भौतिकवाद+देहसुख=अपराध

भौतिकवाद+देहसुख=अपराध


■ देवप्रकाश त्रिपाठी

पूर्वीय दर्शनले आत्मिक आनन्दको प्राप्तिमा आफ्नो सम्पूर्ण सामथ्र्य लगाएको छ । पश्चिमी दर्शन देहसुखको वरिपरि घुमिरहेको छ भने पूर्वीय दर्शन जीवन र सृष्टिको सत्ता–रहस्यको भेउ पाउन निरन्तर यत्नशील छ । शिक्षा के हो, समाज के हो, अनुभव र ज्ञान के हो भन्नेलगायतका प्रश्नको जवाफ खोज्न पश्चिमले अग्रता लिएको छ, पूर्वले जीवनको अर्थ र सृष्टिको कार्य–कारणको खोजीमा आफूलाई पूरै समर्पित गरेको छ ।

व्यापक अर्थमा सुख भनेको सिङ्गो विश्वलाई आफ्नोअनुकूल बनाउनु हो । ‘सु’ भनेको अनुकूल र ‘ख’ भन्नाले आकाश अर्थात् सिङ्गै विश्व भएको व्यहोरा शास्त्रहरूमा अङ्कित छ । यस अर्थमा परिस्थिति आफूअनुकूल बनाउनु नै सुख हो भनेर बुझ्नुपर्ने हुन्छ । संसारका हरेक मानिस सुखको खोजीमा छन् र मान्छे मात्र नभई प्रत्येक प्राणीले सुख खोज्नु स्वाभाविक छ । तर, पश्चिमा तथा म्लेच्छहरूले आफूलाई देहसुखमा केन्द्रित गरे भने पूर्वीय दार्शनिकहरूले आत्मिक सुखलाई प्राथमिकतामा राखे ।

पश्चिमा दार्शनिकहरू देकार्त, फायरबाख, हिगल, कान्ट र कार्लमार्क्सदेखि बर्टेन्ड रसेलसम्मको आध्यात्मभन्दा भौतिकवादलाई नै आधार बनाएर आफ्ना विचार सम्प्रेषण गरेका हुन् । फ्रान्सेली दार्शनिक नित्सेले ईश्वर तत्वको अस्तित्व अस्वीकार गर्न ‘ईश्वर मरेको’ सार्वजनिक घोषणा गरेका थिए । उनले अनिश्वरवादी दर्शनको पक्षपोषणण गरिरहँदा भौतिकवाद प्रोत्साहित भएको महसुस गर्न सकिन्छ । इसाई धर्मगुरुहरूको राज्यसत्तामा नियन्त्रण र उनीहरूको ज्यादतीले युरोपेलीहरूमा धर्म र ईश्वरीयताप्रति वितृष्णा जगाएकोले पनि हुन सक्छ विद्वान् र सचेत मानिसमा भौतिकतातर्फ आकर्षण बढेको । जे होस्, पश्चिमाहरूले भौतिकता र भौतिकवादमा केन्द्रित रहेर ज्ञानको विकास र वितरण गरे ।

प्लेटोले कल्पना गरेको आदर्श राज्यमा कार्यकारी प्रमुख दार्शनिक गुणसम्पन्न हुनुपर्ने भनिएको छ । आध्यात्मिक भावनाविपरीतका मानिस दार्शनिक नै भए पनि ती बुद्धजस्ता नभएर माक्र्सजस्ता या नरेन्द्र मोदीजस्ता नभई किम जोङ उनजस्ता हुन सक्थे । प्लेटोले आध्यात्मिक चेतका नभनेर दार्शनिक गुणका भन्नुलाई आत्मिक शुद्धिसँग जोडेर बुझ्न सकिन्छ । प्लेटोबाहेक नाम चलेका सबैजसो पश्चिमा दार्शनिकहरू भौतिकवादको पृष्ठपोषक देखिएका छन् । पश्चिमाहरूले भौतिक विकासलाई उत्कर्षमा पुऱ्याउनुको कारण तिनले इतिहासमा भोग्नुपरेका कष्टपूर्ण उतारचढाव र द्वन्द्व मात्र नभई दैहिक सुखकेन्द्रित दार्शनिक चेतको विकासलाई पनि मान्न सकिन्छ । चिनियाँ भूमिमा पैदा भएका कन्फ्युसिएसलगायतका दार्शनिकले पनि आध्यात्मलाई नै जोड दिएका छन् । आर्य सभ्यताले पैदा गरेका सबैजसो (चार्वाकबाहेक) दर्शनले मानिसलाई आत्मिक आनन्दतर्फ प्रेरित गर्दछ ।

मार्क्सले प्रतिपादन गरेको द्वन्द्वात्मक भौतिकवादले पनि मानिसलाई दैहिक सुखमा केन्द्रित रहन प्रेरित गर्दछ । मार्क्सवादी दर्शनले मानिसको आत्मिक खुसी, सुख र आनन्दको परिकल्पना गरेको छैन । केवल भौतिक सुख प्राप्तिका निम्ति प्रेरित गर्ने भएकोले मार्क्सवादीहरू मिठो खाने, राम्रो पहिरन लगाउने, सुखका साधनहरूको उच्चतम भोग गर्ने र पदप्राप्तिका निम्ति जेसुकै गर्न तयार हुने प्रकृतिका हुन्छन् । भौतिकवादीहरूको दृष्टिमा धर्म, परम्परा र सामाजिक मूल्य-मान्यताभन्दा आफ्नो सुख महत्वपूर्ण हुन्छन् ।

अघिल्लो दिन आफैँले संविधान निर्माणको अगुवाइ गरेर केही घन्टापछिदेखि सोही संविधानविरुद्ध अभिव्यक्ति दिँदै आएका एक व्यक्ति नेपालको भौतिक विकास नहुनुमा धर्म दोषी रहेको बताउँदै हाम्रो धर्मविरुद्ध प्रस्तुत हुने गर्दछन् । उनले इसाई धर्म र इसाईधर्मीप्रति कृतज्ञता जाहेर गर्नका लागि मात्र सनातन धर्मविरुद्ध विष वमन गर्ने गरेका होइनन्, मानिसले प्राप्त गर्ने सुख केवल भौतिक अर्थात् दैहिक मात्र हुने विश्वास उनको हुनसक्छ । देहले खोज्ने सुखका सबै साधन प्राप्त भइसकेपछि पनि मान्छे सुखकै खोजीमा भड्किरहेका हुन्छन् र, त्यस्तो सुख आनन्दचाहिँ आध्यात्मिक चेतबाट मात्र प्राप्त गर्न सकिन्छ भन्ने तथ्यबोध यसखाले मानिसमा हुने गर्दैन । त्यसैले मान, पद, प्रतिष्ठा र धन नभएर पनि आध्यात्मिक मानिस जति सुखी र खुसी देखिन्छन् भौतिकवादीहरू धनमान सबै प्राप्त भएर पनि त्यति सुखी महसुस गर्दैनन्, गर्न सक्दैनन् ।

पूर्वीय दर्शनहरूमध्ये अति भौतिकवादी मानिएको चार्वाक पदार्थलाई नै सर्वस्व ठान्छ । चार्वाकको विचारमा न यहाँ कतै ईश्वर तत्व छ, न चेतना र चैतन्य छ, न पूर्वजन्म र पुनर्जन्म हुन्छ । प्राप्त एउटा जिन्दगी नै पहिलो र अन्तिम हुने भएकोले जसरी भए पनि मोजमस्तीका साथ बिताउनुपर्छ भन्ने मान्यता चार्वाक र सबै भौतिकवादी दर्शनले राखेको हुन्छ । माक्र्सले प्रतिपादन गरेको द्वन्द्वात्मक भौतिकवादले पनि मानिसलाई दैहिक सुखमा केन्द्रित रहन प्रेरित गर्दछ । मार्क्सवादी दर्शनले मानिसको आत्मिक खुसी, सुख र आनन्दको परिकल्पना गरेको छैन । केवल भौतिक सुख प्राप्तिका निम्ति प्रेरित गर्ने भएकोले मार्क्सवादीहरू मिठो खाने, राम्रो पहिरन लगाउने, सुखका साधनहरूको उच्चतम भोग गर्ने र पदप्राप्तिका निम्ति जेसुकै गर्न तयार हुने प्रकृतिका हुन्छन् । भौतिकवादीहरूको दृष्टिमा धर्म, परम्परा र सामाजिक मूल्य–मान्यताभन्दा आफ्नो सुख महत्वपूर्ण हुन्छन् । आफूलाई प्राप्त हुने सुखको तुलनामा अन्य सबै विषय गौण हुन्छन् तिनका लागि ।

मुलुकमा महराजस्तै द्वन्द्वात्मक भौतिकवादीहरूको दबदबा बढ्नु र भ्रष्टाचार तथा अपराधजन्य क्रियाकलापले सीमा नाघ्नुलाई संयोग मात्र मान्नुहुँदैन । जब कुनै पनि देशमा आध्यात्मिक एवम् धार्मिक चेतशून्यतालाई प्रोत्साहन गरिन्छ, तब भ्रष्टाचार र अपराधकर्म प्रोत्साहित हुने गर्दछ । भौतिकवादले धर्मनिरपेक्षता जन्माउँछ र धर्मनिरपेक्षताले देहसुखलाई केन्द्रबिन्दुमा राख्ने हुनाले अपराध र अपराधीकरण विस्तार गर्न मद्दत गर्छ ।

उमेरले सात दशक पुग्न लागेका कम्युनिस्ट नेता कृष्णबहादुर महराले देहसुखका लागि जे गरे त्यो उनको निम्ति पापकर्म किन थिएन भने त्यसबाट उनलाई देहसुख प्राप्त भइरहेको थियो । मुलुकमा महराजस्तै द्वन्द्वात्मक भौतिकवादीहरूको दबदबा बढ्नु र भ्रष्टाचार तथा अपराधजन्य क्रियाकलापले सीमा नाघ्नुलाई संयोग मात्र मान्नुहुँदैन । जब कुनै पनि देशमा आध्यात्मिक एवम् धार्मिक चेतशून्यतालाई प्रोत्साहन गरिन्छ, तब भ्रष्टाचार र अपराधकर्म प्रोत्साहित हुने गर्दछ । भौतिकवादले धर्मनिरपेक्षता जन्माउँछ र धर्मनिरपेक्षताले देहसुखलाई केन्द्रबिन्दुमा राख्ने हुनाले अपराध र अपराधीकरण विस्तार गर्न मद्दत गर्छ ।

यतिबेला नेपालको संविधानले धर्मनिरपेक्षतालाई अवलम्बन गरेको छ, धर्मनिरपेक्ष राज्यले आध्यात्मिक र धार्मिक मूल्य-मान्यताको रक्षा, विकास र संरक्षणमा भन्दा भौतिकतालाई प्रोत्साहन दिँदै आएको छ । त्यसैले देशमा भ्रष्टाचार, अपराध र सबै प्रकारका पापकर्म अधिक वृद्धि हुनुको एउटा प्रमुख कारण धर्मनिरपेक्ष राज्यलाई मान्न सकिन्छ । अध्यात्मवादीहरू आत्माको अर्थात् चेतनतत्वको चिरस्थायित्वमा विश्वास गर्छन् । चोला बदलिरहन्छ, जनमहरू भइरहन्छन्, तर आत्मा मर्दैन भन्ने विश्वासले मानिसलाई पापकर्म अर्थात् दुष्कर्मबाट टाढा रहन प्रेरित गर्दछ ।

देशमा द्वन्द्वात्मक भौतिकवादीहरूको बोलवालालाई नियन्त्रण गर्न सक्दा मात्र अपराध र भ्रष्टाचार निरुत्साहित हुने परिस्थिति बन्न सक्दछ । त्यसनिम्ति धर्मनिरपेक्षतालाई विस्थापित नगरीकन अति भौतिकवाद निरुत्साहित नहुने र हामीले वर्तमानमा भोगिरहेका राजनीतिजीवीहरू पराजित नभएसम्म अति भौतिकवाद कायम रहने भएकोले आमूल परिवर्तनका लागि देशभक्त, धर्म-संस्कृतिप्रेमी सबै राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्ने अपरिहार्यता बढेको छ ।