‘साग’ तयारीका लागि तोकिए समिति संयोजक

‘साग’ तयारीका लागि तोकिए समिति संयोजक


नेपालमा आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद(साग) को तयारीका लागि पोखरामा विभिन्न समितिका संयोजकहरू चयन गरिएका छन् । काठमाडौंपछि सागको अर्को आयोजनास्थल पोखरामा बिहीबार (२३ असोज) बसेकोे तयारी समितिको पहिलो बैठकले सागलाई सफल र व्यवस्थित बनाउन विभिन्न १२ समितिका संयोजक चयन गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मालगायतको उपस्थिति तथा प्रदेश सरकारका सामाजिक विकासमन्त्री एवं साग खेलकूद तयारी समिति पोखराका संयोजक नरदेवी पुन मगरको अध्यक्षतामा बैठक बसेको थियो । बैठकले खेलस्थल व्यवस्थापन समितिको संयोजकमा राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङ, अतिथि सत्कार संयोजकमा गण्डकी प्रदेशसभा सदस्य मोहन रेग्मी, अनुगमन तथा मूल्याङ्कन समिति संयोजकमा प्रदेशसभा सदस्य दीपक कोइरालालाई तोकेको साग तयारी समिति पोखराका सचिव एवं प्रदेश खेलकूद कार्यालयका प्रमुख लक्ष्मण योगीले जानकारी दिएका छन् ।

यस्तै समारोह व्यवस्थापन समितिको संयोजकमा तेज गुरुङ, प्रचारप्रसार तथा प्रकाशन संयोजकमा केशव पाठक, यातायात व्यवस्थापन संयोजक तोरण बानियाँ, आवास व्यवस्थापन संयोजक सूर्य भुजेल, सुरक्षा समिति संयोजक नेपाल प्रहरीका डिआइजी विनोद घिमिरे, स्रोतसाधन परिचालन संयोजक सञ्जीव कोइराला, खेल सामग्री उपकरण तथा पोशाक संयोजकमा सम्पन्न श्रेष्ठ, स्वयमसेवक परिचालन संयोजक विष्णु केसी, सोही समितिअन्तर्गत अतिथि सम्पर्क समिति संयोजक जगन गुरुङ, स्वास्थ्य समिति संयोजक डा पदम खड्का रहेका छन् ।