धर्म के हो, अध्यात्म के हो ?

धर्म के हो, अध्यात्म के हो ?


■ बबिता बस्नेत

आफ्ना एक चेलाले गाउँमा गएर ज्ञान फैलाउन अनुमति मागेपछि गौतम बुद्धले प्रश्न गर्नु भो– ‘राम्रा कुरा सबैले आत्मासात् गर्छन् भन्ने हुँदैन, ज्ञान फैलाइरहेको बेला तिमीलाई कसैले गाली गरे भने के गर्छौ ?’
उनले भने, ‘मलाई कसैले कुटेनन्, गाली मात्रै गरे भनेर उनीहरूलाई धन्यवाद दिन्छु ।’
‘अनि कुटे भने के गर्छौ ?’
यस प्रश्नमा उनले भने, ‘मार्न पनि सक्थे, तर मारेनन् भनेर धन्य हुन्छु ।’
‘मारे भने ?’
‘जिन्दगीमा के–के भोग्नुपर्थ्यो, कस्ता–कस्ता दुःखबाट गुज्रनुपर्ने हुनसक्थ्यो, ती सबबाट चाँडै मुक्ति पाएँ भनेर उनीहरूप्रति आभारी हुनेछु ।’

चेलाको जीवन–बुझाइको गहिराइ बुझेपछि गौतम बुद्धले उनलाई अब तिमी कुनै पनि ठाउँमा गएर ज्ञान फैलाउन स्वतन्त्र छौ भनी अनुमति दिनुभयो भनी गौतम बुद्धको जीवनमा आधारित पुस्तकमा उल्लेख गरिएको छ । ती चेला आध्यात्मिक चिन्तनमा यति भिजेका थिए कि जीवनप्रति उनलाई कुनै भ्रम थिएन । सहनशीलताका अनेकौँ सीमा पार गरेपछि मानिस आध्यात्मिक बन्छ । धर्मको सम्बन्ध न्यायसँग छ । मानिसहरू प्रायः धर्म र आध्यात्मलाई मिसमास गरेर बुझ्ने गर्छन् । धर्म र अध्यात्मबीचको सम्बन्ध सत्यसँग जोडिन्छ ।

सहनशीलताका अनेकौँ सीमा पार गरेपछि मानिस आध्यात्मिक बन्छ । धर्मको सम्बन्ध न्यायसँग छ । मानिसहरू प्रायः धर्म र आध्यात्मलाई मिसमास गरेर बुझ्ने गर्छन् । धर्म र अध्यात्मबीचको सम्बन्ध सत्यसँग जोडिन्छ ।

०७६ असोज ५ गते आइतबारको साँझ कवि उषा शेरचनको घरमा जमघटमा रहेका बेला महिलाको आर्थिक सशक्तीकरणका लागि जीवनका अनेकौँ शिशिर र वसन्तहरू पार गर्नुभएकी शान्ति चड्डाले भन्नुभो– ‘यो उमेरमा आएर आई एम सो कन्फ्युज्ड… धर्म के हो ? अध्यात्म के हो ?’ त्यसपछि यो विषयमा लामो कुराकानी भयो ।

महिलाको जमघटमा भएको कुराकानीमध्ये अहिलेसम्मको फरक साँझ थियो त्यो । उहाँको यो प्रश्नको जवाफमा सारिका चौधरीले भन्नुभो, ‘धर्म र अध्यात्म फरक कुरा हुन् । हामीले जे गरिरहेका छौँ, इमानदारीपूर्वक गर्नु धर्म हो । खसी काट्ने बगरेले शुद्ध खसीको मासु बेच्नु उसको धर्म हो ।’ विश्वकै धनीहरूको नाममा गणना भएका पति विनोद चौधरीको व्यापार–व्यवसायका सन्दर्भमा विश्वका अनेकौँ मुलुकको भ्रमण गर्नुभएकी, महिलाको आर्थिक अवस्थालाई माथि उठाउन लागिपरेका विभिन्न संस्थामा सम्बद्ध सारिकाको धर्मप्रतिको बुझाइ निकै गहिरो थियो । हुन पनि हामी जेलाई धर्म भनेर प्रचार गरिरहेका छौँ ती बाहिरी कुरा हुन् । धर्म मन्दिर धाउनु, चर्च जानु या मस्जिदमा प्रार्थना गर्नुमा सीमित छैन । को कहाँ जाने, कसरी प्रार्थना गर्ने ? भन्ने कुरा धर्मभन्दा बढी विश्वास हो । आफूलाई धार्मिक देखाउन कतिपय मानिसले अनेक प्रयास गरिरहेका हुन्छन्, तर धार्मिक हुनु भनेको देखाउने होइन आत्मासात् गर्ने कुरा हो ।

एकपटक न्युयोर्कबाट आउँदै गर्दा प्लेनमा हिन्दूधर्म झल्कने रातो कमिजसुरुवाल लगाएका, रुद्राक्ष भिरेका एक व्यक्तिले खाना दिँदै गरेकी एयर होस्टेजलाई यति ठूलो स्वरले गाली गरे कि सबैको ध्यान उनीतर्फ खिचियो । उनी घरि हिन्दीमा घरि नमिलेको अङ्ग्रेजीमा कुरा गर्दै थिए । बीचैमा उनले ‘अहिले अल्लाह..अकबर… गर्ने मान्छे भएको भए तिमीहरूको ध्यान जान्थ्यो, हिन्दू देखेर मलाई हेप्यौ’ भने । एयर होस्टेजचाहिँ ‘सरी सर, त्यस्तो होइन.. तपाईंले भनेको हामीले बुझेनौँ’ भनिरहेकी थिइन् । उनको हातमा नेपाली पासपोर्ट देखेपछि मैले नेपालीमा ‘तपाईं अनावश्यक बोलिरहनुभएको छ, प्लेनभित्र यो दुव्र्यवहार हो, तपाईंलाई अप्ठ्यारो पनि पर्न सक्छ, चुप लाग्नुस्’ भनेँ ।

‘धर्म र अध्यात्म फरक कुरा हुन् । हामीले जे गरिरहेका छौँ, इमानदारीपूर्वक गर्नु धर्म हो । खसी काट्ने बगरेले शुद्ध खसीको मासु बेच्नु उसको धर्म हो ।’

गुल्मी घर बताउने उनले आफ्नो नामका अगाडि पाँचवटा जति श्री भनेका थिए । धार्मिक कार्यको सिलसिलामा नेपाल–अमेरिका गरिरहन्छु भने । मलाई त्यतिबेला हिन्दूधर्मकै बेइज्जत भइरहेजस्तो लागेको थियो । सामान्य खानेकुराको निहुँमा उनले जोड्नै नपर्ने प्रसङ्ग जोडिरहेका थिए । धर्मको नाममा आफ्नो अनुकूलता व्याख्या गर्नेहरूको सङ्ख्या यो पृथ्वीमा धेरै छ । धार्मिक बन्नुको अर्थ निधारमा चन्दन लगाउनु होइन, व्यवहारमा न्यायिक बन्नु हो ।

ढुङ्गेयुगपछिका विभिन्न युगमा अहिले झैँ कानुन थिएन, धर्म नै कानुन मानिन्थ्यो । न्याय–अन्यायसँग जोडेर धर्मको व्याख्या गरिन्थ्यो । हिंसा अधर्म थियो, दया धर्म थियो । कसैलाई राम्रो गर्नु धर्म थियो, नराम्रो गर्नु, दुःखकष्ट दिनु पाप थियो । जे गर्दा पनि पाप–धर्मको ख्याल गर भन्ने गरिन्थ्यो । त्यसको अर्थ न्याय, अन्यायको ख्याल गर भनिएको हो । पूजा, चन्दन या आरतीको ख्याल गर भनिएको होइन । पूजा, आरती, टीका विश्वास हुन् । विश्वास लाग्नेले मन्दिर नगई आफू जहाँ छ त्यहीँबाट भगवानको प्रार्थना गरिरहेका हुन्छन् । शारीरिक उपस्थितिमा विश्वास गर्नेले मन्दिरमा घण्ट बजाइरहेका हुन्छन् । मन्दिर, घण्ट, पूजा, आरतीलगायतले एक प्रकारको सकारात्मक ऊर्जा प्रदान गरिरहेका हुन्छन् ।

धर्म संस्कृत शब्द हो, पाली भाषामा यसलाई धम्म भनिन्छ । कतिले ध्यान गर्ने हललाई धम्महल भन्ने गर्छन् । ध्यानको सम्बन्ध आध्यात्मसँग छ । विपश्यना केन्द्रहरूमा सामूहिक ध्यान गर्ने हललाई धम्महल भन्ने गरेको देखिन्छ । जेसुकै धर्मावलम्बी हुन्, उनीहरूले अध्ययन गर्ने धर्मशास्त्रहरूमा राम्रो काम गर भनेर नै उल्लेख गरिएको हुन्छ । धर्मका लागि दान गर, सत्य बोल भनिएको हुन्छ । खाली पेट ब्रत बस्नुसँग धर्मको खासै सम्बन्ध भेटिँदैन । बेलाबेलामा खालीपेट बस्नुको सम्बन्ध स्वास्थ्यसँग छ, धर्मसँग होइन ।

शास्त्र नमान्दा खासै फरक पर्दैन, पूजा नगर्दा पनि केही हुँदैन, तर धर्म नमान्दा मान्छे अधर्मी हुन्छ । अधर्मी हुनु भनेको अन्यायी हुनु हो, न्यायिक नहुनु हो ।

आध्यात्मको सम्बन्ध अनुभवसँग छ । कसैले भगवान् छ भन्छन्, कसैले छैन भन्छन्, जसले जे भने पनि आफूलाई अनुभव नभएको, आफूले नदेखेको कुरामा सदियौँदेखि बहस जारी छ । तर, आध्यात्म अनुभव गर्न सकिने कुरा हो । ध्यानका क्रममा या गरेपछि मानिसको दिमागले पाउने शान्ति संसारमा कुनै पनि मूल्य खर्च गरेर प्राप्त गर्न सकिँदैन । आफूभित्रको चेतन तत्वलाई जगाउनु आध्यात्म हो । जुन कुरामा धेरै मानिसलाई चासो नै छैन । गीतामा भित्री आत्मा चिन्नु आध्यात्म हो भनिएको छ । पूजापाठ गर्नु र चिन्तनमनन गर्नु फरक कुरा हो । आध्यात्म आफूले आफैँलाई चिन्ने प्रक्रिया हो । यसलाई स्वयमको अध्ययन पनि भन्न सकिन्छ । को आस्तिक, को नास्तिक भनी बहस गरे पनि वास्तविक धर्मको अर्थ आस्तिक या नास्तिक हुनुसँग पनि जोडिएको हुँदैन । शास्त्र नमान्दा खासै फरक पर्दैन, पूजा नगर्दा पनि केही हुँदैन, तर धर्म नमान्दा मान्छे अधर्मी हुन्छ । अधर्मी हुनु भनेको अन्यायी हुनु हो, न्यायिक नहुनु हो ।

मानिसको जीवनमा सधैँ दुईवटा कुरा अगाडि हुन्छ– सत्य, असत्य र हिंसा, अहिंसा । हामीले गर्ने काममा, हामीले हिँड्ने बाटोमा जहाँ पनि यी कुरा रोज्न मिल्ने गरी बसेका हुन्छन् । प्रेम र घृणा यिनै कुरासँग जोडिएर आउँछन् । सत्यले प्रेम सिकाउँछ, असत्यले हिंसाको बाटो डोऱ्याउँछ । के रोज्ने ? कता जाने ? के कुराको अनुभव गर्ने ? हिंसायुक्त जीवन बाँच्ने या शान्तिपूर्ण ? हाम्रै हातमा छ ।