एनआरएनएको निर्वाचन पद्धति ठिक भएन

एनआरएनएको निर्वाचन पद्धति ठिक भएन


■ शशी श्रेष्ठ

यतिबेला एनआरएनएको चुनावी सरगर्मी बढिराखेको छ। यही अक्टोवर १५–१७ मा काठमाडौंमा एनआरएनएको विश्व सम्मेलन हुँदैछ ।

उक्त सम्मेलनले २ वर्षका लागि नयाँ नेतृत्वको छनोट पनि गर्नेछ। एनआरएनले हाल विश्वका ८१ वटा देशहरुमा विभिन्न ईकाईहरुको निर्वाचन पनि सम्पन्न गरिसकेको छ भने काठमाडौंमा सम्पन्न हुने आगामी विश्व सम्मेलनको तयारीमा हाल एनआरएनए जुटिराखेको छ। प्रविधिको यो जमानामा पनि एनआरएनएको चुनावी पद्धति ठीक नभएको भन्दै कतिपय एनआरएनएकै सदस्यहरुले सार्वजनिक रुपमै असन्तुष्टिहरु पोख्न थालेका छन् ।

लाखौँ लाख एनआरएनए सदस्यहरु भएको एनआरएनएको केन्द्रिय निर्वाचनमा करिव १५ सयले मात्र सहभागिता जनाए पनि हुने प्रावधान धेरै एनआरएनए सदस्यहरुलाई मन परेको छैन।

वास्तवमा अबको एनआरएनएले यो सबैले चुनेको नेतृत्व हो भनेर स्वामित्व ग्रहण गराउन सक्नुपर्छ । अहिलेसम्म सदस्यहरुले स्वामित्व ग्रहण गर्न सकेका छैनन् । एनआरएनएको यस्तै निर्वाचन विधीका बारेमा आईसिसिले ध्यान दिनु जरुरी देखिन्छ ।

समयअनुसार हामी परिवर्तन हुने कि नहुने ? प्रविधिको यो युगमा हामीले प्रविधिको भरपुर उपयोग गर्नै पर्दछ भने मेरो सुझाव हो। साथै सबैलाई सँगै समेटेर अघि बढौँ भन्ने मेरो धारणा हो । त्यसको लागि व्यक्तिगत रुपमा सकेको सहयोग गर्न म हमेसा तयार छु।

हामीले गर्दै आएको केन्द्रिय एनआरएनएको नेतृत्व छनोट प्रक्रिया अत्यन्तै भड्किलो, खर्चिलो बन्दै गएको छ। विज्ञान र प्रविधिको यो युगमा पनि प्रत्येक सदस्यले घरमै बसीबसी एक क्लिकको भरमा आफ्नो उम्मेदवार छनोट गर्न नपाऊनु विडम्बनाको कुरा हो।

सम्बन्धित देश र क्षेत्रका प्रतिनिधिले नेपालमै गएर भोट हाल्ने ब्यवस्था अवैज्ञानिक र नमिल्दो छ। विश्वभर फैलिएर रहेका नेपाली नागरिक भोट हाल्नकै लागि नेपाल जानसक्ने सम्भावना हुँदैन।

प्रतिनिधिलाई भोट हाल्न जानुको साटो बरु अनलाइन भोटिङ्ग सिस्टममार्फत वैज्ञानिक विधि अपनाउनुपर्छ। रिजल्ट पनि तुरुन्तै आऊने र कसले कति मत पायो सहजै थाहा पनि हुन्छ। उदाहरणस्वरुप एनआरएनए डेनमार्कको निर्वाचनमा प्रत्येक सदस्यले अनलाइन भोटिङ्ग सिस्टमको माध्यमबाट भोट दिएर यसको सफल प्रयोग गरिसकेको छ।

एनआरएनएसँग भएको MIS system मार्फत अनलाईन फर्म भर्न सकिए जस्तै अनलाईन भोटिङ्ग पनि सम्बन्धित देशबाट अनलाइन सजिलै गर्न सकिन्छ। यो विधि अस्ट्रेलियामा पनि सफल प्रयोग भइसकेको छ । यसो गर्न सकियो भने अरु २ लाख जति थप सदस्यहरु थप हुने पनि पक्का छ।

गैरआवासीय नेपालीहरुको बढी सहभागिता रह्यो भने मातृभूमिका लागि अझ बढी उदाहरणीय कार्य गर्न सकिन्छ ।

सम्बन्धित देश र क्षेत्रका प्रतिनिधि चुनेर मात्र नेपाल मा भड्किलो र खर्चिलो चुनाव गराउने होइन कि विदेशिएका सबै नेपाली नागरिकलाई एकसाथ एकैदिन सम्बन्धित देशबाट नै मतदान गर्न पाऊनुपर्ने ब्यवस्था आजको अवश्यता हो । त्यसैले एनआरएनको आगामी नेतृत्वले अब चाहिँ जरुर यसबारेमा सोच्नैपर्दछ।

प्रविधिको जमानामा परम्परावादी हुनुको कुनै तात्पर्य देखिन्न। समयअनुसारको निर्वाचन विधी गर्न सके र बढी भन्दा बढी सहभागिता रह्यो भने मात्र योग्य व्यक्ति चुन्न सम्भव हुनेछ ।

जुन उद्देश्यका लागि संस्था स्थापना गरिएको छ त्यो उद्देश्यको परिपूर्ति गर्नका लागि सहज हुन्छ । यो समावेसी विधिबाट गर्दा दसौँ लाख सदस्यहरुले छनोट गरेका व्यक्ति नेतृत्वमा आउँछ। खर्च जोगिन्छ र नेतृत्व चुन्ने फोहोरी खेलबाट बच्न सकिन्छ ।

यो कुरा एनआरएनको हकमा मात्र होइन, नेपालको सरकारले पनि विदेशमा रहेका लाखौँ नेपाली नागरिकमाझ अनलाइन भोटिङ्गको ब्यवस्था गरेर आफ्ना नागरिकलाई मतदान गर्न पाऊने अधिकारबाट वन्चित गर्नुहुँदैन।

संसारभरि प्रविधिको प्रयोग गरी अनलाइन भोटिङ्ग प्रविधिको विकास गर्नमा आफू लागिपरेको र एनआरएन मात्रै नभएर नेपाल सरकारले पनि यस्ता खाले प्रविधिलाई आत्मसात गर्नै पर्दछ।

(पेशाले आईटी इन्जिनियर शशी श्रेष्ठ लामो समयदेखि डेनमार्कमा बस्दै आएका छन् । डेनमार्कमै रहेर आईटी आऊटसोर्सिङ्ग विजनेस संचालन समेत गर्दै आएका श्रेष्ठ डेनमार्कमा हालै सम्पन्न एनआरएनएको निर्वाचनमा युवा संयोजको पदमा २०१९(२०२१ का लागि निर्विरोध भएका छन्।)