१३औँ ‘साग’का लागि ब्याडमिन्टन खेलाडी छनोट

१३औँ ‘साग’का लागि ब्याडमिन्टन खेलाडी छनोट


१३औं दक्षिण एशियाली खेलकुदका लागि नेपाल ब्याडमिन्टन संघले खेलाडी छनोट गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छनौट प्रतियोगिताबाट १० पुरुष र १० महिला खेलाडी छनोट गरिएको संघका सचिव नवीन विक्रम शाहले जानकारी गराए ।

आठौँ राष्ट्रिय खेलकुदबाट पहिलो चरणमा छनोट भएका १७ पुरुष र १७ महिला खेलाडीहरुलाई बन्द शिविरमा राखी प्रशिक्षण दिँदै आएकोमा अन्तिम चरणका लागि १० पुरुष र १० महिला खेलाडी छनोट गरिएको शाहले जानकारी गराए ।

असोज १३ गते सोमबारबाट सुरु भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ रत्नजित तामाङ, दिपेश धामी, विकास श्रेष्ठ, प्रिन्स दाहाल, नविन श्रेष्ठ, प्रफुल महर्जन, सुनिल जोशी, बिष्णु कटुवाल, जीवन आचार्य र साजन कृष्ण ताम्राकार छनोट भएका छन् ।

यस्तै महिला तर्फ नङ्शल तामाङ, रशिला महर्जन, जेशिका गुरुङ, सिमा राजबंशी, पुजा श्रेष्ठ, अनुमाया राई, अमिता गिरी, सिता राई, निता लम्साल र शोभा गौचन रहेका छन् ।

खेलाडीहरुलाई साग प्रतियोगिताको तयारीका क्रममा बाँकी समय पोखरामा बन्द प्रशिक्षण दिईने छ । १३ औं सागमा ब्याडमिन्टनको प्रतिस्पर्धा पोखरा रङ्गशालास्थित बहुउद्घेशिय कभर्डहलमा हुने कार्यक्रम रहेको छ ।