सिनियर्स टेनिसमा कमल र उत्तमको जोडी च्याम्पियन

सिनियर्स टेनिसमा कमल र उत्तमको जोडी च्याम्पियन


नेपालका कमलबहादुर भण्डारी र उत्तमकुमार शेर्पाको जोडीले नेपाल आईटीएफ सिनियर्स वल्र्ड ऱ्याङकिङ टेनिस च्याम्पियनसिपको सर्किट–२ अन्तर्गत ४० वर्षमाथि पुरुष डबल्समा स्वर्ण पदक जितेका छन् ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा कमल र उत्तमको जोडीले अस्ट्रेलियाका रोबर्ट म्याकगुइगान र भारतका कल्याणराम श्रीनिवासनको जोडीलाई ६–१, ०–६ र १०–२ को सेटमा पराजित गरे ।

पुरुष डबल्स ५५ वर्षमाथि भारतका कुलदीप सिंह र दिलिप सिंह नाङमाइथेमको जोडीले नेपालका उत्तमकुमार शेर्पा र मनोज राणाको जोडीलाई फाइनलमा ६–० र ७–५ को सोझो सेटमा हराउँदै पहिलो भए ।

पुरुष डबल्स ५० वर्षमाथि भारतका सञ्जय कुमार र शंकर कृष्णस्वामीको जोडी च्याम्पियन बने । सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले फाइनलमा नेपालका प्रताप मोक्तान र भारतका तुलेश्वरसिंह थोङबामको जोडीलाई ६–४, ५–७ र १०–७ को सेटमा पाखा लगाए ।

कमलले नेपालका सिमान्त गुरुङसंग मिलेर भारतका इन्द्रकुमार सिंह खानगेम्बाम र तुलेश्वरको जोडीलाई ६–१, ५–४ र १४–१२ को सेटमा फाइनलमा पन्छ्याउदै पुरुष डबल्स ३५ वर्षमाथिको उपाधि पनि हात पारे ।

यसअघि सिंगल्सको पुरुष ५५ वर्षमाथि नेपालका कमल थापा, ६० वर्षमाथि अमेरिकाका एजेस छत्वाल, ५० वर्षमाथि भारतका तुलेश्वर, ४५ वर्षमाथि डेनमार्कका निकोलाई रास्त्रुप, ४० वर्षमाथि भारतका दीपक मार्वाहा तथा ३५ वर्षमाथि नेपालका आत्माराम कार्कीले स्वर्ण जितेका थिए । पुरुष डबल्स ४५ वर्षमाथि भारतका योगेश कोहली र शंकर कृष्णस्वामीको जोडी च्याम्पियन बनेका थिए ।

विजेतालाई आयोजक नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले पुरस्कृत गरिन् । पाँचदिने प्रतियोगितामा नेपालसहित अस्ट्रेलिया, अमेरिका, डेनमार्क र भारतका ७६ खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिता निर्देशक एवं टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।