ताईफु हागिबिस् तीव्र गतिमा जापानको मुख्य भूभागतर्फ

ताईफु हागिबिस् तीव्र गतिमा जापानको मुख्य भूभागतर्फ


■ श्याम क्षेत्री, टोकियो (जापान)

राजधानी टोकियो र आसपासको क्षेत्रलाई ठप्प पार्नेगरी जापानमा यस सिजनको १९औँ आँधी हागिबिसले शुक्रबार (11 Oct) बाट असर गर्ने भएको छ ।

जापानको मौसम एजेन्सी मेटोरोलोजिकल एजेन्सीका अनुसार शुक्रबार साँझबाट हामामाचु र नागोयासहित सिजुओखा क्षेत्रमा ताईफु हागिबिसले बिध्वंश निम्त्याउने चेतावनी जारी गरिएको छ ।

तीव्र गतिको हावाहुरीसहित मुसलधारे वर्षा गराउने ताईफु हागिबिसले बुधबार साँझबाट ओगासावारा द्विपमा असर पार्न थालेको छ ।

ठूलो क्षेत्रमा असर गर्ने ताईफु हागिबिस् प्रतिघण्टा २ सय किलोमिटरको गतिमा जापानको मुख्य भुभागतर्फ अघि बढिरहेको छ ।

मौसम अधिकारीहरुले ताईफु हागिबिसले बिध्वंश निम्त्याउने चेतावनी जारी गर्दै ताईफुको मुख्य बाटो भएको क्षेत्रमा सचेतता अपनाउन आग्रह गरेका छन् ।

भारी वर्षासहित तीव्र गतिको हावाहुरीले बाढी र पहिरो निम्त्याउनुका साथै सामुन्द्रिक क्षेत्रमा पानीको छालले ठूलो भौतिक क्षति पार्न सक्ने भएकाले जोखिमका क्षेत्रमा सुरक्षाको तयारी गर्न सरकारी अधिकारीहरुले आग्रह गरेका छन् ।

मध्य जापान क्षेत्रमा शनिबार विहानबाट सोमबार बिहानसम्म हागिबिस् ताईफुले ठूलो असर पार्ने बताइएको छ।