दशैँमा दुई दिन मदिरा बिक्री वितरणमा रोक

दशैँमा दुई दिन मदिरा बिक्री वितरणमा रोक


चाडपर्वलाई लक्षित गरी कञ्चनपुर जिल्ला प्रशासनले मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । दशैँमा दुई र तिहारमा दुई दिन मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको कञ्चनपुरका सहायक प्रजिअ गोर्कणप्रसाद उपाध्यायले जानकारी दिएका हुन् ।

मादक पदार्थ सेवनबाट हुन सक्ने गतिविधिलाई निरुत्साहित गरी चाडपर्व व्यवस्थित बनाउने उद्देश्यले सरोकारवाला निकायसितको समन्वयमा सो निर्णय गरिएको जिल्ला प्रशासनको भनाई छ । दशैँमा नवमी र दशमीमा गरी ४८ घण्टा मदिरा बिक्री नगर्ने सहमति भएको उल्लेख गर्दै सहायक प्रजिअ उपाध्यायले तिहारमा पनि भाइटीकालाई मध्यनजर गर्दै ४८ घण्टा बिक्री बन्द हुने जानकारी दिए ।

यसअघि चाडपर्वका बेला २४ घण्टाका लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउँदै आइएको थियो । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा उपभोक्ता संरक्षण मञ्च, मदिरा व्यवसायी सङ्घ, कञ्चनपुर उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सहभागी थिए । यसैगरी स्थानीय प्रशासनकै अगुवाइमा स्थानीय बजार क्षेत्रमा स्थानीय तहसहित बजार अनुगमन गरिरहेका छन् । यस्तै सुरक्षा व्यवस्था मजबुत बनाउन जिल्ला प्रहरी कार्यालयले जिल्लाका नौ वटै स्थानीय तहमा आठ सयभन्दा बढी प्रहरी परिचालन गरेको छ ।