टऱ्यो हागीबिसको थप खतरा

टऱ्यो हागीबिसको थप खतरा


■ श्याम क्षेत्री, टोकियो (जापान)

मध्य जापानको जनजीवन एकदिन पूर्ण रुपमा ठप्प बनाएको विनासकारी ताईफु हागीबिसको थप खतरा टरेको छ । जापानको मौसम एजेन्सीका अधिकारीहरुले मध्यरात १२ बजेपछि हागीबिस ताईफु उचुनोमियाबाट ईवाके प्रिफेक्चरतर्फ अघि बढिरहेको बताएका छन् ।

आइतबार अपरान्हसम्ममा माएबासीबाट, उचुनोमिया, ईवाके, कोरियामा, फुकुसीमा हुँदै सेन्दाईसम्म ताईफुले ठूलो असर पार्ने बताइएको छ ।

सोमबार जापानी भूमिबाट पार हुने बताइएको हागीबिस ताईफुका कारण मध्यरातसम्ममा दुईजनाको मृत्यु भएको पुष्टि भएको छ ।

चिबा र गुन्माकेनमा दुईजनाको मृत्यु हुँदा ६ जना हराइरहेको र कम्तीमा ९० व्यक्ति घाइते भएको विवरण प्राप्त भएको यहाँको एनएचके टेलिभिजनले समाचार प्रसारण गरेको छ ।

मध्यरातपछि १० वटा प्रिफेक्चरमा जारी गरिएको उच्च खतराको सूचना हटाइएको छ । अधिकारीहरुका अनुसार टोकियोसहित कानागावा, साईतामा, गुन्मा, ईबाराकी, तोचिगि, नागानो, निगाता, मियागी र फुकुसीमा क्षेत्रमा खतरा टरेकोले मध्यरातबाट थप वर्षा र हावाहुरीको गम्भीर खतरा नरहेको सूचनामा उल्लेख छ ।

कान्तो र सिजुओखा क्षेत्रमा गरेर मध्यरातसम्ममा ३ लाख ७० हजार बढी घरमा विद्युत् आपुर्ति बन्द भएको छ ।

यसबाहेक सिजुओखा, चिबा, ईबाराकी, यामानासी, टोकियो, गुन्मा, तोचिगि, साईतामा र कानागावा प्रिफेक्चरमा समेत सयौं घरहरुमा ताईफुले विद्युत्का पोलहरुमा क्षति पुऱ्याउँदा विद्युत् आपुर्ति बन्द भएको छ ।

अधिकारीहरुका अनुसार हागीबिस ताईफुका क्रममा शनिबार राति १० बजेसम्ममा करिव ४ लाख व्यक्तिहरुले स्थानीय प्रशासनले खडा गरेको अस्थाई आश्रय स्थलमा शरण लिएका छन् ।

बाढी, पहिरो तथा ताईफुले बसेको बासस्थानमा क्षति वा डुबानमा परेका घरहरुबाट त्यस्ता व्यक्तिहरु आश्रय स्थलमा आएको जनाइएको छ ।

करिव ९ लाख वासिन्दालाई चेतावनीको सूचना जारी गरेर सुरक्षित आश्रय स्थलहरुमा जान भनिए पनि ईवाते, मियागी, फुकुसीमा, ईबाराकी, तोचिगि, गुन्मा, साईतामा, चिबा, टोकियो, कानागावा, निगाता, यामानासी, नागानो र चिबा प्रिफेक्चरमा ४ लाख व्यक्तिले मात्र आश्रय लिइरहेको जापानी समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

यसैबीच मध्यरातबाट भारी वर्षा र ताईफुको बेग कम भएपनि मध्य टोकियो र आसपासको क्षेत्रमा रेलसेवा नियमित सुचारु हुन आइतबार मध्यान्हसम्म लाग्ने बताइएको छ ।

रेलको लिगहरुमा चेकजाँच तथा विद्युत् आपूर्ति सेवाको परिक्षण गरेर रेल सेवालाई बिहानबाटै सञ्चालनको प्रयास गरिने भएको छ ।

मध्य टोकियो क्षेत्रमा सडक मार्गको अधिकांश भाग यथावत अवस्थामा सञ्चालनमा आएको र शनिबार मध्यरातबाट अवरुद्ध रहेको नारिता र हानेदा विमास्थलले आइतबार विहानबाट नियमित उडान थाल्ने ठानिएको छ ।

विमानस्थल प्रशासनले धावन मार्गमा जमेको पानी तथा जमेको फोहोरलाई सफा गर्ने काम थालिसकिएको जनाउँदै आइतबार विहानबाट नियमित उडानको प्रयास भइरहेको जनाउँदै यात्रुहरुलाई सम्वन्धित विमान कम्पनीमा बुझेर यात्रामा निक्लन अनुरोध गरेको छ ।