अशान्त पपुआबाट १६ हजार विस्थापित

अशान्त पपुआबाट १६ हजार विस्थापित


इन्डोनेसियाको अशान्त पपुआ क्षेत्रबाट १६ हजारभन्दा बढी नागरिक विस्थापित भएका छन् । इन्डोनेसियाली सेनाका अनुसार पपुआमा भडकिएको हिंसाका कारण यति ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएको यो पहिलो पटक हो ।

गत महिना वामेना नगरबाट भडकिएको हिंसाका कारण केही दर्जन मानिस मारिएका थिए भने केही पीडितलाई जिउँदै जलाइएको थियो । भवनहरुमा आगजनी गरिनुका साथै अरु कतिपय मानिसलाई छुरा प्रहार गरिएको थियो ।

गत अगस्टको मध्यदेखि पपुआमा आदिवासी पपुआ र बाहिरबाट आएका इन्डोनेसियालीबीच प्रदर्शन र हिंसात्मक झडप जारी रहेका छन् । गरिबीको चपेटामा रहेको पपुआका नागरिकले स्वतन्त्रताको माग गर्दै आएका एएफपीले जनाएको छ ।

बताइएअनुसार बहुसंख्यक पपुआका नागरिक इसाई धर्मावलम्बी छन् । मुस्लिम बहुल इन्डोनेसियामा यी दुबै सम्प्रदायबीच वर्षौंदेखि तनाबको स्थिति रहने गरेको छ । गत सोमबार इन्डोनेसियाली वायु सेनाले करिब ११ हजार ४०० जनालाई सैनिक विमानबाट उद्धार गरेको थियो । उद्धार गरिएकाहरुमा अधिकांश आप्रवासीहरु रहेको बताइएको छ ।

गत सेप्टेम्बरको अन्त्यदेखि अरु हजारौं व्यक्तिले बढ्दो असुरक्षाका बीच व्यवसायिक उडानबाट पपुआ छाडेका छन् । मानवअधिकारवादी संस्थाहरुले वामेना हिंसाका क्रममा ३३ जनाको मृत्यु भएका सम्बन्धमा स्वतन्त्र छानबिन गर्न इन्डोनेसियाली मानव अधिकार आयोग समक्ष आग्रह गरेका छन् । उनीहरुले पपुआको हिंसाका बारेमा राष्ट्रसंघीय जाँचका लागि इन्डोनेसिया सरकारले अनुमति दिनुपर्ने माग पनि गरेका छन् ।

वामेनामा एक स्थानीय शिक्षकले विद्यार्थीका सम्बन्धमा गरेको जातीय टिप्पणीपछि हिंसा भडकिएको थियो । तर प्रहरीले उक्त भनाईको खण्डन गरेको छ । त्यसयता हजारौं आदिवासी पपुआ र अन्य सम्प्रदायका मानिसलाई उद्धार गर्नु परेको छ । सामाजिक संजालमा हिंसाका घटना दिनहुँ बढेको खबर फैलिएसँगै त्रासको वातावरण सिर्जना भएको थियो ।

तर पछिल्लो समय वामेनाका पसलहरु र विद्यालयहरु खुल्न थालेको पाइएको छ । हिंसाको भयका कारण अधिकांश विद्यार्थी विद्यालय नगई घरमै छन् । गत सातादेखि नै सरकारी कार्यालयहरु खुल्न थालेका छन् ।