जापानमा हागिबिस आँधीबाट मृत्यु हुनेको संख्या तेत्तीस

जापानमा हागिबिस आँधीबाट मृत्यु हुनेको संख्या तेत्तीस


■ श्याम क्षेत्री, टोकियो

जापानमा गत शनिबार आएको शक्तिशाली हागिबिस ताइफुको कारण हालसम्म ३३ जनाको मृत्यु भएको छ ।

ताइफु र बाढीमा परेर अझै १९ जना बेपत्ता र सय जनाभन्दा बढी घाइते भएका छन् ।

ताइफुसँगै आएको वर्षाले गर्दा नदीहरुमा पानीको बहाव बढेसँगै टोकियो महानगर क्षेत्रलगायत जापानका कयौं स्थानमा आवासीय क्षेत्रहरु डुबानमा परेको जापान टुडेले समाचार प्रकाशन गरेको छ ।

बाढी र पहिरोको चपेटामा परेका मध्य, पूर्वी र उत्तरपश्चिम क्षेत्रमा उद्धार कार्य भइरहेको छ ।

चिकुमा नदीको किनारको बाँध भत्किदा मध्यजापानको शहर नागानो सबैभन्दा धेरै प्रभावित भएको छ ।

महानगर र आसपासका क्षेत्रमा शनिबार मध्यान्नदेखि आइतबार विहानसम्म अधिकांश विमानस्थल बन्द गरिएका थिए ।

जापानको भूपूर्वाधार, यातायात तथा पयर्टन मन्त्रालयका अनुसार नौ प्रिफेक्चरमा कम्तीमा पनि ३३ ओटा पहिरो र भूस्खलन भएको छ ।