‘हागिविस’का कारण रेलसेवा बन्द हुन सक्ने

‘हागिविस’का कारण रेलसेवा बन्द हुन सक्ने


■ श्याम क्षेत्री, टोकियो

जेआर रेलवे कम्पनीले आगमी शनिबार र आइतबार ताईफु (आँधिबेहेरी) का कारण विभिन्न ठाउँमा आफ्ना रेलसेवा बन्द हुनसक्ने बताएको छ । विध्वंसकारी आँधी हागिविसले केही समयअघि गएको फासाईले भन्दा पनि ठूलो क्षति पुर्याउन सक्ने चेतावानी पनि दिइएको छ ।

जेआर रेलवे कम्पनीले आफ्नो वेबसाइटमा जनाएअनुसार बुलेट ट्रेन तथा अन्य मुख्य रेलसेवाहरु जस्तै– यामानोते, चुओ तथा तोकाईदो लगायतका लाइनहरु बन्द हुन सक्नेछन् । जेआर कम्पनीका प्रवक्ता युजि इसिकावाका अनुसार शुक्रबार विहान १०ः३० बजे आफ्नो वेबसाइटमा थप जानकारीहरु राखिने छ ।

जेआर मात्र नभई कान्तो एरियामा संचालनमा रहेका थुप्रै रेल कम्पनीहरुको सेवा रद्द तथा ढिलो हुन सक्ने बताइएको छ । प्राप्त जानकारीअनुसार टोकियोबाट हानेदा एयरपोर्ट सम्म चल्ने केईक्यु कर्पोरेशन तथा नारिता एयरपोर्टसम्म चल्ने केईसेई लाईन पनि नचल्ने तथा ढिलो हुने सम्भावना रहेको छ । त्यस्तै, ओदाईक्यु लाईनमा पनि समस्या देखिन सक्ने बताइएको छ ।

जापान मेटोरोलोजिकल एजेन्सीले यसपटकको ताईफुलाई विध्वंसक भनी वर्गीकरण गरिसकेको छ, जसका कारण भारी वर्षा हुने र त्यसबाट डुवान तथा तथा पहिरोको समेत खतरा रहेको बताइएको छ । पुर्वी जापानमा भने यसको असर शनिबार रातिदेखि देखि आइतबार विहानसम्म अत्यधिक रहने र आइतबार साँझबाट हट्ने जनाइएको छ ।

त्यस्तै, हागिविस (ताईफु)का कारण वायु सेवा कम्पनीहरुले पनि आफ्ना सेवा बन्द गर्न सक्ने बताएका छन् । अल निप्पोन एयरलाइन्स लगायत जापानका बायुसेवा कन्पनीहरुले पनि ताईफुको कारण सेवा अवरुद्ध हुनसक्ने भन्दै सचेत गराइसकेका छन् ।

यसअघिको ताईफु फासाईका कारण सोचेभन्दा धेरै प्रभावित भएपछि रेल कम्पनी तथा वायुसेवा कम्पनीहरुले यसपटक पहिलेभन्दा अझ बढि सतर्कता अपनाउने प्रयास गरेका छन् ।