अन्तर्राष्ट्रिय टेटे प्रशिक्षक नेपालमा

अन्तर्राष्ट्रिय टेटे प्रशिक्षक नेपालमा


नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका टेबलटेनिस खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्न स्विजरल्याण्डका अन्तर्राष्ट्रिय प्रशिक्षक पाभेल रिहोरेक नेपाल आएका छन् ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं प्रदेश ३ राखेपका संयोजक सुदिल साहीको पहलमा एक हप्ताका लागि उनी नेपाल आएका हुन् । नेपाली खेलाडीहरुलाई बैदेशिक प्रशिक्षणमा नपठाए सम्म नेपालमै बैदेशिक प्रशिक्षक मार्फत खेलाडीहरुको खेल स्तर बृद्धि गर्नुका साथै सागमा बढि भन्दा बढि पदक हासिल गर्ने उद्धेश्यले स्विजरल्याण्डका अन्तराष्ट्रिय प्रशिक्षकलाई एक हप्ताको लागि नेपाल बोलाइएको हो – संयोजक एवं राखेप सदस्य साहीले बताए ।

प्रशिक्षणलाई हेरेर तथा खेलाडीहरुलाई वैदेशिक प्रशिक्षणमा पठाउन कठिनाई भएमा प्रशिक्षक पाभेललाई बढि समयसम्म राख्न सकिने समेत साहीले बताए । प्रशिक्षक पाभेलले जर्मनीमा ९ बर्ष, स्विजरल्याण्ड टिममा १८ बर्ष, श्रीलङका र चेकमा समेत प्रशिक्षण प्रदान गरेको अनुभव छ ।

यस्तै २०१६–२०१८ मा वेष्ट टेनर अफ द इयर बाट समेत सम्मानित रहेका छन् । उनलाई नेपाली प्रशिक्षकसरह दैनिक भत्ता र एकतर्फी हवाई टिकटमा नेपाल बोलाइएको हो । उनले यसअघि पनि नेपाली खेलाडीहरुलाई प्रशिक्षण प्रदान गरिसकेका छन् ।