नेपाली सिनेमाको बारेमा किन बोल्दैन गैरआवासीय नेपाली संघ ?



जब गैरआवासीय नेपाली संघको अधिवेशन हुने समय आउँछ, तब विभिन्न पदका आकांक्षीहरूको संख्या हवात्तै बढ्छ । हरेक दुई वर्षमा नयाँ नेतृत्व छान्ने यस्तो अधिवेशनमा उठ्ने विभिन्न आकांक्षीहरूको ऐजेण्डा शुरू हुन्छ ।

कोही प्रवासी नेपालीहरूको हक–हितको पक्षमा यसो गर्छु र उसो गर्छु भन्ने अभिव्यक्ति दिन्छन् भने कोही विदेशको लगानीलाई स्वदेशमा ल्याएर विकासमा लगाउने दाबीसहित उम्मेदवारी दिन्छन् । कोही विदेशी सीप र क्षमतालाई स्वदेशमा भित्र्याउने कुरा गर्छन् भने कोही एकपटकको नेपाली सधैंको नेपाली भन्ने नारा उरालेर चुनावमा होमिने गर्छन् ।

त्यसो त, प्रवासमा रहनुहुने नेपालीहरूले नेपाल र नेपालीप्रतिको माया, चाह, सम्मान र सहभागितालाई निरन्तरता दिइ नै रहनुभएको छ । प्रवासमा नेपालीहरूको शान–मान र इज्जत अनि नेपालीको शैली, उपस्थिति र वाहवाही पनि प्रवासमा रहनुभएका नेपालीकै कारण भएको कुरालाई नकार्न पनि सकिँदैन । विदेशमा नेपाल र नेपालीलाई चिनाउन भरमग्दुर प्रयास गर्ने, त्यसको लागि दिलोज्यान दिन तयार हुने जस्ता नाराहरूको बीचमा कसैले पनि यतिबेला मूलुक चिनाउंने सशक्त, प्रभावकारी र सबैको रूची बढ्ने अनि चासो रहने, विदेशमा नेपाल र नेपालीलाई सहजै चिनाउन सक्ने नेपाली चलचित्रको बारेमा कतै, कसैले बोलेको र चासो दिएको पाइँदैन, न त कुनै उम्मेदवारले आफ्नो ऐजेण्डा र घोषणापत्रमा नै राखेको पाइन्छ ।

यसो हुनुमा या उहाँहरूले चलचित्रको सशक्तता र प्रभावकारितालाई बुझ्नुभएको छैन कि त बुझेर पनि बुझ पचाइरहनुभएको छ । यो बुझ्न सकिएको छैन । तर, आज विश्वमा मूलुकको भाषा, साहित्य र संस्कृति चिनाउने सशक्त माध्यम भने चलचित्र नै हो । अब हिन्दी चलचित्रकै उदाहरण लिउँ । के हामीले कहिल्यै विद्यालयमा हिन्दी पुस्तक पढ्यौँ ? तैपनि हामीलाई हिन्दी भाषा बुझ्छौँ र मोटामोटी बोल्न पनि आउँछ । हिन्दी नपढे पनि र अङ्ग्रेजी पढे पनि हामीलाई सामान्यतया अङ्ग्रेजीभन्दा हिन्दी सहज लाग्छ । हिन्दी भाषामा हामी किन बोल्न र लेख्न सक्ने भयौँ त ? यसको ज्वलन्त उदाहरण हो हिन्दी चलचित्रका दर्शक हौँ हामी । यो सबै हामीले हिन्दी चलचित्रबाटै थाहा पायौँ र सिक्यौँ । यसबाट के प्रष्ट हुन्छ भने चलचित्रको प्रभाव, क्षमता र छाप कत्तिको हुँदोरहेछ भनेर ।

चलचित्रकै माध्यमबाट आज भारतले आफ्नो भाषा विश्वभर फैलाएको छ । आज हलिउडको चलचित्र विश्वभर नचल्ला तर भारतीय चलचित्रले विश्व–बजारमा दिन–प्रतिदिन आफ्नो बजार विस्तार गरिरहेको छ । योसँगै भारतीय भाषा र भारतीय कलाकारहरूको वाहवाही पनि विश्वमाझ भैरहेको छ । आज हिन्दी चलचित्र विश्वका अधिकांश मूलुकमा चल्छन् भने उनीहरूका कलाकारको विदेशीहरू माझ पनि राम्रो क्रेज छ । चलचित्रकै माध्यमका कारण आज भारतीय भाषा र संस्कृतिले विश्वमाझ विस्तार हुने अवसर पाएको छ । यसमा महत्वपूर्ण हात या भूमिका छ, एनआरआई अर्थात् गैरआवासीय इण्डियनको । उनिहरू जहाँ जान्छन् आफ्नै चलचित्रको बारेमा कुरा गर्छन्, आफ्नै कलाकारहरूको बारेमा चर्चा–परिचर्चा गर्छन्, परिवारमा होस् या कुनै समारोह या जमघट ? जता होस्, आफ्ना चलचित्रको बारेमा खुलेर कुरा गर्छन् र गर्व पनि गर्छन् । तर हाम्रा एनआरएनहरूले चलचित्रको महत्व, आवश्यकता र प्रभावबारे बुझ्न सकेको देखिँदैन ।

गैरआवासीय नेपाली संघ नै हो जसले नेपाली चलचित्रमार्फत प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको विस्तार गर्न सक्छ । जसले विदेशमा जन्मिएका र हुर्कदै गरेका दोस्रो पुस्ताका नेपालीलाई चलचित्रमार्फत नेपाली भाषा, शैली र परम्पराका बारेमा जानकारी या ज्ञान दिन सक्छ । विदेशमा नेपाली भाषा र संस्कृतिलाई चिनाउनु पऱ्यो भनेर जति भाषण गरे पनि चलचित्रभन्दा सशक्त र बलियो माध्यम अरू कुनै हुनै सक्दैन । आजका बालबालिकालाई हिन्दी चलचित्रले यसरी प्रभाव पारेको छ कि उनीहरूको मस्तिष्कमा सत्ययुगमा भगवानहरू पनि साँच्चीकै हिन्दी बोल्थे कि कसो हो भन्ने भान पर्न थालेको छ । यसको मूल कारण हो भारतीय चलचित्र । त्यसैले त बालबालिकाहरू भगवान् र राक्षसको खेल खेल्दा हिन्दी सम्वाद बोल्न छुटाउँदैनन् ।

गैरआवासीय नेपाली संघ र यो संघलाई हाँक्न तयार भएका अग्रजहरूको पनि अब आफ्नो ऐजेण्डा र घोषणापत्रमा नेपाली सिनेमाको बारेमा उल्लेख गर्नु पऱ्यो । प्रवासमा हुर्कंदै गरेको दोस्रो पुस्तालाई घरमा नेपाली बोल्न सिकाएर मात्र भएन, नेपाली चलचित्रप्रति उनिहरूको चाह बढाएर प्रवासमा नेपाली सिनेमाको प्रभाव बढाउँदै अर्कोतिर यसको बजार पनि विस्तार गर्नुपर्ने भएको छ । ब्यक्तिगत रूपमा त केही देशहरूमा नेपाली चलचित्रहरू कहिलेकाहीँ प्रदर्शन हुने गरेको छ, तर यो कहिलेकाहीँलाई ब्यवस्थित गर्न संस्थागत रूपमा नै प्रवासमा जसरी एनआरआई (गैरआवासीय)ले गरेको छ, त्यसरी एनआरएनएले पनि गर्न सक्छ । भाषाको पक्षमा चाँडै नै प्रभाव पार्न सक्ने नेपाली चलचित्रप्रति चासो बढाउने खालका कार्यक्रमहरू ल्याउन सकेमा स्वतः एकातिर नेपाली सिनेमाको ब्यावसायिक बजार पनि विस्तार हुन्छ भने विस्तारै–विस्तारै सिनेमाको आडमा नेपाली भाषाले पनि विदेशमा रहेका दोस्रो पुस्ताको मन र मष्तिष्कमा बास गर्न सक्ने वातावरणको सिर्जना हुन्थ्यो कि ? यसतर्फ पनि गैरआवासीय नेपाली संघले केही सोच्ने कि ?

प्रतिक्रिया