महराको राजनीतिमा पूर्णविराम

महराको राजनीतिमा पूर्णविराम


आफ्नो मन र शरीरलाई नियन्त्रणमा राख्न नसक्दा उच्च ओहदामा पुगेर पनि कति तुच्छ परिणाम भोग्नुपर्छ भन्ने उदाहरण प्रस्तुत गर्दै कृष्णबहादुर महरा राजनीतिबाट बिदा भएका छन् । सभामुखको ‘सम्माननीय’ पदमा रहेका बेला बलात्कारको आरोप लागेपछि नेकपाका दोस्रो पङ्क्तिका नेतासमेत रहेका उनले पदबाट राजीनामा दिनुपरेको छ ।

आफूमाथि लागेको आरोपमा छानबिन गर्न सजिलो होस् भनी नैतिकताको आधारमा राजीनामा गरेको उनको राजीनामामा उल्लेख छ । महरा सूचना तथा सञ्चार, अर्थ र परराष्ट्रमन्त्रीसमेत भइसकेका व्यक्ति हुन् । यही असोज १२ गते आइतबार राति एक महिलालाई बलात्कार गरेको भनी सोमबार साँझ समाचार प्रकाशित भएपछि धेरैलाई यो घटनाले स्तब्ध बनाएको थियो । देशको महत्वपूर्ण ओहदामा बसेका व्यक्तिबाटै यसप्रकारको कार्य हुन्छ भने अरूबाट के होला ? भन्ने सन्देश सर्वसाधारणले एक–अर्कालाई पठाएका थिए ।

बलात्कारको घटना सार्वजनिक भएपछि मंगलबार (असोज १४ गते) प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले महराको राजीनामा माग्ने निर्णय गरेपछि उनले पदबाट राजीनामा गरेका हुन् । बैठकले कृष्णबहादुर महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा गर्न लगाउने निर्णय गरेको थियो । महरा दाङबाट निर्वाचित सांसद हुन् । कतिले यो घटनालाई ‘माओवादीको पापको घडा भरिएको’ भनी टिप्पणी पनि गरेका छन् । नेकपा अध्यक्ष प्रचण्ड यो घटनाबाट दुःखी हुनुभएको बुझिएको छ । सचिवालयको बैठकमा उहाँले यस्तो घटनामा राजीनामा त गर्नैप¥यो नि भन्नुभएको थियो ।

प्राप्त जानकारीअनुसार घटना सार्वजनिक भएपछि प्रधानमन्त्री केपी ओलीले फोनमार्फत महरासँग घटनाबारे जानकारी लिनुभएको थियो । प्रधानमन्त्रीसँगको कुराकानीमा महराले आफू त्यहाँ नगएको र आफूलाई फसाउन षड्यन्त्र भएको भनी बताएका थिए । यद्यपि प्रधानमन्त्री ओलीले महरासँग कुरा गर्नुअघि नै सुरक्षा संयन्त्रमार्फत सम्पूर्ण जानकारी लिइसक्नुभएको थियो । यसैगरी नेकपाका नेता नारायणकाजी श्रेष्ठले महरालाई भेटेरै के भएको हो भनी जानकारी लिएको थाहा भएको छ । श्रेष्ठसँगको भेटमा पनि महराले आफूमाथि षड्यन्त्र भएको बताएका थिए ।

कृष्णबहादुर महरा र उनलाई बलात्कारको आरोप लगाउने ती महिला दुवैलाई चिन्नेहरूको सङ्ख्या नेकपा (माओवादी पङ्क्ति) भित्र ठूलो छ । दुवैजनालाई चिन्नेहरूका अनुसार संसद् सचिवालयमा कार्यरत जुन महिलाले बलात्कारको आरोप लगाइन् ती महिलासँग महराको निकै लामो समयदेखि ‘चिनजान’ थियो । विगतमा आफू मन्त्री हुँदा महराले उनलाई आफूसम्बद्ध मन्त्रालयहरूमा राख्ने गरेका थिए । ती महिलाका पतिसँग पनि महराको राम्रो सम्बन्ध रहँदै आएको थियो ।

घटना भएको दिन आफ्ना पति बाहिर गएको र आफूले कोठामा नआउनु भनी सभामुखलाई भनेको पीडितले बताएकी छिन् । दुईजनाले सँगै खानका लागि मदिरा र स्न्याक्ससमेत लिएर गएका महराले आफ्ना सुरक्षागार्डहरू बाहिरै राखेका थिए । बलात्कारको प्रयास गर्दा आफूले प्रतिकार गरेको र प्रतिकारको क्रममा घाउचोटहरूसमेत लागेको उनले बताएकी छिन् । महराले उनलाई यौन हिंसा मात्र नभई कुटपिटसमेत गरेको उनको भनाइ छ ।

घटनाबारे प्रहरीलाई जानकारी गराएकाले घटना विवरण प्रहरीसँग रहे पनि यो समाचार तयार गर्दासम्म पीडितले उजुरी भने दिएकी छैनन् । तथापि घटना सार्वजनिक भइसकेर पदबाट राजीनामासमेत दिइसकेको अवस्थामा कारबाही अगाडि बढ्ने विश्वास गरिएको छ । सभामुख महराकै कार्यकालमा गत वर्ष मात्रै अपराधसंहिता पास भएको छ जसले बलात्कारलाई फौजदारी अपराध मानेको छ । आरोप प्रमाणित भएमा कानुनअनुसार महरालाई ७ देखि १० वर्षसम्म जेल सजाय हुन सक्छ । नेपालको राजनीतिमा माथिल्लोस्तरका नेतालाई यसप्रकारको आरोप लागेको पहिलोपटक हो ।