यसरी सम्पन्न भयो काङ्ग्रेसको चियापान

यसरी सम्पन्न भयो काङ्ग्रेसको चियापान


सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले कांग्रेसलाई आफूले नेपालको परिवर्तनको सहयात्री दलका रुपमा लिएको अभिव्यक्ति दिएका छन् । कोजाग्रत पूर्णिमाको अवसर पारेर कांग्रेसले आयोजना गरेको चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले कांग्रेसप्रति ‘अपनत्व’ दर्शाएका हुन् ।

नेपाली कांग्रेसको कुनै पनि कार्यक्रममा आमन्त्रित भएर सरिक हुँदा आफूलाई सहयात्रीकै बीचमा आएको महसुस हुने गरेको भन्दै प्रचण्डले भने– ‘हेर्दै जाउँ, आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ, मलाई विश्वास छ, हाम्रो सहयात्रा जारी रहनेछ । हाम्रो एकता र शान्तिप्रतिको सङ्कल्प जारी रहनेछ ।’

चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको सुरुआत कांग्रेसबाटै भएको बताउँदै उनले अहिले यो एउटा राष्ट्रिय राजनीतिक संस्कृति जस्तै गरी स्थापित भएको भन्दै तारिफ गरे । राजनीतिमा असम्भव भन्ने कुरा केही नभएको उनको भनाई थियो ।

असम्भव देखिने कुरा पनि राजनीतिक पार्टी र नेतृत्वको सहकार्यद्वारा सम्भव बनाउने कुराको ठूलो दृष्टान्त पछिल्लो चरणमा कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइराला र मेरोबीचमा हस्ताक्षर भएको शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा सहकार्यको सहयात्राले प्रमाणित गरेको छ भन्दै उनले कांग्रेससँग सहकार्य गरेर अमुक अभीष्ट हासिल गर्न उद्यत् रहेको सङ्केत गरे ।

ज्ञातव्य छ, विसं २०३३ मा कांग्रेस संस्थापक एवम् जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह आयोजना गर्दै आएको छ । स्वदेश फर्केपछि बीपीलाई विभिन्न पेशा व्यवसायका व्यक्ति र राजनीतिकर्मी, कूटनीतिक निकायका प्रतिनिधि व्यक्ति भेट्न आउँथे तर तत्कालीन शासकका गुप्तचरले भेट्न आउने व्यक्तिलाई चियोचासो र केरकार गर्थे । त्यसपछि दशैँको अवसरमा टीका लगाउने तथा भेट्न सजिलो हुन्छ भनेर बिपीले चियापान समारोह शुरु गर्नुभएको जानिफकारहरू बताउँछन् ।

कांग्रेसले आज आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम एक बजेदेखि शुुरु भएको थियो । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापानमा पार्टी कार्यकर्ता एवं आमन्त्रितको भीड थियो भने आमन्त्रितलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महतलगायत नेताले उभिएर स्वागत गरेका थिए ।

चियापान कार्यक्रमका लागि पार्टी केन्द्रीय कार्यालयमा झण्डासहित सजिसजाउ गरिएको थियो भने चियापानकै अवसर पारेर नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहयोगमा पार्टी केन्द्रीय कार्यालय सानेपामा रक्तदानको आयोजनासमेत गरेको थियो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्री, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, सञ्चारकर्मीलगायत विशिष्ट व्यक्ति एवं शुभेच्छुकको सहभागिता रह्यो ।

कांग्रेसले आज काठमाडौँ उपत्यकाका तीन जिल्लाको हकमा केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लाका सदरमुकाममा सम्बन्धित जिल्ला कार्यसमितिले चियापान समारोह आयोजना गरेको छ । शुक्रबारको बस दुर्घटनामा परी १५ जनाको निधन भएकाले सिन्धुपाल्चोकमा भने चियापान स्थगित गरिएको थियो ।