१६ वर्षीया युवतीको अपहरणमा संलग्न तीन व्यक्ति पक्राउ

१६ वर्षीया युवतीको अपहरणमा संलग्न तीन व्यक्ति पक्राउ


उदयपुरकी १६ वर्षीया एक युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको अवस्थामा प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट अपहरणमा संलग्न गाडीसहित तीन जनालाई पक्राउ गरी आज (२३ असोज) सार्वजनिक गरेको छ ।

भारतीय नम्बरको बिआर ३२ प ४२६२ नम्बरको स्कारपियोमा उदयपुर जिल्ला घर ठेगाना भएकी १६ वर्षीया युवतीलाई अपहरण गरी लगेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको हो ।

लहानस्थित दुर्गा मन्दिरमा मेला तथा सांस्कृतिक कार्यक्रम हेरेर आज विहान ३ बजेतिर फर्किरहेकी ती युवतीलाई बाटोबाटै अपहरण गरेको आरोपमा सिरहा नगरपालिका–९ निवासी २४ वर्षीय रामप्रकाश गोइत, ३६ वर्षीय गणेशकुमार यादव र सिरहा नगरपालिका–८ निवासी २२ वर्षीय नथुनी भन्ने चतुरानन्द यादवलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

उक्त गाडीमा रहेका अन्य दुई जना भाग्न सफल भएका र उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन्। अपहरण गरी लग्दै गर्दा बाटो छेउमै रहेको नालामा स्कारपियो फसेपछि ती युवतीले दिसा गर्न जान्छु भन्दै बहाना बनाई अपहरणकारीको कब्जाबाट भाग्न सफल भएको प्रहरी नायव उपरीक्षक बोहराले बताए ।

अपहरणकारीको कब्जाबाट भाग्न सफल भएकी युवतीकै सूचनाको आधारमा प्रहरीको टोलीले गाडीसहित तीनै जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेकाको साथबाट लागुऔषध नेट्रोभेट ट्याब्लेट ३०० पिस, आठ राउण्ड गोली, पर्स एक थान र रामप्रकाश गोइतको सवारी चालक अनुमतिपत्र (लाइसन्स) र मोबाइल सेटसमेत बरामद भएको प्रहरीले जनाएको छ ।