पुरातात्विक खोजकर्ताले पाँचखालमा फेला पारे प्राचीन सम्पदा

पुरातात्विक खोजकर्ताले पाँचखालमा फेला पारे प्राचीन सम्पदा


काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा खोज तथा अनुसन्धानका क्रममा प्राचीन सम्पदा, सामग्री तथा स्तम्भ भेटिन थालेका छन् । हालै मात्रै पाँचखाल नगरपालिका–१३ स्थित तेमालबेसीमा प्राचीन किरातकालीन स्तम्भ फेलापरेको हो ।

काभ्रेपलाञ्चोकमा पहिलोपटक किरातकालीन अवशेष स्तम्भ फेलापरेको छ । यही असोज दोस्रो साता भारतीय पुरातत्व विभागका दुईजना खोजकर्ता सम्मिलित पाँच सदस्यीय टोलीले खोज अनुसन्धानका क्रममा भेटाएको उक्त स्तम्भ किरातकालीन रहेको पाँचखाल उपत्यका पुरातत्व खोज तथा अनुसन्धान समितिका सदस्य श्रीकृष्ण धिमाललाई उद्धृत गर्दै राससले जनाएको छ ।

बताइएअनुसार उक्त स्तम्भ पाँचखाल नगरपालिका–१३ स्थित तेमालबेसीस्थित सुनकोशी नदी तथा झिकु खोलाको दोभानमा भेटिएको हो । स्तम्भमा किरात धर्मावलम्बीले पूजा गर्दा बनाउने चित्रको आकृति रहेको विज्ञको भनाई छ ।

धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार स्तम्भ भेटिएको स्थान सुनकोशी नदी उत्पत्तिसँगै कौशिक ऋषिले तपस्या गरेको स्थान सुनकोशी नदी र झिकुखोलाको दोभान तेमालबेसी नै रहेको बताइन्छ । उक्त स्थानमा थप किरातकालीन सम्पदा एवं सामग्री भेटिनसक्ने भएकाले पुरातत्वको विभागका विज्ञ टोलीको सहभागितामा आउँदो कात्तिक पहिलो साताबाट थप अनुसन्धान गरिने धिमालले जानकारी दिए ।

यसअघि गत जेठ महीनामा पाँचखाल नपा–७ स्थित श्रीरामपाटीमा लिच्छवीकालीन संरचनाको भग्नावशेष तथा सामग्री भेटिएको थियो । पुरातत्व विभागको एक टोलीले करीब दुई साता उक्त स्थानको सम्पदा अध्ययन एवं उत्खननका पूरानो दरबार क्षेत्र रहेको भनिएको स्थानमा २४ इञ्चको ढुङको गारो लगाएको कोठा बाहिरी भागमा पर्खाल रहेको संरचना, माटोका भाँडाका टुक्रा, मसला पिँध्ने ढुङ्गाको खल, शिव लिङ्ग, ढुङ्गेधारा, रानीपोखरी भनिएको स्थानमा जमीनमुनि पाको माटोको डुँडबाट पानी ल्याउन बनाइएको पाइप तथा केही चौडा आकारका इँटा भेटिएको छ ।

पाँचखालमा भेटिएका ती भग्नावशेष तथा सामग्री प्राचीन लिच्छवीकालीन रहेको वरिष्ठ पुरातत्व विज्ञ उद्धव आचार्यले बताए। स्थानीय बूढापाकाले पाँचखाल क्षेत्रमा मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुङ्गेधारा र रानीपोखरी क्षेत्र करीब १२ रोपनीमा फैलिएको, खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँटा र सिक्का (मानाङ्क), घरको जग, भाँडाका टुक्रा फेला परेको बारे बताउँदै आएपछि पुरातत्व विभागले उक्त स्थानमा खोज अनुसन्धान गरेको हो ।

यस्तै, पाँचखाल नपा–६ स्थित महाँकाल मन्दिरमा गतसाल सबैभन्दा सानो सिक्का (जाभा) भेटिएको भियो । उक्त चाँदीको मुद्रा विश्वकै सानो मानिएको छ भने पाँचखाल नपा–६ स्थित सम्पदा अध्ययनका क्रममा भेटिएको सिक्का पनि नेपालकै पुरानो सिक्का मानिएको छ । उक्त सिक्काको एक पाटामा ‘भोगिनी’ लेखिएको छ भने अर्को पाटामा सिंहको चित्र रहेको छ । पुरातत्व विज्ञ आचार्यका अनुसार भोगिनी ‘पाली’ भाषा हो । भेटिएका प्रमाण लिच्छवीकालीन पाँचौँ, छैटौँ, सातौँ र आठौँ शताब्दीका भएको उनको दाबी छ ।

खोज अनुसन्धानका क्रममा पाँचखाल क्षेत्रमा प्राचीनकालीन भग्नावशेष एवं सामग्री भेटिन थालेपछि पाँचखाल उपत्यका पुरातत्व खोज तथा अनुसन्धान समितिले पुरातत्व विभागमा थप खोज तथा अनुसन्धानका लागि निवेदन दिएको छ । पाँचखालका बासिन्दाले सम्वत् ४२५ मा मानदेव प्रथमको शासनकालमा पाँचखाल नपा–९ पलाञ्चोकमा स्थापित पलाञ्चोक भगवती मन्दिर रहेकाले पनि यस ऐतिहासिक क्षेत्रको खोज अनुसन्धान गरी संरक्षणको माग गर्दै आएका छन् ।