नेकपाका मोरङ सेक्रेटरी प्रहरी नियन्त्रणमा

नेकपाका मोरङ सेक्रेटरी प्रहरी नियन्त्रणमा


नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका मोरङ जिल्ला सेक्रेटरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरी शनिबार (१८ असोज) विराटनगरमा सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन आयोजना गरी मोरङको बूढीगङ्गा गाउँपालिका–३ बस्ने जिल्ला सेक्रेटरी कुमार खतिवडा ‘आभाष’लाई विराटनगर–४ को इक्राइबाट को. २० प ५८८८ नंको मोटरसाइकल साथ प्रहरीले बिहीबार साँझ ५ बजे पक्राउ गरेको जनाएको छ ।

यस्तै, कुमारले दिएको जानकारीबाट बूढीगङ्गा गाउँपालिका–७ धरहरा बस्ने कुमार डाँगीलाई विष्फोटक पदार्थ र त्यसमा प्रयोग हुने सामग्री तीन फिट माटोमुनि प्लाष्टिकमा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको प्रहरीको भनाई छ ।

प्रहरीले निओजल ९० लेखिएको (जिलेटिन) विष्फोटक पदार्थ ४३ थान, एरियलसहितको सेतो रिमोट एक, तार जोडिएको बक्स एक, रातो टेप र तारसहितको डेटकार्ड एक, केप दुई, मसिनो तार एक र मोबाइल एक प्रहरीले बरामद गरेको हो ।

यसैगरी उनीहरूका साथबाट नेकपाका विभिन्न दस्तावेज, प्रेस विज्ञप्ति, झण्डा, आर्थिक सहयोग पत्र, सहयोग रसिद दुई ठेलीलगायतका अन्य सामग्री बरामद गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले चन्दा माग्ने समूह आउना साथ प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै मोरङमा सो समूहका २० जना अदालतको आदेशमा जेलमा रहेको र २६ अनुसन्धानमा रहेको जानकारी बताए ।

pict:rss