नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी कानून तथा नीतिगत व्यवस्थाका कारण लगानीको वातावरणमा पनि सुधार भइरहेको बताएका छन् । यी कानूनहरुका कारण पछिल्लो समयमा देशमा रोजगारदाता एवं श्रमिकबीचको सम्बन्ध राम्रो हुँदै गएको र यसले दिगो औद्योगिक विकास र श्रम सम्बन्धमा सकारात्मक प्रभाव पार्ने धारणा ढकालले राखेका हुन् ।
नेदरल्याण्ड्सको हेगमा गत मङ्गलबार आयोजित श्रम तथा सामाजिक संवादसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई नेपालका तर्फबाट सम्बोधन गर्दै व्यवसायी ढकालले रोजगारदाताहरु, श्रमिक, ट्रेड युनियन र नेपाल सरकारसँगको लामो तथा आवश्यक परामर्शबाट प्राप्त भएका यी नीति तथा कानूनहरुले देशमा रोजगारदाताहरुका साथै श्रमिक र ट्रेड युनियन बीचको सम्बन्धलाई थप सुमधुर र सुदृढ बनाउन सहयोग पुर्याएको अनुभव सुनाए ।
दशकभन्दा लामो द्वन्द्वपछि जारी भएको नयाँ संविधान र शान्ति प्रक्रियासँगै नेपालले देशमा आर्थिक विकासका प्रयासहरु थालेको र नेपाली उद्यमीहरुको साझा संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको विशेष पहलमा श्रमका साथै सामाजिक सुरक्षासम्बन्धी नयाँ कानूनहरु प्राप्त गरेको प्रसङ्ग उनले उल्लेख गरे ।
नेपालमा एकजना राष्ट्रिय उद्यमीसमेत रहेका ढकालले लामो समयको राजनीतिक अस्थिरतासँगै हाल नेपालमा करीब दुई तिहाई बहुमत समर्थनसहितको स्थिर सरकार बनेकोले औद्योगिक विकास र लगानीको वातावरण सिर्जना भएको बताए ।
उत्पादकत्व विकास र यसमार्फत समग्र देशको आर्थिक विकासका लागि कुनै पनि उद्योगमा दिगो औद्योगिक शान्तिको वातावरण विकास हुनु जरुरी रहेको र यी सबै कार्यका लागि रोजगादरदाता र श्रमिकका बीचको सम्बन्ध सौहार्द हुनु जरुरी रहेको उनको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासङ्घमार्फत नेपालका उद्यमीहरुले सामाजिक संवादका माध्यमबाट यो वातावरण सिर्जना गरी दिगो औद्योगिक शान्ति कायम गर्ने पक्षमा काम गरिरहेको जानकारी पनि उनले दिए ।
प्राकृतिक स्रोत र सम्पदाले सम्पन्न देश नेपालमा पर्यटन, जलविद्युत्, कृषि उद्यमशीलता, पूर्वाधार विकास लगायतका कैयौँ क्षेत्रहरुमा प्रचुर सम्भावनाहरु रहेको उनको भनाइ थियो । ढकालले नेपालमा राजनीतिक स्थिरतासँगै लगानीको वातावरणमा सकारात्मक सुधार हुँदै गएको चर्चा गर्दै विश्वका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न पनि आग्रह गरे ।
नेपालमा केही समयअघि पारित श्रम एवं सामाजिक सुरक्षासम्बन्धी ऐन कानूनहरुले श्रमिकहरुका हक अधिकारहरु स्थापित र सुरक्षा गर्न तथा सामाजिक संवादको माध्यमबाट श्रम सम्बन्धको विकास गर्न सहयोग पुऱ्याउने धारणा पनि राखे । नेपाल प्राकृतिक सुन्दरता र विविधताले सम्पन्न रहेसँगै विकासका सम्भावनाहरु पनि असङ्ख्य रहेको तर विविध खाले पछ्यौटेपनका कारण समयानुकूल आर्थिक र प्राविधिक विकास गर्न नसकिएको उनले बताए ।
नेपालको आर्थिक विकासको मेरुदण्ड कृषि नै रहेको उनको भनाइ थियो । नेपालको आर्थिक विकासमा निजी क्षेत्रको योगदान उल्लेख्य रहेको र नेपाल सरकारले निजी क्षेत्रको यो योगदानको मूल्याङ्कन पनि गरेको महसुस नेपालको निजी क्षेत्रले पनि गरेको भन्दै नेपालको आर्थिक विकासमा निजी क्षेत्रको योगदान करिब ६० प्रतिशत रहेको उनले जानकारी दिए ।
नेदरल्याण्ड्सको ट्रेड युनियनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था एफएनभी नेदरल्याण्ड्सद्वारा आयोजित सो सम्मेलनमा विश्वका विभिन्न देशका श्रममन्त्री, रोजगारदाता तथा ट्रेड युनियनका नेता तथा प्रतिनिधिहरुको सहभागिता थियो । यस पटकको सम्मेलनमा नेपाल, पेरु र घानाको श्रम तथा ट्रेड युनियनसम्बन्धी अनुभवहरुलाई प्राथमिकता दिइएको ढकालले जानकारी दिए ।
प्रतिक्रिया