कांग्रेस नेता आलम प्रहरी नियन्त्रणमा

कांग्रेस नेता आलम प्रहरी नियन्त्रणमा


१२ वर्षअघिको एक मुद्दामा नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसदसमेत रहेका आलमलाई आज (२६ असोज) विहान उनकै गृहजिल्ला रौतहटको राजपुर फरहदवा राजपुर गाउँस्थित निजी निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

पहिलो संविधान संविधानसभाको निर्वाचनको बेला निर्वाचनमा आफ्नो वर्चश्व दर्शाउन आफ्नै घरमा बम बनाउन लगाएका र सो क्रममा बम विस्फोट भई बम बनाउने कार्यमा संलग्न रहेका एक दर्जनभन्दा ज्यादा मानिसको मृत्यु भएको तर घटनास्थलमा प्रहरी पुग्नुअघि नै आफतावको निर्देशनमा सम्पूर्ण प्रमाण नष्ट गराएको भन्ने अभियोग उनमाथि लगाइएको छ ।

प्रहरी प्रधान कार्यालय काठमाडौंंबाट सादा पोसाकमा खटिएर गएका प्रहरी टोलीले आलमलाई आज विहानै नियन्त्रणमा लिइएको बुझिएको छ ।

यस्तो थियो घटना :

२७ चैत्र २०६४ (पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन) का दिन वम विस्फोटनमा परेका दर्जनबढि घाइतेहरुलाई उपचार गराउनुको साटो इँट्टा भट्टामा हालेर जलाइएको आरोप आलममाथि लगाइएको थियो । सोबारे प्रहरीमा रिपोर्ट दर्ता गराउन खोज्दा प्रहरीले जाहेरी नै लिएन । त्यसपछि सर्वोच्च अदालतमा रिट परेको र सर्वोच्चले आलमलाई पक्रेर कार्वाही गर्न २०६९ मा आदेश जारी गरेको थियो।

बम बनाउने कार्यमा संलग्न भनिएका अधिकांश व्यक्ति आलमले निर्वाचन आफ्नो पक्षमा पार्न बोर्डरपारिबाट ल्याएका भारतीय नागरिक रहेका बताइन्छ । रौतहटको राजपुर ४ खरहवामा भएको सो विस्फोटनमा घाइते भएपछि जलाइएका भनिएका दुईजना नेपाली युवा त्रिलोकप्रताप सिंहका बाबु र कौशी अख्तर मियाकी आमाले आलममाथि कार्वाहीको माग गर्दै त्यसबेला जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । सो रिटमाथि सुनुवाई गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले १६ जेठ २०६९ मा दोषी आरोपित आलमसहित ५ जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो।