अजयबाबुमाथिको ‘सेक्युरिटी थ्रेट’प्रति प्रेस युनियन गम्भीर

अजयबाबुमाथिको ‘सेक्युरिटी थ्रेट’प्रति प्रेस युनियन गम्भीर


हाम्रा कुरा डटकम अनलाइन पोर्टलमा प्रसारित ‘सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको’ भन्ने समाचारको विषयलाई लिएर सो अनलाइनका प्रधानसम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीमाथि सुरक्षा चुनौती देखिएको सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल प्रेस युनियनले जनाएको छ ।

युनियनको केन्द्रीय सचिवालयको आज (१६ असोज) बसेको आकस्मिक बैठकले महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फोनहरु आउने क्रम शुरु भएको र समाचार सार्वजनिक भएकै दिनदेखि केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएको भन्दै त्यसप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।

नेपालको संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकबमोजिम स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रसारण गर्न पाउने मौलिक हकको प्रत्याभूति गर्न युनियनले सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।

युनियनका अध्यक्ष बद्री सिग्देलद्वारा जारी विज्ञप्तिमा समाचार लेखेकै आधारमा महासचिव शिवाकोटीलाई पछ्याउने तथा निगरानी गरी असुरक्षा महसुस गराउने जुनसुकै व्यक्ति तथा समूहलाई कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न तथा उहाँको सुरक्षाको ग्यारेण्टी गर्न प्रहरी प्रशासन तथा सरकारसँग जोडदार माग गरिएको छ ।

कुनै पनि समाचारमा चित्त नबुझेमा कानूनी उपचारको बाटो हुँदाहुँदै त्यसका विपरीत हुलहुज्जत गर्ने र धम्क्याउने कार्यले सिंगो प्रेस जगतलाई नै आतंकित बनाउन खोज्नु दुर्भाग्यपूर्ण छ भन्दै अध्यक्ष सिग्देलले विज्ञप्तिमा भनेका छन्, ‘स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्थाको आधार स्तम्भ हो, यसतर्फ सबै सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउँदै प्रेसमाथिको धम्की र गैरजिम्मेवार चरित्र प्रर्दशन जारी रहे नेपाल प्रेस युनियन कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिन चाहन्छ ।’