१३औँ ‘साग’मा तेक्वान्दोलाई व्यवस्थित गर्न छलफल

१३औँ ‘साग’मा तेक्वान्दोलाई व्यवस्थित गर्न छलफल


आउँदो मंसिर १५ देखि नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) लाई मध्यनजर गर्दै नेपाल तेक्वान्दो संघका उपाध्यक्ष नन्दुकुमार राई र महासचिव दीपराज गुरुङ दक्षिण कोरिया प्रस्थान गरेका छन् ।

सागमा तेक्वान्दो प्रतियोगिताको व्यवस्थापन तथा आवश्यक तयारीको छलफलको लागि राई र गुरुङ कोरिया प्रस्थान गरेका हुन् । नेपालमा आयोजना भएको आठौँ साफमा तेक्वान्दोको ग्योरोगी विधा मात्र समावेस गरिएको थियो । १३औँ सागमा तेक्वान्दोका दुवै विधा ग्योरोगी र पुम्से राखिएको छ ।

पहिलोपटक समावेस गरिएको पुम्से विधाको वृहत छलफल गर्न र उक्त विधामा खेलाडीहरूको सहभागिताको वातावरणलाई सहज बनाउन वल्र्ड तेक्वान्दो एसियासँग छलफल गर्न तेक्वान्दो टोली दक्षिण कोरिया गएको हो ।

यसअघि बङ्गलादेश र भुटान भ्रमणका क्रममा पनि महासचिव दीपराज गुरुङले तेक्वान्दो प्रतियोगिताको व्यवस्थापन, आवश्यक तयारी तथा पुम्से विधाका बारेमा व्यापक छलफल गरेको नेपाल तेक्वान्दो संघले जनाएको छ । साथै १३औँ सागमा तेक्वान्दो खेललाई व्यवस्थित रुपमा सञ्चालन गर्न अन्य सार्क राष्ट्रका मुलुकमा पनि संघका पदाधिकारीले भ्रमण गर्ने संघले जानकारी गराएको छ ।