महान् दशैँ चाड !





असत्यमाथि सत्यले विजय पाएको प्रसङ्गको प्रतीकका रूपमा समेत मानिँदै आएको नेपालीको महान् चाड दशैँअन्तर्गत नवरात्रि चलिरहेको छ । शरद ऋतुमा पर्ने यस चाडको मौलिकता र महत्व झल्काउँदै कवि शिरोमणि लेखनाथ पौड्यालद्वारा सिर्जित एक कविताको पङ्क्ति छ- ‘हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा, भवानीको पूजा भयो चल्यो आनन्दको चर्चा ।’ तर, कवि शिरोमणिका काव्य-हरफको विपरीत यस वर्षको दशैँ आगमनले कता-कता फरक अनुभूति गराउँदै छ ।

दशैँसँग जोडिएको धार्मिक-आध्यात्मिक पक्षको आफ्नै गहन पाटो छ । यसबाहेक वर्षभरिका तनाव, दुःख-पीडा, समस्या आदिलाई भुल्दै आनन्द मनाउने, परिवार, नाता-कुटुम्ब, आफन्तजनसँग भेटघाट गर्ने, मान्यजनहरूबाट टीका-आशीर्वाद लिने, जुटेर सामाजिक कार्यहरू गर्ने, समष्टिमा भन्नुपर्दा व्यथा-वेदना बिर्सिएर मनलाई सम्पूर्ण रूपले उमङ्गित तुल्याउनु यस चाडको मूल मर्म हो । यही मौलिक विशेषताले दशैँलाई ‘महान् चाड’ बनाएको महसुस गर्न सकिन्छ । तर, यसबेला दशैँलाई ‘दसा’ तुल्याउन विविध कारकतत्व परिदर्शित भएका छन् । दशैँ त आखिर दशैँ नै हो, ‘हुने खाने’ र ‘हुँदा खाने’ सबै तह-तप्काले ऋण-धन गरेर पनि खुसी, उल्लास-उमङ्गपूर्वक मनाउने चाड हो यो । तथापि, यस्तो खल्लोपनको अनुभूति किन गर्दै छ त सिङ्गै देश यतिबेला ? मूलतः यसमा देशको राजनीतिक अवस्था र यसले सिर्जना गरिरहेका यावत् घटना-परिघटना तथा विसङ्गति नै जोडिन पुगेका छन् ।

दशैँको सन्दर्भमा भन्नुपर्दा आमनेपालीमाथि पहिलो प्रहार गरेको छ भयावह रूपमा बढेको महँगीले । चाडबाडको बेला उपभोग्य सामग्रीमा मूल्य वृद्धि हुनु एक सामान्य परम्पराजस्तै बनिसकेको भए पनि विगतको तुलनामा यस वर्षको महँगी कहालीलाग्दो छ । पच्चीस, पचास या सय प्रतिशतसम्मको वृद्धिलाई सहज रूपले पचाइसकेका नेपालीजन कतिपय सामानमा गरिएको हजार प्रतिशतसम्मको मूल्यवृद्धिका कारण यतिबेला कहालिन पुगेका छन् । झेल्नै नसकिने गरी बजारभाउ आकासिँदा पनि जिम्मेवार सरकारी निकायले ‘निकम्मापन’ दर्शाउँदा जनता निराश मात्र नभई निसास्सिन पुगेका छन् । नियमित रूपले हुनुपर्ने बजार अनुगमन र कृत्रिम मूल्यवृद्धि नियन्त्रणमा सरकारी निकायले उदासीनता प्रकट गर्दै आएको कुरा कुनै नौलो विषय रहेन । देखावटीको निम्ति यस्तै समयविशेषमा अनुगमनको हौवा पिटाएर काम देखाउनु सम्बद्ध कर्मचारी वर्गको ‘चरित्र’ बन्दै आएको हो । तर, चाडबाडको मुखमा झारा टार्ने हिसाबले गरिने बजार अनुगमनको ‘नौटङ्की’ पनि यसपटक आमउपभोक्ताले खासै देख्न पाएनन् । आमजनताप्रति राज्यले दर्शाएको चरम उपेक्षाको एक मार्मिक उदाहरण हो यो ।

दशैँ मान्न देश-विदेशदेखि नेपाली आ-आफ्ना घर-आँगन पुग्छन् । यस्तो बेला यातायातको सर्वसुलभता, सुरक्षाको विश्वसनीय व्यवस्थाजस्ता विषय नागरिकले चिच्याएपछि मात्रै राज्यले गरिदिनुपर्ने विषय होइनन् । तर, यस मामलामा हरेक वर्ष जनताले हैरानी व्यहोर्दै आएका छन् । अकस्मात् आइपर्ने गाह्रो-साँघुरो अपवाद हो, तर राज्यको अक्षमता-अव्यवस्थाको कारण नियमित तवरमा जनताले सास्ती भोग्नुपर्ने अवस्था कायम रहनु दुर्भाग्यको उत्कर्ष नै हो ।

यस अलावा नागरिक तप्कामा यतिबेला राज्यआतङ्कको त्रास छाएको छ । राज्य-सञ्चालकहरूकै कारण नागरिक आपसमा कित्ताकाट हुँदै छन् । सत्तारुढ दलको पक्षधर र विरोधीको रूपमा यसप्रकारको वैमनस्यपूर्ण विभाजनको अनुभूति यसअघि सायदै गरिएको थियो । तमाम नेपालीको हितको व्यवस्था भन्दै ल्याइएको ‘लोकतान्त्रिक गणतन्त्र’मा विसङ्गति र भ्रष्टाचारविरुद्ध आवाज उठाउनुलाई नै अपराध मानेर मुख थुन्ने र असन्तुष्ट पक्षलाई भौतिक रूपले नै समाप्त पार्ने चेष्टासम्मका हर्कतहरू देख्न-व्यहोर्न पर्ला भन्ने अनुमानसम्म गरिएको थिएन । तर, नेपालीको दुर्भाग्यले यस्ता अभूतपूर्व सन्दर्भहरू घटिरहेका छन् । राज्य सञ्चालन तहमा रहेका शीर्षस्थ पात्रहरू भ्रष्टाचार, अनाचार, दूराचार, व्यभिचार आदि काण्डैकाण्डमा मुछिएका टुलुटुलु हेरी बस्न जनता अभिशप्त छन् । यस्तै विसङ्गतिको उत्कर्षबीच दशैँ मान्नुपरेको छ । र, ‘असत्यमाथि सत्यको विजय’को चाडकै हुर्मत हरण हुने गरी असत्यको दबदबा बढेको छ । दशैँको ‘अर्गानिक स्वाद’ बिग्रिएर बेस्वाद बन्ने खतरा यिनै कारणबाट सिर्जित हुन पुगेका हुन् ।

यस्तो दीनहीन परिवेशका बाबजुद दशैँ मनाउने स्वाभाविक आकाङ्क्षाबाट नेपाली विमुख भएका भने छैनन् । आ-आफ्नो गच्छेअनुसार दशैँको स्वागत गर्न भरमग्दुर यत्न-प्रयत्न गरिरहेछन् नेपालीजन । यही नै नेपालीको एउटा महान् गुण हो, दशैँको महान्म-हत्व पनि यसैमा छ । यस महान् चाडको अवसरमा सबैप्रति हाम्रो पनि शुभकामना !

प्रतिक्रिया