केशवले ल्याए ‘हितैको माया’

केशवले ल्याए ‘हितैको माया’


महान् चाड दशैँको अवसर पारेर गायक केशव राईले ‘हितैको माया’ नामक तेस्रो गीतिएल्बम प्रकाशित गरेका छन् । विगत २५ वर्षदेखि गायनमा क्रियाशील राईले यसअघि ‘अजम्बरी फूल’ र ‘जुत्ता चाइनाको’ एल्बम प्रकाशित गरिसकेका छन् ।

राजधानीमा आयोजित एक समारोहमा लोकार्पण गरिएको ‘हितैको माया’ गीतिएल्बमका गायक स्वयम् भने मकाउमा कार्यरत छन् । सेवा इन्टरटेन्मेन्टको ब्यानरमा गीतकार जीवन मुकारुङले संयोजन गरेको कार्यक्रममा प्रमुख अतिथि कवि तथा प्राज्ञ शशी लुमुम्बू, विशेष अतिथिहरू गीतकार तथा संस्कृतिकर्मी शुभ मुकारुङ, गीतकार टीका चाम्लिङ, आख्यानकार राजन मुकारुङ, कविहरू चन्द्र रानाहँछा, रविन्द्र दिखुक्पा, शुक्र राई लगायतले लोकार्पण गरेका थिए ।

‘हितैको माया’ एल्बममा ‘हितैको मायालाई’, ‘झममा झम’, ‘हाँसेर बोलिदेऊ सानु’, ‘जुग जाने माया’, ‘खोले हुन्थ्यो सोल्टिनीले’ र ‘साकेला नाचौँ’ गरी ६ ओटा लोकआधुनिक र फ्युजन दोहोरी गीतहरू समाविष्ट छन् । एल्बममा गायक केशव राईलाई सुनिता थेगिम, सरु कोयु, शशी राई, श्रेयसी चेम्जोङ, राजु आङ्देम्बे लगायतले स्वरमा साथ दिएका छन् भने शब्द लब्ली तुलसी, जिविहाङ राई, सरु कोयु, कुमार राई, टीका चाम्लिङ र स्वयम् गायक समेतको रहेको छ ।

कार्यक्रममा बोल्दै प्राज्ञ शशी लुमुम्बूले नेपाली गीत–सङ्गीतको विकासमा डायस्पोरामा रहेका सर्जकहरूको उल्लेखनीय योगदान रहेको बताउँदै गायक केशव राईको ‘हितैको माया’भित्रका गीतहरूले माया, प्रेमका साथसाथै जीवन जगत्बारे बोलेको दाबी गरे । यसै गरी अन्य वक्ताहरूले गायक राईको गायकीको प्रशंसा गरेका थिए ।