्ण गैरआवासीय नेपालीहरूको साझा र अपनत्व महसुस हुने खालको संस्था निर्माण गर्न मैले आफ्ना उम्मेदवारी घोषणासँगै १०बुँदे कार्ययोजना सार्वजनिक गरेको छु । संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउन मैले आफ्नो स्पष्ट दृष्टिकोण र कार्ययोजना अघि सारेको छु ।

गैरआवासीय नेपाली संघमार्फत् गैरआवासीय नेपाली र नेपाललाई जोड्न र गैरआवासीय नेपालीको पूँजी र सीप नेपालको विकासमा लगाउन ‘समृद्ध नेपाल हाम्रै जीवनकालमा’ भन्ने नारा साकार गर्ने उद्देश्यले यो योजना अघि सारेको छु । आर्थिक मात्रै होइन संसारभर फैलिएका गैरआवासीय नेपालीहरूसँग रहेको स्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिका लागि बौद्धिक तथा आर्थिक लगानी भित्र्याउने योजना अघिसारेको छु ।

‘मर्यादित र व्यवस्थित वैदेशिक रोजगार देश निर्माणको आधार’ बनाउन ‘पसिना फण्ड’को परिकल्पना गरेको छु, जसमा वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन ६ बुँदे कार्ययोजना अघि बढाएको छु । अहिले नेपालको सबैभन्दा ठूलो चिन्ताको विषय सुरक्षित रोजगारी र कामदारको जीवनरक्षाको विषय हो । पसिना फण्ड नामक उक्त कोषमा जम्मा भएको रकम नेपालको हितमा साथै लगानीकर्तालाई पनि मुनाफा हुने आकर्षक लगानीमा लगाइनेछ । यसका साथै आगामी दुई वर्षभित्र वैदेशिक रोजगार राहत कोष दोब्बर गर्ने, वैदेशिक रोजगारीका क्रममा समस्या परेका नेपाली दाजुभाइ दिदीवहिनीहरूको समस्या बुझ्न एनआरएनए हटलाइनको व्यवस्था गर्ने, सीप विकास केन्द्रको स्थापना गर्ने, लगायतका कार्ययोजना अघि सारेको छु ।

हामीले सुरुदेखि नै गैरआवासीय नेपालीलाई नागरिकताको विषय उठाउँदै आएका छौँ । यो विषय संविधानमै उल्लेख भइसकेको छ । अहिले संसदमा नागरिकता विधेयक विचाराधीन अवस्थामा छ, यसलाई निष्कर्षमा पुऱ्याउन गैरआवासीय नेपालीलाई नागरिकताको आधारमा छुट्टै पासपोर्ट उपलव्ध गराउन पहल गर्ने, नेपाली नागरिकको हैसियतले हाम्रो सम्पत्ति गैरआवासीय नेपाली नागरिकता पाएपछि पनि सुरक्षित हुनेछ भन्ने प्रष्ट पार्न पहल गर्ने लगायतका कार्ययोजना पनि मैले अघि सारेको छु ।

गैरआवासीय नेपाली लगानीकर्ता बाहेक एनआरएनएका सदस्यको सम्पर्क र सम्बन्धलाई प्रयोग गर्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने, धेरैभन्दा धेरै मुलुकहरूसँग द्विपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमति एवं दोहोरो करमुक्ति सम्झौता गर्न संस्थागत पहल गर्नेछु । नेपालका सबै नियोगहरूमा एनआरएनए एनसीसीहरूलाई पनि समावेश गरी स्थायी प्रकृतिको आर्थिक कूटनीति समिति बनाउन परराष्ट्र मन्त्रालयलाई आग्रह गर्न नेपालमा लगानीः उन्नतिको विहानी कार्यक्रम अघि सारेको छु ।

नेपाल सरकारले परराष्ट्र मन्त्रालय अन्तर्गत स्थापना गरेको ब्रेन ग्रेन सेन्टरलाई प्रभावकारी बनाउने र ब्रेन ड्रेनलाई ब्रेन ग्रेनतर्फ अगाडि बढाउने योजना छ ।

एनआरएनएका पूर्व अध्यक्ष शेष घलेको कार्यकालमा अघि सारिएको तथा एनआरएनए आइसीसीद्वारा पारित भिजन २०२० एण्ड वियोण्ड अवधारणालाई चरणबद्ध रुपमा कार्यान्वयनमा लगिने छ । आगामी २ वर्ष्भित्र संगठनको सदस्य संख्या कम्तीमा एक लाख पुऱ्याउने, विदेशमा हुर्किरहेका युवा पुस्तालाई नेपाल, नेपाली भाषा, सभ्यता र संस्कृतिसँग जोडन मेरो उच्च प्राथमिकता हुनेछ ।

युवा तथा महिला सबै आयोजनमा पहिला कार्यक्रम अन्तर्गत प्रवासी महिला र युवा सम्बद्ध कार्यक्रमलाई प्राथमिकता दिने, सबै एनसीसीहरूमा अनिवार्य रुपमा एकजना महिला उपाध्यक्ष हुने गरी नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता अघि सारेको छु । यसैगरी, नेपाल चिनौं अभियान अन्तर्गत विदेशमा हुर्किएका पुस्तालाई नेपालमा स्वयंसेवा गर्न प्रोत्साहित गर्ने, युवा उद्यमशीलताको विकास र सडक सुरक्षा लगायतका कार्यक्रम रहेका छन् ।

नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन मेरो मुख्य जोड रहनेछ । त्यसका लागि पर्यटन सम्वन्धि कार्यक्रम गर्न सवै एनसीसीहरूलाई प्रोत्साहित गर्ने, सरकार र पर्यटन बोर्डसँग समन्वय गरी काम गर्ने योजना छ ।

‘मातृभूमिमा समृद्धि कर्मभूमिमा संस्कृति’लाई मूलमन्त्र मानेर नेपाली भाषा, भेष, साहित्य, कला र संस्कृतिको सम्वर्धन र प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम अघिसारेको छु । ‘एनआरएनए हाम्रो, बनाऔँ यसलाई अरु राम्रो’ भन्ने अभियानलाई सशक्त बनाउन, र एनआरएनएलाई सबै गैरआवासीय नेपालीहरूको अपनत्व हुने किसिमको साझा संस्थाका रुपमा विकास गर्न विगत जस्तै तपाईंहरू सबैको सुझाव, सल्लाह र समर्थनका लागि हार्दिक अनुरोध गर्दछु ।

अन्त्यमा भर्खरै सकिएको नेपालीहरूको महान चाड विजयादशमी तथा आउँदै गरेको शुभ दिपावली तथा छठ पर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

  • कुल आचार्य (गैरआवासीय नेपाली संघ केन्द्रीय अध्यक्षका उम्मेदवार)